आगामी स्थानीय निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड

दलित अनलाईन ५ माघ २०८१, शनिबार १८:५४

मोरङ—   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा २५० पालिका जितेर पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका-५ तेतेरियामा आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्।

२०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको उल्लेख गरे।

उनले भने, ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं, अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ। आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो।’

गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइमा उठाउने सन्देश दिएको उल्लेख गर्दै उनले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वडा जिताउनुका साथै अन्य वडामा पनि मत संख्या बढाएर पूर्वले बिरोधीहरूलाई ठूलै जवाफ दिएको बताए।

उनले भने, ‘बिरोधीहरूले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुवैमा पहिलो पार्टी बनाएको छ। यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनैतिक महत्वको जीत हो।’

उनले ग्रामथानबासीले माओवादीलाई ठूलो गुन लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताए।

देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गरे।

उनले भने, ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं। त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाइँहरूसमक्ष आएका छौं, तपाईहरूलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank