
काठमाडौं — सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको न्यायका लागि दबाब स्वरूप विद्यार्थीहरूले हस्ताक्षर संकलन गरेका छन् ।
१७ वर्षीया किशोरी रिंकुकुमारी सदाको न्यायका लागि दबाब स्वरूप नेपाल ल क्याम्पसका विद्यार्थीहरूले हस्ताक्षर संकलन गरेका हुन् । रिंकुको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाको सूक्ष्म छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई न्यायका लागि दबाब दिन हस्ताक्षर संकलन गरिएको विद्यार्थी सुजितकुमार पण्डितले बताए ।
जसमा विद्यार्थी, वरिष्ठ अधिवक्ता, प्राध्यापकलगायतले हस्ताक्षर गरेका छन् । गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहानमात्रै रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।
पञ्चायतीले पीडकबाट १ लाख ५० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । पञ्चायतीमा रूपेशको परिवारले घटनामा तीन जना संलग्न रहेकाले सबैले भाग लगाएर जरिवाना तिर्नुपर्ने भनेपछि आरोपितका आफन्तबीच नै विवाद भएको थियो । त्यसपछि किशोरी ३० गते साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
Leave a Reply