अब असार १८ मा संवैधानिक नियुक्तिसम्बन्धी विवादको फैसला

दलित अनलाइन जेष्ठ २८, २०८२

काठमाडौँ — संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला अब असार १८ मा आउने भएको छ ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति २० दिन सरेको हो ।

उक्त मुद्दामा गत जेठ १ गते सुनुवाइ सकिएपछि बुधबारका लागि निर्णय सुनाउने मिति तोकिएको थियो । सोही बमोजिम बुधबार प्रधानन्यायाधीश राउतसहितको संवैधानिक इजलास तोकिएसँगै अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर दिनभर सम्बन्धित न्यायाधीशहरूबिच छलफल चलेको थियो ।

Shivam Cement

तर, ६ घण्टा छलफलपछि आज फैसला नहुने निर्णय भएको प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए । न्यायाधीशहरूबिच राय बाझिएकाले आज फैसला नआएको हुनसक्ने कानुनविद्हरूको भनाइ छ ।

के हो विवाद ?
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो । तर ती नियुक्तिहरू ‘गैरकानुनी’ रहेको दाबी गर्दै चार वर्षअघि सर्वोच्च अदालतमा १५ वटा रिट निवेदन दर्ता गरिएका थिए ।  २०७७ वैशाख ८ मा सरकारले ‘संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६’ संशोधन गर्न अध्यादेश जारी गऱ्यो।
अध्यादेशले परिषद्को अध्यक्ष (प्रधानमन्त्री) सहित तत्कालीन बहाल सदस्यको बहुमत उपस्थित भएमा गणपूरक सङ्ख्या पुगेको मानिने र सोही बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था ल्याएको थियो। प्रधानमन्त्री ओलीले आफैँलाई शक्तिशाली बनाउन यस्तो व्यवस्था ल्याएको आरोप लाग्यो।
तर अध्यादेशको व्यापक विरोध भएपछि चार दिनमै अर्थात् वैशाख १२ गते अर्को अध्यादेशमार्फत उक्त व्यवस्था खारेज गरियो। त्यसपछि असार १५ मा सङ्घीय संसद्ले अध्यादेशको स्थानमा पुरानै व्यवस्था कायम गऱ्यो।

यसैगरी २०७७ मङ्सिर ३० मा सरकारले पुनः अध्यादेश ल्यायो र फेरि बहुमत सदस्यको उपस्थिति र निर्णय पर्याप्त हुने व्यवस्था गरियो । सोही दिन परिषद्को बैठक बसे पनि तत्कालीन राष्ट्रियसभा अध्यक्षले सिफारिस नभएको जानकारी दिए। तर पनि सो अध्यादेश तथा त्यसबमोजिम नियुक्ति सिफारिस सम्बन्धी निर्णय गरिएको भए बदर गर्न माग गर्दै भोलिपल्टै सर्वोच्च अदालतमा रिट समेत परेको थियो ।

यस्तै अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मङ्सिर ३० को बैठकले संवैधानिक निकायका लागि ३८ जनाको नाम सिफारिस गऱ्यो र पुस ५ मा संसद् सचिवालयलाई पत्राचार गरियो। सोही दिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पहिलो पटक विघटन गरे।

सोहीबिच २०७७ पुस १७ देखि पुस २६ गतेसम्म राष्ट्रियसभाको अधिवेशन चालु रहेको थियो । राष्ट्रियसभामा अध्यादेश पेस गरियो । तर सभाले अध्यादेश स्वीकार गरेन । त्यसपछि माघ २१ मा ३८ मध्ये ३२ जनालाई नियुक्त गरियो। तर फागुन ११ मा सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापित गरिदियो र फागुन २३ देखि जेठ ६ सम्मको अधिवेशनमा अध्यादेश पेस भएपनि पुनः अस्वीकृत भयो।

यसैबीच २०७८ वैशाख २१ मा सरकारले पुनः अध्यादेश ल्यायो र मङ्सिर ३० को अध्यादेश खारेज गऱ्यो तर त्यही व्यवस्था दोहोर्‍यायो। वैशाख २६ मा परिषद्ले २० जनाको नाम सिफारिस गर्‍यो र जेठ ८ मा दोस्रो पटक संसद् विघटन भयो।

त्यसबेला पनि जेठ ३० गते अध्यादेश सिफारिस बदर गर्न माग गर्दै पुन: सर्वोच्च अदालतमा रिटहरू परे । तर सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा असार १० गते संसदीय सुनुवाइबिना नै थप २० जना संवैधानिक पदाधिकारी नियुक्त गरिएको थियो । असार २८ गते पुनः सर्वोच्चद्वारा संसद् पुनर्स्थापनाको फैसला भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन परमादेश जारी भयो । देउवा नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते राष्ट्रपतिबाट अध्यादेश खारेज भएको थियो ।

अहिले कतिपय पदाधिकारीको कार्यकाल सकिन लाग्दा, केहीको डेढ दुई वर्ष बाँकी रहँदा सर्वोच्चले सुनाउन लागेको फैसलालाई महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank