
सर्लाही — बालविवाहको झुटो मुद्दा खेपिरहेका सर्लाहीको बरहथवा नगरपालिका– १० का सत्येन्द्रकुमार रामका आमा गीतादेवी राम र मामा राजु रञ्जनलाई साधारण तारेखमा छाड्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश जीवनकुमार भण्डारीको सोमबारको इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको अदालतका स्रेस्तेदार ज्ञानेन्द्र दाहालले बताए । अन्तरजातीय जोडी सत्येन्द्र राम र नेहा रौनियारले कपिलवस्तु जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरिसकेपछि सर्लाही जिल्ला अदालतमा बालविवाहको मुद्दा दायर भएको थियो । सत्येन्द्रविरुद्ध मात्र होइन, उनका आमा र मामाविरुद्ध पनि मुद्दा चलाइएको छ । उक्त मुद्दापछि सत्येन्द्रको परिवार नै विस्थापित भएको थियो ।
सत्येन्द्र र नेहालाई छुटाउन गृहमन्त्री रमेश लेखकको आदेश र आइजिपी वसन्त कुँवरको निर्देशनमा मुम्बईसम्म प्रहरी पुगेर कुटपिट गर्दै पक्राउ गरिएको थियो भने बालविवाहको झुटा मुद्दा चलाइएको थियो । प्रहरीले गीतादेवी र राजुविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत ल्याएकामा झुटा मुद्दा चलाइएकोबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि पक्राउबाट पछि हटेको थियो । समाचार आएसँगै सडकदेखि सदनसम्म विरोध चर्किएपछि सरकार दबाबमा परेको थियो ।
चौतर्फी दबाब परेपछि सरकारले सुरक्षा ग्यारेन्टी लिएर सत्येन्द्रको परिवारलाई २८ माघमा गाउँ पठाइएको थियो । यो घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले पनि छानबिन गरिरहेको छ ।
Leave a Reply