काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकप २०२६ को पहिलो ऐतिहासिक खेलमा क्रिकेटकै जननी राष्ट्र इंग्ल्यान्डसँग मात्र ४ रनले पराजित भयो । इंग्ल्यान्डले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। जवाफमा नेपालले ० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।
लगभग जितिसकेको खेल अन्तिम ओभरमा १० रन बनाउन नसक्दा नेपाल चुकचुकाउँदै हार्यो । दर्शकहरू निराश भए पनि उनीहरूको मनमा सन्तोष थियो, नेपालले एक अथाह सम्भावना भएको योद्धाजस्तै खेलेर हार्यो ।
आइतबार नेपाल र इङ्ल्यान्डबीचको खेलमा मुम्बईस्थित वाङ्खडे स्टेडियममा १६ हजार ३ सय ७६ दर्शकको उपस्थिति रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसमा अधिकांश नेपाली समर्थक थिए। उनीहरूले खेलभर नेपालको जर्सी लगाएर टोलीको समर्थन गरिरहेका थिए।
यो विश्वकप नेपालका खेलाडीका लागि मात्रै नभई नेपाली समर्थकका लागि पनि निकै खास छ। छिमेकी राष्ट्र भारतमा हुने नेपालको सम्पूर्ण समूह चरणको खेल प्रत्यक्ष हेर्न पनि नेपालीका लागि सहज छ। यसै कारण नेपालले खेल्ने खेलको टिकट सर्वाधिक माग हुने टिकटको दोस्रो स्थानमा रहेको छ। भारतपछि नेपालको टिकट सर्वाधिक बिक्री भएको आईसीसीले जनाएको छ।

कप्तान रोहितले व्यक्तिगत रूपमा ३९ रन बनाए, उपकप्तान दीपेन्द्रसिंह ऐेरीसँग मिलेर ८२ रनको साझेदारी गरे । तर, एक कप्तानको रूपमा उनले पिन्च हिटर गुल्सन झाभन्दा आरिफ शेखलाई ब्याटिङमा पहिला पठाएर र अन्तिम ओभरमा करणलाई बल थम्याएर एक हैन, दुई ब्लण्डर गरे । तिनै ब्लण्डरका कारण नेपाल इतिहास बनाउने मौकाबाट चुक्यो ।
अन्तिम ओभरमा धेरै रन दिने मामलामा बदनाम करणले आज पनि २१ रन दिए । अन्तिम ओभरमा १२-१५ रन अस्वभाविक मानिदैन तर विकेट लिने लोभमा स्वार्थी भएर उनले एकपछि अर्को छक्का थमाइदिए। टिमका स्टार बलरले बिना विकेट तीन ओभरमा ३५ रन दिएपछि म्याच जित्ने सम्भावना लगभग सकिन्छ नै, आइतबार पनि सकियो ।
नेपालले ब्याटिङको अन्तिम ओभरमा ५ रन बनायो जबकि बलिङतर्फ २१ रन दियो । यो नै आइतबार खेलको जीत र हार बीचको चुरो कारण बन्यो ।

म्याचका नायक थिए लोकेश वम। उनले २० बलमा अविजित ३९ रन बनाएर जुन बहादुरी देखाए, त्यसले नेपाललाई जीतको धेरै नजिक पुर्यायो । उनको जति नै प्रशंसा गरे पनि कमै हुन्छ । उनी म्याच जिताउन त चुके तर सारा नेपालीको मन जिते ।
नेपालका धेरै खेलाडीका नाममा राष्ट्रिय कीर्तिमान बने । दीपेन्द्रसिंह ऐेरी नेपालका लागि टी २० आईमा २ हजार रन पूरा गर्ने पहिलो खेलाडी बने । उनले आइतबारको म्याचमा पनि उपनाम टाइगर जस्तै खेले । मात्र २९ बलमा ४४ रन बनाएर टिमका लागि सबैभन्दा बढी रन मात्र जोडेनन्, २३ रन खर्चेर दुई महत्वपूर्ण विकेट पनि लिए ।
कप्तान रोहित पौडेलले पनि सबैभन्दा बढी नेपालको कप्तानी गर्ने कीर्तिमान बनाए । यस अघि यो कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा थियो ।
नेपालले अन्तिम बलसम्म इंग्ल्यान्ड जस्तो बलशाली टिमको प्रतिरोध गरेर एक बहादुर क्रिेकेट योद्धाको परिचय दियो । यति भन्नलाई कुनै आइतबार पर्खनु पर्दैन कि नेपालले म्याच जित्न नसके पनि सारा नेपालीको मन जित्यो ।


























Leave a Reply