काठमाडाैं — दलित समुदायबाट नेपाल प्रहरीमा पहिलोपटक विशिष्ट श्रेणीमा पुगेर डम्बरबहादुर विकले इतिहास बनाएका छन् । उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका हुन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले एआइजीमा बढुवा गरेको विकसहित चारजनालाई शुक्रबार दज्र्यानी चिह्न लगाएर नयाँ जिम्मेवारीमा खटाइएको छ ।
को हुन् विक ?
दाङको सानो गाउँमा जन्मिएका विकको बाल्यकाल चुनौतीपूर्ण रह्यो। आमाबुबा असमयमा गुमाएपछि परिवारको हेरचाह उनका दाजु–सुनार खड्गबहादुरले गरे। कठिन परिस्थितिका बाबजुद विकले पढाइ जारी राखे र काठमाडौं आएर प्रहरी सेवामा आफूलाई समर्पित गरे।
२०५३ साल पौष ५ गते राष्ट्रिय अनुसन्धान विभागमा अधिकृतको रूपमा सेवा सुरु गरेका विक केही वर्षमै नेपाल प्रहरीले निरीक्षक (इन्सपेक्टर)को दर्जामा समाहित भए। सुर्खेत, सिरहा, फर्पिङलगायत विभिन्न जिल्लामा काम गरेपछि उनले डिएसपी र एसपी हुँदै वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मको यात्रा तय गरे।
इन्सपेक्टर हुँदा उनले सुर्खेत, सिरहा, फर्पिङलगायतका विभिन्न ठाउँमा काम गरे । त्यसपछि डिएसपी बनेर धादिङ, प्यूठान र ओखलढुंगामा प्रहरी प्रमुखको नेतृत्व सम्हाले ।
एसएसपी हुँदा संगठनमा छवि बनाएका विकलाई २०८१ साल मंसिर ९ गते बढुवा समितिले नायब प्रहरी महानिरीक्षक (डिआइजी) मा सिफारिस गर्यो । दलित समुदायबाट पहिलो डिआइजी बनेका उनी फेरि एआइजीमा उक्लिँदै अर्को माइलस्टोनमा पुगेका छन् ।
यसअघि दलित समुदायबाट प्रहरी नेतृत्वमा डिआइजी स्तरमा पुग्ने अवसर कहिल्यै थिएन। नेपाल प्रहरीको नेतृत्व तहमा दलित समुदायको प्रतिनिधित्व निकै न्यून थियो ।

यसअघि गोविन्दराम परियारजस्ता अधिकारीहरू एसपीसम्म पुगेका थिए भने विकले डिआइजी हुँदै अब एआइजी बन्ने अवसर पाए । यसले दलित समुदायलाई मात्र होइन, समग्र संगठनभित्र समावेशी नेतृत्वको महत्त्वलाई पनि नयाँ धारणा दिएको छ ।
समाज र संगठनका लागि प्रेरणा
विकले मात्र आफ्नो यात्रा सफल बनाएका छैनन्, उनी दलित समुदायका लागि पनि प्रेरणाको स्रोत बनेका छन्। प्रहरी सेवामा समावेशीता र समान अवसरको महत्वलाई बल पुर्याउँदै, उनी संगठनभित्र सकारात्मक परिवर्तनको प्रतीक बनेका छन्।
विक हालका एआइजी सिद्दी विक्रम शाहका ब्याचमेट हुन्। उनीसँगै सुशील सिंह राठौर, उमा चतुर्वेदी र हिमालय कुमार श्रेष्ठलाई पनि एआइजी बढुवामा सिफारिस गरिएको छ।
डम्बर विकको यो यात्रा संघर्ष, समर्पण र नेतृत्वको मिसाल बनेको छ, जसले नेपालको प्रहरी संगठनमा समावेशी नेतृत्व र सामाजिक न्यायको सन्देश फैलाएको छ।


























Leave a Reply