सिरहा — सिरहा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेका छन् । महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा उनीसँगै पूर्ववडाध्यक्ष दिलीप यादवलाई पनि प्रहरी पक्राउ गरेको छ ।
गाउँपालिकाका अध्यक्ष शिवजी यादवसँगै पूर्ववडाध्यक्ष दिलीप यादवलाई पनि प्रहरी पक्राउ गरेको हो । उनीहरूलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिइएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए । उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको र शनिबार पीडित परिवारसँग जाहेरी लिने उनले जानकारी दिए ।

महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको थियो । आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दीपकको घर भत्काउन आदेश दिएका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर घर भत्काए । दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको थियो ।
फागुन १० गते सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित परिवारको घरमा डोजर चलाएर उठीबास गराएको घटनाप्रति संघीय संसद्का सांसद, प्रदेशसभाका सांसददेखि विभिन्न संघसंस्थासम्मले आपत्ति जनाएका छन् । उनीहरूले संसदीय छानबिन समिति गठन र दोषीमाथि कारबाहीको माग समेत गरेका छन् ।


























Leave a Reply