नेपाल देशमा छोटो–छोटो समयमा धेरै परिवर्तनहरु भए । केही दशक अगाडिसम्म मनमा सोच्दा र कल्पना गर्दा समेत असम्भव जस्तो लाग्ने परिवर्तन भएर छाडे । देशमा गणतन्त्र आयो, एकात्मक राज्य प्रणालीबाट संघीय प्रणालीमा पुग्यो तर ‘लङ्का गए पनि शङ्का सँगै’ भने जस्तै नेपाली समाजमा जति समय र युगहरु बित्दै गए तापनि इतिहासको कुनै युगमा कुनै प्रयोजनका लागि कसैले सिर्जना गरिदिएको मान्छे–मान्छेबीचको भिन्नता सानो अझ सानो ठूलो बिचको अझ ठूलो भनी मानव समुदायलाई चिरा चिरा पारी विभाजन गरिएको तहगत एवं श्रेणीगत जात व्यवस्थाको संरचना रुपी चट्टान तोडिन सकिएको छैन । झन झन व्यवस्थित भएर जब्बर बनी बसेको छ । यहाँ विभेद, दमन र अत्याचारका स्वरुप मात्र फेरिएका छन् । सारमा त्यो चट्टानीरुप जेको त्यही छ ।
समय परिस्थिति र प्रविधिको विकासले गर्दा बीस को उन्नाइस भयो होला,घटोत्तरी भएकै छैन । अब त झन झन समाजमा चिनिएका राष्ट्रिय पहिचान बनाएका व्यक्तिले समेत हो म श्रेणीगत जात व्यवस्था मान्छु । यो जात भनेको यही हो । त्यो जात भनेको त्यही हो भनी कुर्लिनसम्म थालेका छन् । उनीहरु जंग बहादुरको मुलुकी ऐनले तोकेबमोजिम आ–आफ्नो श्रेणीको जात अनुसारको काम, कर्तव्य, अधिकारको प्रयोग गरी त्यही हैसियतमा बस्नु पर्छ भन्ने कुविचारले ग्रसित छन् ।
आजको यो एक्काइसौं शताब्दी मानव चेतना ज्ञान विज्ञानका उच्चतम् विकासको यो युगमा हामी यस श्रेणीगत जातीय संरचनालाई स्वीकार गर्दैनौं भन्नु नै दलित बनाइएको समुदायको प्रमुख ‘अपराध’ हो । यही ‘अपराध’ गरेका कारण नेपाली समाजमा कुरुरु र आङनै जिरिङ हुने हिंसाका घटना बढिरहेका छन् ,यो समुदाय माथि ।
यहाँ एक किसिमका गैर दलित समुदायले तिमीहरु त्यही बस्नु पर्छ भन्ने सोच र दलित बनाइएको समुदायले हैन हामी अन्यायमा परेर यहाँ बस्न चाहानौं । तिमीहरु गलत गरिराखेका छौं । अब त अति भयो हामी यहाँ बस्न सक्दैनौं र चाहान्नौं । हामीलाई पनि तिमी जस्तै स्वतन्त्र र सम्मानित मान्छे बनेर बाँच्नदेऊ हाम्रो पनि अस्तित्वलाई स्वीकार गर यो मुलकका हामी पनि रैथाने हौ यो देश बनाउनुमा हाम्रो रगत पसिना मात्र हैन मौलिक प्रविधि र कलाको पनि योगदान छ भन्दैछन् दवाएर दलेर दलित बनाइएको यो समुदाय, हो यही सचेतना र अस्वीकारको टकराव नै यो समुदायमाथि हुने जघन्य हिंसाको प्रमुख कारणहरु हुन् ।
यस्ता मानवता विरुद्धका हिंसाहरुको विरोध र पीडितको न्यायका पक्षमा सामाजिक सञ्जालमा, टोल छिमेक र चिया पसलमा बसेर गफ गर्नु ऐक्यवद्धता जनाउनु सामान्य कुरा हो तर सडकमा निस्केर आन्दोलनमा सहभागी हुनु, अझ यस्ता आन्दोलनको नेतृत्व गरी अगाडि बढ्नु, घटना स्थलमा पुगेर पीडितलाई सहारा दिनु राज्यका निकायहरुमा पुगेर न्याय र क्षतिपूर्तिका लागि ढोका ढकढक्याउनु आफैमा ठूलो कुरा नै हो । प्रशंसा योग्य काम हो । आफ्ना व्यक्तिगत कामहरुलाई चटक्कै छाडी यस्ता आन्दोलहरुको नेतृत्व गर्दै कसैको धाक धम्कीको प्रवाह नगरी कुनै लाभ लालच र प्रलोभनमा नफसी निरन्तर डटेर अगाडि बढिरहनु पक्कै पनि महान कार्य मान्नु पर्छ । भनिन्छ मान्छे परिस्थितिको दास बनिरहन्छ । परिस्थितिले नै उसलाई कहाँबाट कहाँ पु¥याउछ तर सफल त्यो व्यक्ति हुन्छ । त्यो माझी हुन्छ जसले आफ्नो गन्तव्यमा पुग्नका लागि निरन्तर लागि परिरहन्छ । डुङ्गा खियाइरहन्छ । तालमा चाहे जस्तो सुकै छाल, हावा हुरी नै किन नआओस । सामना गर्दै अगाडी बढ्छ । तव मात्र गन्तव्यमा पुग्छ अर्थात परिस्थितिको उतार चडावमा आफु चल्ने हैन परिस्थितिलाई आफ्नो कावुमा राखेर चल्न सक्नु ,अगाडि बढ्नु नै सफल व्यक्तिको गुण हो ।
यहाँ दलित समुदायमाथि हुने घटना केन्द्रित आन्दोलका अभियन्ता अथवा त्यस्ता आन्दोलनहरुका नेतृत्व गर्ने नेताहरुलाई हेर्दा उनिहरुको आन्दोलन प्रतिको समर्पण त्याग र तपस्यामा कुनै कमी देखिदैन । कमजोरी के भैरहको छन भने ? उसले आफ्नो व्यक्तिगत तथा पारिवारिक जिम्मेवारीलाई चटक्कै छाडेर एउटा अभियानको अभियन्ता बनेर निस्केको मान्छेले आफू र आफूले उठाएको अभियानको सफलता प्रतिको आत्मविश्वास हुन जरुरी हुन्छ । वास्तवमा सही नेतृत्व र अभियन्ताले आफूलाई दियोको ज्योति जस्तो बनाउन सक्नुपर्दछ जसरी पालामा बलेको ज्योति आफू जलेर सकिँदै जान्छ र उज्यालो छर्दै जान्छ नेतृत्व र अभियानता भनेको यस्तै ज्योति जस्तो हुनुपर्दछ नेपालमा जनता जनता भन्दै जनताको नाम जपेर राजनीति गर्ने र उसको मुख्य चाहना पैसा पद प्रतिष्ठा र शक्ति आर्जन गर्नका लागि मात्र हुने गरेको छ । दलित अभियन्ताहरूले आफू मात्र होइन आफ्ना सहयोगी र सहयात्रीहरूलाई पनि आत्मा विश्वासले भर्नुपर्दछ । यदि कदम कदाचित आफूलाई आफ्नो व्यक्तिगत र पारिवारिक जिम्मेवारीले खिच्यो भने पनि त्यसको अलग व्यवस्थापन गरी आफ्नो अभियानलाई निरन्तरता दिनु सफल अभियन्ताको खुबी हो । होइन भने आन्दोलनको नेतृत्व सहज तरिकाले हस्तान्तरण गर्ने उचित बन्दोवस्त मिलाउन सक्नुपर्दछ ।
अब कहिलेसम्म दलित समुदाय यो देशको मूलधारमा आउने कहिलेसम्म सत्ताधारी जातिकै सरहमा पुग्ने ? कहिलेसम्म छुवाछुत र जातीय विभेदलाई इतिहासका पानामा मात्रै सीमित बनाएर राख्ने ? कहिले यो समुदायले सम्मानित जीवन जिउने ? भन्ने प्रश्नको उत्तर खोज्न बाध्य पार्नुपर्दछ ।
वास्तवमा आजसम्म भइरहेको के छ त दलित अभियन्ताहरूको नियति ? अलिक समय अभियन्ता बनेर डटिरहने राजनीतिक पार्टीहरूका झुट्टा आश्वासन सपना र प्रयोगवादी नीतिबाट आजित भएका ‘जुन जोगी आए पनि कानै चिरेका’ जस्तो व्यवहार भोगेका दलित समुदायलाई यस्ता घटना केन्द्रित आन्दोलनका अगुवाहरू जो प्रत्यक्ष राजनीतिक पार्टीसँग जोडिएका देखिँदैनन् । उनीहरूमा आशाको किरण देख्छन् । मन खिचिएको हुन्छ र यसले त केही गर्न लाग्यो भनी भरोसा जाग्नु स्वभाविक पनि हो । यथार्थमा के देखियो भने दलित बनाइएका समुदायमाथि उसको जात कै कारणले हुने घटना नै अभियन्ताहरूका लागि भाग्यचिठ्ठा बन्न गयो । त्यस्ता घटना विशेषका विरुद्धको आन्दोलन र विरोधका कार्यक्रमहरूको नेतृत्व गर्दै हिँडेर एउटा पहिचान बनाउने प्रसिद्धि कमाउने मिडियामा देखिने राष्ट्र र परराष्ट्र घुम्ने पुरस्कारहरू थाप्ने त्यसपछि कि त त्यस्ता आन्दोलनहरुमाथि राजनीतिक पार्टीलाई घोडा चढाइरहने र त्यसको त्यस पार्टीको नेता होइन दलित भोट बैंकका लागि मार्केटिङ एजेन्ट बनेर बस्ने या त विदेश भासिएर अमेरिका क्यानडा र युरोपेली देशको नागरिक बनेर बस्ने यस्ता स्वतन्त्र अभियान र आन्दोलनलाई आफ्नो दुनो सोझ्याउनका लागि भ¥याङ मात्रा बनाउने यो नै चलेको ‘रित’ जस्तो बन्न गयो । त्यसैले अब भन्नुपर्दछ ‘खबरदार खगेन्द्र सुनारहरु’ हालसम्म तिमीले जे गरेका छौ ठिक गरेका छौ । तिम्रो अभियानमा दलित गैर दलित न्यायप्रेमी सर्वसाधारण सबैको समर्थन छ तिमी पनि आज भन्दा पहिलाका स्वतन्त्र दलित अभियान्ता दलित नेता जस्तो नबन । तिनै कान चिरेका राजनीतिक पार्टीमा आन्दोलनलाई लगेर बिटनमार तिमी ‘अभियन्ता खगेन्द्र सुनार’ नै बन । जसरी आत्मा विश्वासका साथ निडर भएर बोलेका छौं त्यसै गरि नै दायाँबायाँ नभई अटल भएर अभियानमै लाग ४५ दिन आफ्नै जिउमा फलामको जन्जिर लगाएर बस्दा तिमी एक्लै थियौं तर यस अभियानको समापनको दिन तिमीसँग दशौं हजारको साथ थियो । अब नथाक तिमीले लाखौंको साथ पाउनेछौ अब तिमीले कथम् कताचित् हुन सक्ने आफ्नो अनुपस्थितिमा पनि अभियानलाई अगाडि बढाउन सक्ने उत्तराधिकारी पनि तयार गर । ताकि आन्दोलनले विसाई नमारिकन निरन्तर अगाडि बढ्न सकोस् । खगेन्द्र तिमी खगेन्द्र नै बन अरु नबन ।
यहाँ जातीय विभेद विरोधी र समावेशीताकोको झुटो भाषण गरेर नथाक्ने राजनीतिक पार्टीहरू आफूभित्र चरम जातिवाद नश्लवाद जातीय विभेद र छुवाछुत व्याप्त छ । तिनका नेताहरूका घरघरमा छुवाछुत र जातीय विभेदको चरित्र यथावत छँदैछ ।
जसले अरु अभियान्ता एवं प्राग्य, वुद्धिजिवी व्यक्तिहरुबाट हुँदै गरेको “दलित गोलमेच सम्मेलन” द्वारा दलित समुदायको मुक्क्तिको लागि वैचारिकी तयार हुने एउटा आशा गरिएको छ । उनिहरुलाई नजर अन्दाज गरेर हैन कुनै न कुनै किसिमको सहकार्य गर्न आवश्यक छ । किन भने मात्रै विरोध गरेर समाधान निस्कदैन । अगाडि बढ्न बाटो पनि स्पष्ट हुनु पर्दछ । त्ससको लागि एउटा वैचारिकि तय हुनुपर्दछ । दलित मुक्तिको मार्गचित्र कोर्ने माहोलको सिर्जना गर्नुपर्दछ । संसद भवनभित्र एक्लै भए पनि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले झै विदेशी प्रभुहरूका पाउ मोल्ने नेताहरूलाई गालामा झापड हान्ने जस्तो स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भ्रष्ट नेताहरूका मुखमा कालो छ्यापे झैँ तिमीले नश्लवादी र प्रयोगवादी नेताहरूको चरित्र र बालीघरे राजनीतिको परिपार्टीलाई संसद भवनभित्रै पुगेर पर्दाफास गर्नुपर्दछ । दलित समुदायका मुद्दाप्रति असंवेदनशील कर्मचारी तन्त्रलाई संवेदनशील हुने बाध्य पार्नुपर्दछ । अब कहिलेसम्म दलित समुदाय यो देशको मूलधारमा आउने कहिलेसम्म सत्ताधारी जातिकै सरहमा पुग्ने ? कहिलेसम्म छुवाछुत र जातीय विभेदलाई इतिहासका पानामा मात्रै सीमित बनाएर राख्ने ? कहिले यो समुदायले सम्मानित जीवन जिउने ? भन्ने प्रश्नको उत्तर खोज्न बाध्य पार्नुपर्दछ ।
झलक विश्वकर्मा (कुमार)“राजनीतिक क्रान्तिको ओझेलमा दलित मुक्ति” पुस्तकका लेखक पनि हुन् ।


























Leave a Reply