माओवादी केन्द्र र दलाल बिचौलियाहरू सँगै रहन सक्दैनन्ः प्रचण्ड

दलित अनलाइन भदौ ८, २०८२

काठमाडौं — नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण उत्पादन संघर्षमा सिंगो पार्टी केन्द्रीत हुनुपर्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो। उत्पादन संघर्षमा सिंगो पार्टी केन्द्रीत नभइ समाजवाद सम्भव हुँदैन।’

प्रचण्डले पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेकाले जनतामा पार्टीप्रतिको भरोसा कमजोर बनेको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रकृयामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण तेस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ। अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ।’

उनले हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने बताए।

प्रचण्डले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको हुने बताउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए।

सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाविरूद्व सुशासन, सामाजिक न्याय र समृद्विको लडाई लडेको स्मरण गर्दै प्रचण्डले माओवादी केन्द्र र दलाल, नोकरशाही र बिचौलियाहरू सँगै रहन नसक्ने स्पष्ट पारे।

उनले भने, ‘दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन। त्यस्ता प्रवृति लामो समय माओवादी पार्टीमा रहिरहन सक्दैनन्। माओवादी केन्द्र नै नेपालको रुपान्तरणकारी समाजवाद निर्माण गर्ने एक मात्र सम्भावना बोकेको पार्टी हो।’

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकमा पार्टी उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ले विभाग र संयन्त्रको अवधारणा र केन्द्रीय सदस्य सरदसिंह भण्डारीले कार्यविधि प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank