गृहले भन्यो: बारा घटना सामान्य बन्दैछ, संयमित रहनू

दलित अनलाइन मंसिर ३, २०८२

काठमाडौँ —  गृह मन्त्रालयले बुधबार बाराको सिमरामा भएको तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनको पहलमा अहिले स्थिति सामान्य बन्दै गएको जानकारी दिएको हो।

मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा सिमराको घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको उल्लेख छ।

विज्ञप्तिमा वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था कायम गर्दै तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको दोहोर्‍याइएको छ।निर्वाचन सफल बनाउन सबै पक्षको आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको मन्त्रालयले स्पष्ट पारेको छ। गृह मन्त्रालयले राजनीतिक दल तथा सरोकारवालाहरूलाई आफ्ना कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्न आग्रह गरेको छ।

कार्यक्रमहरू शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्रालयले भनेको छ, ‘शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता, समझदारी र संवाद आवश्यक छ।’

मन्त्रालयले मुठभेडको स्थिति अन्त्य गरी शान्तिपूर्ण वातावरण बनाउन सबै पक्षसँग अपिल समेत गरेको छ। बुधबार बाराको सिमरा विमानस्थल क्षेत्रमा एमाले नेताहरूको आवागमनलाई लिएर भएको अवरोध र झडपपछि स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank