काठमाडौं– ‘चौतारीको बर’बाट दर्शकमाझ परिचित भएका गायक विक्रम परियारलाई हामीले सोधेका थियाैं- तपाईंका संघर्ष लेखौं कि भनेर भेट्न आएको ।
उनले यसको जवाफ भावुक हुँदै दिएका थिए, ‘सर, मैले जिन्दगीमा यति धेरै दु:ख र अभाव भोगेको छु कि जुन सुनाउँदा पनि मेरा आँखामा आँसु थामिँदैनन् ।’
अनि सोचेँ- संघर्षका दिनबारे पछि कुरा गरौंला ।
*****
स्याङ्जा गल्याङ नगरपालिका देवीस्थान-७ मा विक्रम मध्यम परिवारमा जन्मिए । स्याङ्जा लोकगीतको उर्वर भूमि । स्याङ्जाले धेरै राम्रा लोकगायक/गायिकाहरू जन्माएको छ । त्यसैको प्रभाव विक्रममा पनि पर्यो । रेडियो तथा क्यासेटका चक्का किनेर उनले आफूलाई मनपर्ने कुलेन्द्र विश्वकर्मा, राजु परियार, शर्मिला गुरुङलगायतका गीतहरू खोजीखोजी सुन्न थाले । त्यसपछि लोकगीतप्रति उनको चासो ह्वात्तै बढ्न थाल्यो ।
स्कूल कलेजमा पनि गीत गाउन थाले । भन्छन्, ‘शिक्षक तथा कक्षाका साथीहरूले राम्रो गाउँछौ भनेर एप्रिसियसन गर्न थालेपछि मलाई पनि प्रोफेसनल भएरै अब सांगीतिक बजारमा छिर्नुपर्छ भन्ने लाग्यो ।’
कक्षामा गाउँदा शिक्षक र साथीहरूले राम्रो छ भन्थे । उनी खुशी हुन्थे, दंग पर्थे । तर आफ्नो स्वर धेरैमाझ चिनाउनु थियो उनलाई । यसैबीच उनले चिनिन सकिने बाटो पाए- इमेज लोक कलाकार ।
गायन रियालिटी शो आफूलाई चिनाउने उत्कृष्ट माध्यम लागेको हो ? उनले जवाफ दिए, ‘ मेरो अनुहार र स्वरलाई चिनाउन एउटा राम्रो पक्ष भनेको रियालिटी शो नै हो भन्ने लाग्यो । एल्बम निकालेर बजारमा चिनिनका लागि त्यतिधेरै पैसा पनि थिएन ।’
इमेज लोक कलाकार नामक गायन रियालिटी शोमा उनी शीर्ष १२ सम्म अटाए । गाउँका पाखामा गाउने, स्कूल तथा कलेजका कक्षाहरूमा गाउने विक्रम टेलिभिजनका स्क्रीनमा देखिए । उनलाई चिन्नेको संख्या दैनानुदिन बढ्दै गयो ।
उनले इमेज लोक कलाकारमा गाएको एउटा गीतलाई धेरैले मन पराए ।
विगतका दिन कोट्याउँछन् उनी- ‘सुनकोशी पूर्व पर्यो कि’ भन्ने गीत रियालिटी शोमा गाएको थिएँ । उक्त गीतलाई त्यतिबेला धेरैले रुचाएका थिए । सामाजिक सञ्जालहरूमा १२ हजार भन्दा बढी शेयर भएका थिए ।
त्यसपछि उनलाई लोक दोहोरी क्षेत्रमा राम्रो स्वर भएको कलाकार आयो है भनेर सोही क्षेत्रमा कलाकार तथा आमदर्शकले नोटिस गर्न थाले ।
अझै पनि उनी इमेज लोक कलाकारमा आफूले गरेको यात्रालाई ‘टर्निङ प्वोइन्ट’को रूपमा लिन्छन् ।
‘यूट्युबका कारणले विदेशमा हुनेहरूले मेरो गलालाई मन पराएको पाएँ । यो नै मेरो जीवनको टर्निङ प्वोइन्ट बन्न पुग्यो,’ यात्रा सुनाउँछन् उनी, ‘म गीतसंगीतमा लाग्नका लागि इमेज लोक कलाकारले ठूलो महत्त्व राख्छ । यसलाई मैले सबैभन्दा ठूलो खुड्किलोको रूपमा लिन्छु ।’
*****
विक्रमको काठमाडौं आउनुको मुख्य उद्देश्य थियो- मास्टर्स पढ्ने । उनले गल्याङमा मेजर इंलिसमा ब्याचलर सकेका थिए । तर उनको मन अध्ययनमा मात्रै सीमित रहेन । गीतसंगीतको हुरीले उनलाई उडायो ।
इमेज लोक कलाकारबाट बाहिर निस्केपछि उनले जिन्दगी बुझे । नियति र अभावलाई नजिकबाट नियाले ।
काठमाडौंको अभाव, दु:ख र पीडालाई चिर्न भनेर उनले केही समय लालदरबार दोहोरी साँझमा पनि काम गरे । तर उनको जीवनस्तर त्यति सुध्रिएन । तर पनि विक्रम आफूलाई मनपर्ने क्षेत्र संगीतबाट टाढा हुन सकेनन् ।
हुर्केको छोरो । परिवारको मायाबाट टाढिएर गायक बन्ने सपना पालेर राजधानीमा संघर्षरत छ । घरबाट मागेर काठमाडौंमा गुजारा गर्ने अवस्था पनि छैन ।
उनी घरिघरी दोहोर्याइरहन्छन्, ‘काठमाडौंमा मैले गरेको दु:ख सम्झिने हो भने आँसु बग्छ ।’
यसबीचमा उनले काठमाडौंको चिसो सहे । भोक सहे । अभाव झेले । वास्तवमा जिन्दगी बुझे ।
अभावका दिनहरूबारे उनी खुल्छन्, ‘काठमाडौंको चिसो कसरी सहेको छु मलाई थाहा छ । दिउँसै बत्ती बाल्नुपर्ने अन्धकार कोठामा कसरी रात बिताएको छु त्यो मलाई थाहा छ । त्यही कोठामा गीतसंगीतमै घोल्तिएर गीतसंगीतमै उज्यालो भविष्य देखेर धेरै रात सुतेको छु ।’
उनी बिना हिच्किचाहट दु:खका दिन सुनाउँछन्, ‘कति रात त भोकै सुतेको छु । पाउरोटीको भरमा छाक टारेको दिन त कति छन् कति ।’
त्यस्तो अभावका बीचमा पनि संगीत नै सोचिरहनुभएको थियो त ? आफूलाई मन परेको क्षेत्रमा जति पनि दु:ख सहन सकिने भन्दै प्रश्नको उत्तर दिँदै भने, ‘दु:ख त गर्छु । टाढा त जान्नँ म । गीतसंगीतमै रमाउन चाहन्छु,’ ‘मलाई मनपर्ने क्षेत्र पनि हो । मन परेको कुरा गर्न दु:ख र हण्डर त सहनुपर्छ । म त्यसका लागि जहिल्यै पनि तयार छु ।’
सांगीतिक ब्रेक
इमेज लोक कलाकारबाट बाहिर निस्किएको केही समयपछि उनी शिव हमालसँग नजिकिए । त्यसबीचमा गीतकार केशव पौडेलसँग पनि उनको चिनाजान भयो ।
अनि उनले एकदिन केशवलाई ‘दाइ’ एउटा गीत गरौं भने ।
केशवले उनको प्रस्ताव सहजै स्वीकार गरे ।
त्यसपछि केशवले गीतको शब्द लेखे । शिव हमालले संगीत भरे ।
गीत बन्यो :
‘गुन्द्रुक मीठो साग तामा मीठो बाँसको
आज मलाई खाँचो पर्यो बैंश जोवन साथको‘
गीत बजारमा आएपछि आफूलाई दर्शकले चिन्न थालेको विक्रमको भनाइ छ ।
भन्छन्, ‘यो २०७४ सालमा निस्किएको थियो । यसले मलाई चिनाउन ठूलो भूमिका खेल्यो । यही गीत सुनेर लोकगीतका क्षेत्रमा परिचित दाइदिदीहरूले पनि तिम्रो स्वर राम्रो छ भन्नुभयो ।’
चौतारीको बर…
विक्रम परियारको स्वर, बसन्त थापाको संगीत तथा नकुल ढकालले लेखेको गीत हो- चौतारीको बर । महिलातर्फ भने यस गीतलाई सुमित्रा तामाङले गाएकी छन् ।
आधा दर्जन बढी गीत गाएपछि विक्रमको स्वरमा ‘चौतारीको बर’ बजारमा निस्किएको हो ।
उनले एउटा राम्रो गीत गाएर चिनिनुपर्छ भन्ने सोचिरहेका थिए । त्यसैबीच उनले स्रष्टा एवं गायक बसन्त थापासँग चिनचान भएका कारण भनेछन्- दाइ अब हामी काम गरौं न !
बसन्तले पनि ‘हुन्छ’ भनेछन् ।
विक्रम भन्छन्, ‘उहाँले पनि समय आएको छ तिम्रो । ल एउटा गीत गरौं भन्नुभयो । अनि गीतको काम भयो ।’
तर उनले भिडियोमा आफूले रिस्क लिन नचाहेको पनि बताए । उनलाई आफ्नो अनुहार बिक्दैन कि भन्ने शंका लागेको थियो रे । भन्छन्, ‘म विशुद्ध नयाँ कलाकार । मेरो अनुहार बिक्दैन कि कतै भन्ने सोचेँ । रिस्क चाहिनँ ।’ तर आगामी दिनमा भने गीतसँगै भिडियोमा पनि आफू देखिनेबारे उनले सोच गरेका छन् रे !
गीतसंगीतमा लागेपछि ‘चौतारीको बर’ले आफूलाई सबैभन्दा खुशी दिएको उनले बताए । मन्द मुस्कानसहित सफलता सुनाउँछन् उनी, ‘यो गीतले मेहनतअनुसार लोकप्रियता हासिल पनि गर्यो । म निकै खुशी छु ।’
‘चौतारी बर’ लाई यूट्युबमा लगभग ९० लाख पटक हेरिएको छ । यूट्युबमा यति धेरैपटक लोक गीतका भिडियो हेरिनुलाई उनले सुखद् ठान्छन् ।
उनको गीत यूट्युबमा मात्र होइन, टिकटकमा पनि व्यापक हिट भयो । १ लाखभन्दा बढी प्रयोगकर्ताले गीतको विभिन्न टुक्काहरूलाई लिएर भिडियो बनाएको उनी सुनाउँछन् ।
‘चौतारीको बर’ बजारमा आएपछि स्टेजहरूमा पनि माग बढेको उनले बताए । भन्छन्, ‘यस गीत बजारमा आएपछि म कार्यक्रमकै लागि कतार पुगेँ । स्टेजहरूमा पनि राम्रै माग हुन थालेको छ ।’ (यो सामाग्री लोकान्तर डटकमबाट साभार गरिएको हो ।)
Leave a Reply