काठमाडौँ — प्रमुख तीन दलका शीर्ष नेताबिच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ ।
सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।

तीन दलका शीर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति भएको प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले जानकारी दिए।
खरेलका अनुसार आयाेग गठनका लागि सर्च कमिटी बनाउने प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका हुन् ।
‘आयोगको अध्यक्ष तथा सदस्य सिफारिस गर्न सर्च कमिटी गठन प्रक्रिया सरकारले अघि बढाउँछ’, सल्लाहकार खरेलले भने, ‘प्रक्रिया अघि बढ्छ ।’ सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन प्रक्रिया सुरु हुने भएको छ ।
छलफलमा प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, माओवादी केन्द्रका नेता तथा कानूनविद् खिमलाल देवकोटा, गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत पनि थिए।


























Leave a Reply