
झापा— प्रधानमन्त्री केपी ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन्। भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित आज कार्यक्रममा सो पालिकाका २ जनालाई उनले जग्गाधनी पुर्जा वितरण गरेका हुन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा भएको बताए। उनले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको उल्लेख गरे।
उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने जानकारी दिए। प्रधानमन्त्री ओलीले भूमिको अधिकतम उपयोग गर्ने, विशेषगरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएको बताए।
देश विकासको गतिमा अग्रसर भएकाले निराश नहुन सम्पूर्ण नेपाली जनतामा आह्वान गर्दै मुलुकले गणतान्त्रिक शासन व्यवस्था अङ्गीकार गरेपछि शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा धेरै परिवर्तन भएको ओलीको भनाई थियो।
Leave a Reply