
काठमाडौं — संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । दलित समुदायमाथि भइरहेको जातीय छुवाछुत र हिंसाको विषयमा ध्यानाकर्षण गराउँदै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै अछाम, सर्लाही र रौतहटमा भएको जातीय विभेदका घटनाहरुका दोषीहरुलाई कारबाही गर्न माग गरेको छ । संघर्ष समितिले घटनाका दोषीहरुलाई कारबाही एवं पीडितलाई क्षतिपूर्ति र दलित समुदायमाथिको अपराधिक घटनाहरुको स्थायी समाधानका लागि जोडदार माग छ ।
ज्ञापनपत्रमा उल्लेख भएका संघर्ष समितिका मागहरू पूरा गर्न आफुले सक्दो पहल गर्ने गृहमन्त्री लेखकले संयुक्त राजनीतिक दलित संघर्ष समितिसँग प्रतिबद्धता व्यक्त गरे ।
जातीय विभेदकै कारण दलित समुदायहरु भूमि, सम्पत्ति, शिक्षा र समान अवसरबाट वञ्चित बनाउन नहुने माग समेत गरिएको छ । छलफलको क्रममा अन्तरजातीय प्रेम र विवाहकै दलित समुदायले ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्यका लागि समेत गृहमन्त्रीलाई विशेष ध्यानाकर्षण गराइएको छ ।
त्यसैगरी दलित समुदायले इच्छ्याएको थर राखेर आमा र बाबू मध्ये एकजनाको नामबाट नागरिकता प्राप्त गर्न पाउने प्रावधान बनाउन पनि ध्यानाकर्षण गराइएको छ । अन्तरजातीय प्रेमकै कारण ज्यान गुमाएका काभ्रेका अजीत मिजारको लास ७३ सालदेखि टिचिङ हस्पिटलमै रहेकोमा दाहसंस्कारका निम्ति व्यवस्था मिलाउन समेत गृहमन्त्री समक्ष माग गरिएको छ ।
Leave a Reply