प्रधानमन्त्रीसँगै जेल बसेका बागलुङका टेकबहादुर नेपाली अस्ताए

दलित अनलाईन ९ बैशाख २०७७, मंगलवार १२:०५

बागलुङ – जिल्लाको निसीखोला गाउँपालिका भल्कोटका टेकबहादुर नेपालीको ७३ वर्षको उमेरमा निधन भएको छ । प्रधामन्त्री केपी शर्मा ओलीसंगै ५ वर्ष पोखराको सेन्ट्रल जेलमा बसेका नेपाली प्रधान्मन्त्री ओलीको कम्युनिष्ट विचारधारावाट प्रभावित थिए l  केपी ओलीको विचार तथा उनले सिकाएको कम्युनिज्मको पाठबाट गाउँमै समाजसेवा गर्दै आएका टेकबहादुर नेपालीकाे बिहीबार निधन भएको हो । उनको निधनले बागलुङका जेष्ठ कम्युनिष्ट अभिभावक गुमाएको नेकपाले दुःख व्यक्त गरेको छ ।

सँगै जेल जीवन बिताएका प्रधानमन्त्री ओलीसँग टेकविरको अन्तिम भेट तत्कालिन नेकपा एमाले बागलुङको २०७३ पुस ९ गते सम्पन्न आठौं अधिवेशनका बखत भएको थियो । सोही समयमा सुवास गौतम र भुपेन्द्र केसी (हाल जापान)ले कम्युनिष्ट आन्दोलन, अपेक्षा, उनका त्याग, समर्पण र संघर्षका उतार चढावबारेमा उनीसँग लामो कुराकानी गरेका थिए । उक्त कुराकानीको सम्पादित अंशः

हाल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री (तत्कालिन नेकपा एमालेका अध्यक्ष) केपी शर्मा ओलीले आफ्नो राजनीतिक यात्रा र संघर्षको कथा सुनाउदै गर्दा उनीसंगै जेल जिवन बिताएका बागलुङका टेकबीर नेपालीको नाम लिए । मञ्चको बाया भागबाट एक जना वृद्ध मञ्चमा आईपुगेर ओलीलाई नमस्कार गरे । तीनै थिए ओलीसँगै जेल जिवन विताएका टेकबीर नेपाली । उनलाई देखेर ओलीले संकेत गर्दै भने–उहाँ र म संगै जेल बसेका थियौ ।

टेकबिर नेपाली हत्या आरोपमा थिए भने केपी ओली राजद्रोहको आरोपमा जेल विताई रहेका थिए । केपी ओलीले नाम उच्चारण गरेपछि टेकबीर भक्कानिए–‘४० वर्ष भन्दा पहिला संगै जेल बसेको म जस्तो सामान्य अपराधको आरोप लागेको व्यक्तिलाई देशको अगुवाई गर्ने राजनेताले सम्झनु मेरो लागि ठुलो कुरा हो,’ उनले भावुकतामै भने । बागलुङको साविक निसी गाविस वडा नम्बर ६ धर्मशालामा जन्मिएका नेपाली हत्याको अभियोगमा १६ वर्ष ७ महिना जेल जिवन बिताएका थिए ।

कसरी परेका थिए टेकबीर जेल ?
७० बर्षीय नेपालीले आफ्नो सोझोपनका कारण जीवनभर समस्या नै समस्या झेल्नु परेको बताउँछन् । शुरुमा उनी साहुकोमा वर्षको १ सय रुपैयाँ ज्यालमा उडुको बाडा बनाउने काम गर्थे । दिनभरी गोरुको उडुको बाडा बनाउने कामले दैनिक गुजारा चल्न सकेन । त्यसपछी उनले भारी बोक्ने काम सुरु गरे । तत्कालिन गाँउ पञ्चायतका पञ्चप्रधान जगते छन्त्यालले प्यारा ग्ुरुङको हत्या आरोप टेकबीर माथि लगाइ दिए । उजुरीमा निधारको दायाँ, बायाँ तिन इन्चको घाउ, निधारमा तीन इन्चको घाउ, पिठ्युमा १२ इन्चको घाउ र साङ्लोले बाधेर मारेको भन्ने उल्लेख थियो । टेकबीरलाई २० दिन सम्म जगते छन्त्यालको घरमा बाधेर राखियो । टेकबीरका बुबा नरविरलाई रातको ३ घण्टा दिन दिनै कुट्ने काम भयो । मारेको २० दिन पछी जिल्ला प्रहरी कार्यलय बागलुङबाट असईको नेतृत्वमा पाँच जना टोली घटनास्थलमा पुगे । घट्नास्थलमा पुगेपछी प्रहरीमा अनुसन्धान गर्न सुरु गरियो । आगनको काम्लोमा बाधेर राखिएको प्यारा गुरुङको लास खोलेर हेर्दा शरीरमा घाउ पनि भेटिएन । झुटो उजुरी हाली सोझा साझा दलितहरुलाई दुःख दिन खोज्ने कोहो भनी सोध्दा ? जगतेले मैले हो भन्दै असईलाई हातमा समातेर करसामा लगियो । प्रहरीको हातमा ६ हजार रुपैयाँ पैसा दिदै छन्त्यालले पहिले गरेको उजुरी अनुसार केश अगाडी बढाउन आग्रह गरे ।

अदालतमा बयान दिदै गर्दा बुबाको ज्यान गयो

टेकबीर भन्छन्–बाबु नरबिर नेपालीको अदालतमा बयान दिदै गर्दा ज्यान गयो । छन्त्यालले २० दिनसम्म रातमा बन्धक बनाई कुटपिट गरेको हो । जिल्ला अदालतमा न्यायाधिशले निज नरविर नेपालीलाई प्यारा गुरुङलाई कुटपिट गरी मुसाको बिष खुवाई मारेको भनी बयान दिन आग्रह गर्दा नरविरले मैले बयान दिन सकिन श्रीमान् भन्दै एक्कासी ढलेर मृत्यु भएको टेकविर बताउँछन् ।

टेकबीरलाई जेल चलान गरियो

टेकबीर नेपाली र उनका काका अमरसिह नेपालीलाई आजीवन जन्मकैदको फैसला सुनाउदै जेल चलान गरियो । बागलुङको रातामाटाका टंके गौतम जेलबाट भागेको र जेलमा कैदीहरु धेरै भएकाले बागलुङको कारागारबाट राजद्रोहको आरोप लागेका तत्कालिन कम्युनिष्ट नेता चित्रबहादुर केसी र टेकबीर नेपाली सहित २० जना कैदीहरुलाई पोखरा मालेपाटनमा रहेको सेन्ट्रल जेलमा चलान गरियो ।

कसरी भयो केपी ओलीसँग भेट ?
अनेरास्ववियु पाँचौका विद्यार्थी नेता केपी शर्मा ओली र मोदनाथ पश्रित लगायत ५०० जनालाई झापा काण्डका कारण राजद्रोह मुद्दा लगाईएको थियो । उनीहरुलाई एकै ठाँउमा राखे पछि जेलका कर्मचारी तथा प्रहरीलाई पिटेर भाग्छन् भनी सवै जनालाई बाँडेर देशका विभिन्न जेलहरुमा लाने गरिन्थ्यो । त्यही क्रममा वि.स.२०३२ सालमा काठमाडौको सेन्टर जेलबाट पोखराको सेन्टर जेलमा मोदनाथ परिश्रत र केपी शर्मा ओली सहित २५ जनालाई जेल चलान गरियो । त्यही जेलमा रहेका टेकबीर नेपाली सँग भेट हुन पुगेको थियो ।

केपी ओलीले जेलभित्र कैदीलाई पढाउँथे

केपी ओली सँग पाँच वर्ष जेल जिवन बिताएका टेकबीर नेपाली भन्छन्–‘केपी ओली सरले जेलभित्रै हामीहरुलाई पढाउनु हुन्थ्यो । वेद, गायत्री मन्त्र, राजनीति लगायतका विषयहरुमा केपी ओलीले जेल भित्रै पढाउनु हुन्थ्यो । दलितहरुलाई गायत्री मन्त्र र वेद सिकायो भने कानमा तातो तेल खनाउनु पर्छ भन्ने सामजिक कुरिती व्याप्त थियो । तर, केपी ओली ज्यूले जेलमै हामीलाई गायत्री मन्त्र र वेदहरु सिकाउनु हुन्थ्यो । केपी सर र मोदनाथ पश्रित सरले संसारमा दुई मात्र जात छन् । ती जात हुन् महिला र पुरुष । त्यसैले दलित भन्ने जात होइन भन्दै हामी सँगै खाने, बस्ने, पढाउने गर्नुहुन्थ्यो । केपी सरले कविताको लय हालेर हामीलाई पढाउनु हुन्थ्यो ।

केपी ओलीको अहिले भन्दा पहिले झन चट्टानी अडान थियो

जेलका क्रर्मचारीले ओलीलाई भने–‘बाहुनको छोरो एकदिन जेल परियो भन्दैमा ज्यानमारा दलितसँग बसेर आफ्नो जातको इज्जत नफाल । म छुट्टै कोठामा विस्तारा लगाई दिन्छु भन्थे तर ओलीले कर्मचारीलाई हर्कादै भने धेरै हल्ला नगर, तिम्रो जागिर खाईदिउला फेरी । के दलित, के बाहुन, के क्षेत्री, के मगर संसारमा दुई ओटा मात्र जात छन । ती जात महिला र पुरुष हुन् भनेर भन्थे ।’

यस्तै, आर्काे दिनको कुरा हो । केपी सरले जेलका कर्मचारीलाई हामीलाई दैनिक ५० पैसा भत्ता र ७०० ग्रामको गौरीया चामल चाहिन्छ भनेर कराउनृुभयो । त्यसलाई ‘ख’ मेलको खाना भनिन्थ्यो । त्यस्तै हामीलाई ‘क’ मेलको खाना खुवाइन्थ्यो । ‘क’ मेलको खानामा ३ सुका पैसा र ३०० ग्राम चामल दिइन्थ्यो । ‘ख’ मेलको खाना चाहिन्छ भन्दै ७०० जनाले अञ्चलाधिशको कार्यालय घेराउ गरियो ।
कहिले काही हामीहरु चिलिममा गाजा राखेर खाइन्थ्यो । गाजा खाएर डेकमा क्यासेट राखेर सिन्दुर फिलिमको वनमा फूल्यो फुलै फुल मनमा चल्यो बासना भन्ने गीतमा नाचिन्थ्यो ।

त्यो दिन मलाई विश्वास थिएन यसरी केपी ओली प्रधानमन्त्री होलान भनेर
धेरै बोल्ने लिखुरे, पातलो र कडा स्वभावका ओली जेल भित्र हाईजम र कसरत गर्दर्थे । घुमे्रको दारी पालेका र पातलो जिस्मका ओली देश चलाउने प्रधानमन्त्री होलान् भन्ने त कल्पना पनि गरेको थिएन । वि.सं. २०३२ देखि वि.स. २०३७ सालमा सम्म ५ वर्ष सँगै जेल जिवन बिताईयो । वि.स. २०४४ सालमा राजा विरेन्द्रको जन्म अवसरमा मलाई जेल मुक्त गरियो । अहिले केपी सरलाई वि.स. २०३७ सालपछी करिव ३६ वर्ष पछि बागलुङमा भेट्न पाउदा खुशीको सिमा नै नरहेको उनले अनुभव सुनाएका थिए । ओलीको उच्च पदमा पुगेकाले त्यस्तो व्यक्तिले म जस्तो अपराधमा जेल बिताएको सामान्य दलित परिवारको गरिव मान्छेलाई बिर्सनु भए होला भन्ने लागे पनि उहाँले आम जनसमुदायका बीचमा मेरो नाम लिदा, अपराधकै आरोपमा भए पनि युगपुरुषसंग संगत गर्ने मौका मिलेछ भनेर आफुलाई धन्य ठानेको प्रतिक्रिया उनको थियो ।

पहिलो घरबार विग्रियो, दोस्रो घरबार ?
करिव १७ वर्ष जेल बिताउदा म घरमा आउछु भन्ने कुनै विश्वास थिएन । मैले पहिले दिलभुजा सँग विवाह गरे । मेरो एउटा छोरा थियो । म जेल परेपछी मेरो छोरा पनि म¥यो, मेरी श्रीमतीले पनि अर्कोसंग विवाह गरिछन् । करिव १७ वर्ष पछि घरमा फर्केर चन्द्रकलासंग दोस्रो विवाह गरे । अहिले उनका तीन भाई छोरा र तिन बहीनी छोरी छन् ।
र अन्त्यमा
काम गरेर कमाउने समयमा जेल बसियो, स्थायी आम्दानी भएन । पछिल्लो जीवन चलाउन गाह्रो भएको उनको गुनासो थियो । अव काठमाडौ गएर केपी सर सँग भेटेर मलाई केही सहयोग गर्नु हुन्छ की ? भन्ने सोच मनमा आइरहेको उनी बताउँथे । तर, उनी काठमाण्डौ जान नपाएरै नसकेरै उनको देहान्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank