
घोराही — राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको सशक्तिकरणमा ध्यान दिन तीन तहकै सरकारको ध्यानाकर्षण गराएको बताएका छन ।
दंगीशरण गाउँपालिका वडा – २ र दलित एकता सञ्जालको आयोजनामा शनिबार प्रावि कौवाघारीमा भएको दलित सशक्तिकरण र दलितका सवाल विषयक सम्वाद कार्यक्रममा बोल्दै विश्वकर्माले सशक्तिकरणका कार्यक्रम ल्याउन ध्यानाकर्षण गराएको बताएका हुन् ।
अहिले पनि दलित समुदायको अवस्था आर्थिक, सामाजिक र सांस्कृतिकरुपले कमजोर रहेको भन्दै विश्वकर्माले उनीहरुलाई माथि उठाउन राज्यको लगानी जरुरी रहेको बताए । ‘हामीले दलित समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको अनुगमन पनि गरेका छौं । कतिपय घटनाले पनि समस्या देखाएको छ । यस्ता समस्या समाधान गर्न राज्यको लगानी जरुरी छ’– अध्यक्ष विश्वकर्माले भने – ‘हामीले दलित समुदायलाई के कस्ता नीति, कार्यक्रम जरुरी छ यो विषय समेटेर वार्षिक रिपोर्ट र सुझावहरु संघीय, प्रदेश र ७ सय ५३ वटै स्थानीय सरकारलाई पठाएका छौं ।’
सदियौंदेखि दलित समुदायमाथि भेदभाव हुँदै आएको भन्दै अब विस्तारै हट्दै गएको बताए । ‘पहिले जस्तो अहिले छैन । समाज केही बदलिएको छ’– अध्यक्ष विश्वकर्माले भने– ‘अरु दुई, चार वर्षमा यो धेरै कम भइसकेको हुनेछ । यसका लागि राज्यका निकाय गम्भीर भएर लाग्नुपर्छ ।’ उहाँले सरकारलाई हरेक वर्ष प्रतिवेदन बुझाउने, गरेका सिफारिस कार्यान्वयनका लागि ताकेता गर्ने, नीति, कार्यक्रमका लागि सुझाव दिने कार्य गरिरहेको बताए ।
सो अवसरमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले दलित समुदायको सशक्तिकरणका लागि चालु आर्थिक वर्षमा १३ लाख बढी रकम विनियोजन गरेको जानकारी दिए । यो अझै पूर्ण नभए पनि दलित समुदायको आर्थिक, सामाजिक विकासका लागि स्रोतले भ्याएसम्म लगानी गर्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष गिरीले समग्र दलित समुदायलाई सशक्त बनाउन दलितसम्वन्धी ऐन नै ल्याउने तयारीमा रहेको जानकारी दिए । कार्यक्रममा दंगीशरण गाउँपालिका वडा नं. २ का अध्यक्ष डम्बर खत्रीले वडामा रहेका दलित समुदायको शिक्षा, स्वास्थ्य तथा पेशा, व्यवसाय र सीप प्रवद्र्धनका लागि थोरै भएपनि काम गरेको जानकारी दिए । वडाको वजेटले भ्याएसम्म दलित समुदायको विकासका लागि काम गर्ने प्रतिवद्धता पनि जनाए ।
विद्यार्थीलाई पोशाक वितरण
सो अवसरमा वडा नं. २ का कक्षा १ देखि ५ सम्म अध्ययनरत दलित समुदायका ३७ छात्र र ३४ छात्रालाई विद्यालय पोशाक वितरण गरिएको थियो । यसैगरी दलित जनप्रतिनिधि, दलित अगुवाहरुलाई पनि सम्मान गरिएको थियो । दंगीशरण गाउँपालिका कार्यपालिका सदस्य कृष्णे कामी, सितारा नेपाली, वडा नं. २ का वडासदस्यहरु मोहन बिक र अञ्जना बिक तथा अरु २२ जना दलित अगुवाहरुलाई सम्मान गरिएको थियो ।
Leave a Reply