काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ राजनीतिक बहसको केन्द्रमा परेको छ। प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावलाई विशेष चासोका साथ हेरिएको छ।
नेपाली कांग्रेसको नेतृत्व सम्हालिसकेका गगनकुमार थापा यस पटक सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएपछि सर्लाही ४बाट दिएको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
२०७० सालदेखि काठमाडौं–४ बाट लगातार चुनाव जित्दै आएका थापाले यस पटक निर्वाचन क्षेत्र परिवर्तन गरी मधेस प्रदेशको सर्लाही–४ रोज्नुले पनि राजनीतिक वृत्तमा चर्चा बढाएको छ। २०६४ सालको संविधानसभा निर्वाचनबाट समानुपातिक सभासद् बनेर संसदीय यात्रा थालेका थापाका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ।

पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनको निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिएको थियो। सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि थापाको नेतृत्व सुरक्षित बनेको छ।
कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको सन्दर्भमा यो निर्वाचन जित्नु उनको राजनीतिक यात्राका लागि अनिवार्य जस्तै बनेको छ।
गगनका मुख्य प्रतिस्पर्धी कांग्रेसकै पूर्वनेता डा.अमरेशकुमार सिंह हुन्। अघिल्लो पटक कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचित भएका उनी यो पटक रास्वपाबाट चुनावी मैदानमा छन्। त्यसैले गगनको मुखय चुनौती अमरेश हुन्।
यो क्षेत्रमा एमालेबाट अमनिश कुमार यादव र नेकपाबाट राजनीशराय यादव पनि उम्मेदवार छन्। यो क्षेत्रमा २६ स्वतन्त्रसहित कुल ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा डा. सिंहले २० हजार १७ मत ल्याएर जित हासिल गरेका थिए। त्यसबेला कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् । त्यस बेला कांग्रेशले सिंहलाई किटक नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए।
सर्लाही–४ अन्तर्गत बरहथवा नगरपालिकाका वडा नम्बर १, २, ३, ४, १३, १४ र १५, बसबरिया गाउँपालिकाका वडा नम्बर १, २ र ३, धनकौल, रामनगर गाउँपालिका, बलरा, गोडैता नगरपालिका तथा विष्णु गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ पर्दछन्।
प्रभावशाली उम्मेदवार, विगतको प्रतिस्पर्धी नतिजा र राष्ट्रिय राजनीतिक अर्थ जोडिएकाले सर्लाही–४ को चुनाव यस पटक निकै रोचक र निर्णायक बन्ने देखिएको छ।


























Leave a Reply