विभेदविरुद्ध गुन्जिएको यश कुमारको गीत

दलित अनलाईन २४ भाद्र २०७५, आईतवार ०९:२२

एकपटक जिम्बाबेका विवादास्पद राष्ट्रपति रोबर्ट मुगाबेले भनेका थिए, ‘विभेद त्यतिवेलासम्म रहन्छ, जबसम्म सेतो कारमा कालो टायर रहन्छ ।’ मुगाबे जेसुकै होऊन्, निरंकुश तानाशाह या जिम्बाबेका पूर्वराष्ट्रपति । तर, उनको यो अभिव्यक्ति संसारबाट अहिलेसम्म नहटेको विभेदमाथि थियो ।

हाम्रो मुलुकमा विभेद कहिलेबाट सुरु भयो भन्दा पनि यसको स्वरूप, चरित्र कस्तो छ भन्ने कुरा प्रमुख हो । मान्छे भौतिकभन्दा पनि मनोवैज्ञानिक रूपमा विभेदको सिकार हुने गर्छ । जस्तो, अस्ति भर्खरै शंकर बिसीले पत्रकारलाई ‘कुटाइ खालास्’ भनेका कारण उनी विवादित बने । उनको तर्क थियो, उनलाई पत्रकारले घुरेर हेरेका थिए ।

त्यहाँ शंकरको शिष्टताको सवालबाहेक अरू केही थिएन । गाली उनले गरेको गल्तीलाई गर्नुपर्ने थियो । तर, सामाजिक सञ्जालमा शंकरको जातलाई गरियो । यसबारे गायक यश कुमार भन्छन्, ‘ती गाली गर्नेहरू अनपढ, अबुझ या पुराना पुस्ताका थिएनन् । समाजका ‘सभ्य’हरू नै थिए । भनेपछि ‘विभेद’ भन्ने शब्द हामी गर्भमै बोकेर आउँछौँ ।’

०५८ सालमा आयो, यश कुमारले संगीत र स्वर रहेको गीत । जुन गीतको कन्सेप्ट नै यश कुमारको थियो । शब्द बिनु काफ्लेका थिए । गीतमा यश कुमारको वास्तविकता पनि जोडिएको थियो । गीत एकाएक चर्चित बन्यो :
बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन
नआऊ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन !

गीत एकाएक हिट भयो । सुरेश कुमार परियार रातारात यश कुमार भए । उनी एक सामान्य मान्छेबाट सेलेब्रिटी बने । यो गीत चल्नुमा समाजले निर्माण गरेको कथित ‘तल्लो जात’ले रुचाएर मात्र होइन, भन्ने तर्क यश कुमारको छ । भन्छन्, ‘यो गीत ती साराले मन पराए, जो समाजले भनेको तल्लो जातिको मान्छेसँग प्रेममा परेका थिए ।’

नियोलिथिक उपकरणबाट प्राप्त जानकारीअनुसार नेपालमा करिब नौ हजार वर्षपहिलेदेखि मानिसहरू बसोवास गर्न थालेको अनुमान छ । जतिवेलादेखि मान्छे बस्न सुरु गरे, त्यतिवेलैदेखि विभेदको क्रम सुरु भएको थियो, भलै त्यो जातका कारण थिएन होला । जुन क्रम अहिले जातमा आइपुगेर हाम्रो समाजमा ०७२ सालअघिको धरहराजसरी उभिएको छ र शासन गरिरहेको छ ।

विभेदबारे बोलेको यश कुमारको यो गीतले पनि शासन गर्‍यो । शासन त्यस्तालाई गर्‍यो, जसले सामाजिक व्यवस्थाका कारण आफ्नो प्रेमलाई बलिदान दिए वा दिनुपर्ने अवस्था थियो । यहाँ प्रश्न उठ्न सक्छ, त्यसो भए प्रेम त्यति कमजोर हुन्छ र रु समाजका कारण प्रेमको आहुति दिनुपर्छ । यसबारे यश कुमार भन्छन्, ‘जब प्रेमविरुद्ध विभेद उभिन्छ, तब प्रेमले हुर्किन पाउँदैन ।’

‘मैले छोएको पानी चल्दैन’ गीत नेपालीको ढुकढुकीमा बस्यो । यो गीत नसुन्ने सायदै होलान् । आखिर किन चल्यो त यो रु यश कुमार भन्छन्, ‘यो गीत दलितलाई पात्र बनाएर गाइए पनि गीत उनीहरूका लागि मात्र थिएन । गीत तिनीहरूका लागि पनि थियो, जो समाजले घोषणा गरेको उपल्लो वर्गका थिए । जसले दलित समुदायको मान्छेलाई प्रेम गर्थे, तर घरको, कुलको इज्जतका कारण विछोड भएका थिए र हुने परिस्थितिमा थिए ।

गीतमा एउटा प्रेमीको विवशता मात्र होइन, गतिलो विद्रोह पनि छ । जहाँ एउटा ‘दलित’ मौनताको पहाडमा उभिएर विद्रोहको हुँकार गर्छ, विरोधको आगो ओकल्छ । ‘यो गीत सुन्ने कतिपयले गीतमा सजिलै भेटिने संवेदनालाई मात्र ख्याल गरे । गीतले गरेको मौन विद्रोहको रङ कस्तो छ भनेर त्यति ख्याल गरेनन्,’ यश कुमार भन्छन्, ‘गीतमा एउटा कथित तल्लो जातको प्रेमीले आफ्नो प्रेमलाई आहुति दिएर बदलामा समान सामाजिक हैसियत र पहिचान मागेको छ ।’ तर, त्यहाँसम्म पुगेर बहस भएको देखिन्न । यश कुमार गीतको पहिलो अन्तरामा बोल्छन् :
शीतको थोपा हुँ म, मन्दिरको जल होइन
नआऊ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन
शीत पवित्र कि मन्दिरको जल रु धर्मले गिजोलेको हाम्रो दिमागले जल नै भन्छ । कवि भूपिनले आफ्नो ‘सि रि या’ कवितामा भनेका छन्, ‘र, धर्म हो मानिसको खराब आविष्कार ।’ शीत, जो समुद्रबाट उडेर माथि आकाशमा पुगेर खसेको हुन्छ । स–साना दुबोका पातहरूमा अल्झिएको हुन्छ, लहरामा मुन्टाहरूमा झुन्डिएको हुन्छ ।

गीतले मन्दिरको जललाई भन्दा धेरै धर्मलाई प्रश्न ग¥यो । एक थोपा शीत, जसले आफ्नो अस्तित्वको दाबी गर्‍यो । आफ्नो परिचयको आयाम खोज्यो । यश कुमार भन्छन्, ‘दलितहरू त्यही शीत हुन्, तर धर्मले त्यो शीतलाई अपवित्र बनाइदियो । समाजले अस्तित्व मेटाइदिन खोज्यो । के हामी अरू मान्छेभन्दा भिन्न थियौँ र ?’

प्रश्न उठ्छ, यस्तो सामाजिक व्यवस्थाको निर्माण कसले गर्‍यो रु यसका लागि हामी मल्लकालीन राजा जयस्थिति मल्लतिर फर्किनुपर्छ । जसले करिब आठ सय वर्षपहिले ‘अछुत’ शब्दको बीजारोपण गरे । उनले आफ्नो जुत्ता सिलाउने मान्छेलाई परै बस्न भने । पछि, तिनलाई सार्की भन्न थालियो । यहीँबाट सुरु भयो, विभेदको अर्को सम्राज्य । उखेलेर फाल्नै नसकिने विभेदको बिरुवा रोपियो ।

पछि मनिराम गाइने, बिसे नगर्ची, दिलबहादुर रम्तेल, बागे सार्कीलगायत दलित आन्दोलनका अगुवाहरू बलीको बोको भए । ‘बलीको बोको हुनेहरू पृथ्वीनारायण शाहदेखि १० वर्षे द्वन्द्वमा पनि थिए र अहिले पनि छन् । यति हो, यसको स्वरूप मात्र फेरिएको हो,’ भन्छन् यश कुमार ।

यश कुमारको गीत कसैको विरुद्धमा थियो भने सामाजिक व्यवस्थाको विरुद्धमा थियो, समाजले निर्माण गरेको कुरूप सत्यको विरुद्धमा थियो । यश कुमारले यही गीतको वरिपरि रहेर फिल्म पनि बनाए,

‘बाटोमुनिको फूल’ । जुन फिल्म हिट पनि भयो । यश कुमार भन्छन्, ‘त्यो फिल्म त्यही चार मिनेटको गीतलाई तन्काएर दुई घन्टाको बनाइएको थियो ।’ यस फिल्मको सिक्वेल पनि आयो, राम्रो प्रतिक्रिया पनि पायो ।

उक्त फिल्म आएपछि कवि अभय श्रेष्ठले भनेका थिए, ‘यश कुमारले जे गरे, त्यो राम्रो छ, तर विभेदको जरासम्म पुग्न अझै बाँकी छ ।’ यश कुमार पनि त्यो कुरा स्विकार्छन् । भन्छन्, ‘समाजमा विभेद त कहिल्यै पनि सकिँदैन । जुन सकिनका लागि त्यो विभेद धर्मबाट बाहिर निस्किनुपर्छ, जुन असम्भव छ ।’ तर, त्यसो भन्दैमा कोसिस भने गरिरहनुपर्ने उनी बताउँछन् ।

आफ्नो गीतले विभेद झेलिरहेको वर्गको आवाजलाई बाहिर मात्र ल्याएको बताउँछन्, यश कुमार । एउटा मान्छे दलित भएर जन्मिनुमा जैविक कारण केही थिएन । तर, समाजले निर्माण गरेको कुरूप सत्य थियो । जसको कारण प्रेमले सिकार हुनुपरेको थियो । त्यही कुरालाई टिपेर बाहिर ल्याउन कोसिस मात्र गरेको यश कुमारको दाबी छ ।

यश कुमारको त्यो गीत ०५८र५९ सालतिर यसरी चल्यो कि उनले सोचेका पनि थिएनन्, त्यति चल्ला भन्ने । भन्छन्, ‘यहाँ ३३ हजार एनजिओले गर्न नसकेको काम एउटा गीतले गरिदियो ।’ गीत आएपछि धेरै मानिसले अन्तर्जातीय विवाह गरे । यसका उदाहरण उनी आफैँ हुन् । उनलाई कुनै किसिमको विभेद भएन । कारण खुलाउँछन्, ‘समाजले स्तर पनि हेर्दो रहेछ । त्यही भएर पनि हामीले आफ्नो हैसियत र स्तर बढाउनुपर्छ । समाजले पाखा लगाउन नसक्ने बन्नुपर्छ । अनि विभेद कम हुँदै जान्छ ।’

यश कुमारका प्रायजसो गीतमा उस्तै आवाज भेटिन्छ । चाहे त्यो ‘रिदम’ एल्बमका होस् या ‘तिर्खा’ एल्बमका । उनी आफैँले लेखेको, संगीत भरेको तथा गाएको एउटा गीतको अन्तरा छ :
तिमीबाट टाढा हुनु मलाई कसैको कर थियो
धेरै माया गर्थें तिमीलाई, जन्मनाता टुट्ने डर थियो
यसरी यश कुमारले गीतहरू जहिल्यै समाजले भनेको तल्लो वर्गको वेदना, आँसुको मियो समातेर गाए । प्रायः गीत आफैँले लेखे, आफैँले कम्पोज गरे र गाए । उनका गीतमा सुर र तालभन्दा अस्तित्वको खोजी र पहिचानको वकालत हुन्छ । कहीँकतै विवशता पनि झल्किन्छ स्
सधैँ म रमेको हुन्छु, आफ्नै छायाको साथमा
बुझ्नै सकिनँ मैले कुन्नि के राख्या’छ जातमा ‘।

साभार : नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank