‘माओका विचार आज पनि सान्दर्भिक छन्’

दलित अनलाइन पुस ११, २०८२

काठमाडौँ — विश्व कम्युनिस्ट आन्दोलनका महान नेता अध्यक्ष माओत्सेतुङको १३३औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले माओका विचार आजको विश्व परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।

जन्मजयन्तिको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रचण्डले साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण विश्वभर सामाजिक असमानता बढ्दै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप तीव्र भएको र जनजीवन संकटग्रस्त बन्दै गएको उल्लेख गरेका छन्।

Nic asia bank

यस्तो परिस्थितिमा माओले अघि सारेका विचार, संघर्षको मार्ग र सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण आज पनि मार्गदर्शक रहेको उनको भनाइ छ।

माओले देखाएको बाटो केवल ऐतिहासिक स्मरण मात्र नभई राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्गको मुक्ति, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण र जनताको स्वामित्वमा आधारित लोकतन्त्र स्थापनाको व्यावहारिक मार्गदर्शन भएको प्रचण्डले बताएका छन्।

शुभकामना सन्देशमा उनले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा भइसकेको उल्लेख गर्दै त्यसले क्रान्तिकारी शक्तिको वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताएका छन्। माक्स, लेनिन, माओ र नेपाली क्रान्तिकारी अनुभवको संश्लेषण गर्दै समाजवादी क्रान्तिको दिशामा दृढताका साथ अघि बढ्नु अहिलेको प्रमुख कार्यभार भएको उनको भनाइ छ।

दाहालले अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिविरुद्ध निर्मम वैचारिक तथा राजनीतिक सङ्घर्षबिना समाजवादी क्रान्ति सफल हुन नसक्ने उल्लेख गर्दै विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढतालाई माओ दिवसको सार्थक अर्थका रूपमा व्याख्या गरेका छन्।

माओ दिवसको अवसरमा उनले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपीलसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank