काठमाडौँ — सप्तरीमा १४ वर्षीया दलित बालिकालाई गर्भवती बनाएपछि बेपत्ता पारिएको घटनामा प्रहरीले गम्भीरता नदेखाएको आरोप लगाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ।
आइतबार राजविराजमा प्रदर्शन गर्दै दलित अगुवाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा गत चैत्र १ गते सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा लामो समयदेखि बालश्रममा लगाइएकी १४ वर्षीया बालिकालाई गर्भवती बनाएपछि बेपत्ता पारिएको घटना उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा घटनाका मुख्य आरोपी महेश्वर यादव र उनका सहयोगी धर्मदेव यादव अझै पक्राउ नपरेको तथा पीडितलाई बयान बदल्न धम्की दिइरहेको उल्लेख गर्दै दोषीलाई उन्मुक्ति दिने खतरा बढेको दाबी गरिएको छ। साथै, बालिकालाई बेपत्ता पारेर बयान प्रभावित गर्न भइरहेको षड्यन्त्र रोक्न, फरार आरोपीहरूलाई पक्राउ गर्नलगायत १० बुँदे माग अघि सारिएको छ।
उक्त प्रकरणमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरकी असहाय दलित बालिका दुई सातादेखि बेपत्ता रहेको जनाइएको छ। सात महिनाकी गर्भवती रहेकी ती बालिकालाई स्थानीय महेश्वर यादवले बेपत्ता पारेको आरोप आफन्तहरूले लगाएका छन्। बालिकाका बाबुआमाको निधन भइसकेको र भाउजूले प्रहरीमा उजुरी दिएकी छन्।
आफन्तका अनुसार बालिका करिब १० वर्षदेखि महेश्वर यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। गर्भवती भएको तथ्य सार्वजनिक भएपछि फागुन ३० गतेयता उनी सम्पर्कविहीन बनाइएको आरोप छ।
घटनामा महेश्वर यादव, उनका करिब २१ वर्षीय छोरा कुन्दन यादव, वडा सदस्य बद्री यादव र स्थानीय धर्मदेव यादवसहित चारजनामाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।


























Leave a Reply