मनोनयनका क्रममा​​​​​​​ तडकभडक नगर्न निर्वाचन आयोगको आग्रह

दलित अनलाइन माघ ६, २०८२

काठमाडौँ — प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज एकै दिन मनोनयन दर्ता हुँदै छ । प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन् भने केही विवादित क्षेत्रका उम्मेदवार मंगलबार बिहानसम्म टुंग्याउने तयारी छ ।

तडकभडक नगर्न निर्वाचन आयोगको आग्रह

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयनका क्रममा तडकभडक नगर्न आग्रह गरेका छन् । तडकभडकलाई कानुनले पूर्ण रूपमा निषेध गरेको उल्लेख गर्दै उनले आचारसंहिता उल्लंघन गर्ने गतिविधि नगर्न चेतावनी दिएका हुन् ।

सोमबार पत्रकारसँग कुरा गर्दै भण्डारीले आचारसंहिता उल्लंघन गर्नेहरूमाथि आयोग कठोर रूपमा प्रस्तुत हुने बताए । ‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडक देखिन्छन् । यो कानुन र आचारसंहिताले पूर्ण रूपमा निषेध गरेको छ । उल्लंघन भए आयोगले कठोर निर्णय लिन्छ,’ उनले भने ।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने दाबी गर्दै उनले कुनै शंका–उपशंकाको आवश्यकता नरहेको पनि बताए । ‘निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुँदै छ । कुनै शंका, उपशंका गर्नुपर्दैन,’ भण्डारीले भने ।

यस्तो छ निर्वाचन कार्यतालिका
मनोनयन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।

मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिने अवधि बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिनको ३ बजेदेखि बिहीबार ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आयोगले निर्णय गरी साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

शुक्रबार नै दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । उम्मेदवारले चुनाव चिह्न पाएपछि पनि आचारसंहिताअनुसार प्रचारप्रसार प्रारम्भ गर्नका लागि करिब तीन साता पर्खनुपर्नेछ । ३ देखि १८ फागुनसम्म १५ दिन उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् ।

उम्मेदवारले सभा, जुलुस, सञ्चारमाध्यमबाट प्रचारप्रसार, चुनावी सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाउनेछन् । २१ फागुनको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank