काठमाडौं– सिरहाको नरहा गाउँपालिका वडा एक गैराहाको मुसहर बस्तीमा गैरदलित यादवहरुले १० दिनदेखि नाकाबन्दी लगाएका छन् ।
नरहा गाउँपालिकाको वडा १ मा मुसहर बस्तीमा स्थानीय गैर दलित यादवहरुले भदौं ३१ गतेबाट नाकाबन्दी लगाएका हुन् । नरहा गाउँपालिका वडा २ का रामचलितर यादवका छोरा महेश यादवले ४५ घरधुरी रहेको मुसहर बस्तीको मुल बाटोमा काँडेतार लगाएर हिँड्डुल गर्न रोक लगाएपछि नाकाबन्दीमा मुसहर बस्ती परेको हो ।
१० दिनदेखि यादवहरुले घर आउने मूल बाटो बन्द गरेपछि उनीहरुलाई घर आवत जावतमा उनीहरुलाई समस्या परेको छ ।
महेश यादवले बाटोको काँडेतार खोल्ने प्रयास कसैले गरे परिणाम नराम्रो हुने चेतावनी समेत दिएका मुसहर समुदायले बताएका छन् । मुसहर बस्ती वडा १ का स्थानीय माईजन जोगी सदाले आफुहरुलाई समय -समयमा यादव समुदायबाट धाक-धम्की दिए पनि अहिले आएर मूल बाटो नै बन्द गरी आफुहरुमाथि नाकाबन्दी गरेको उनले बताए । धान खेतमा काम नगरेको निहुँमा आफुहरुमाथि गाली-गालौज गरी धम्की दिएको सदाको गुनासो छ ।
यादव परिवारले बेला बेलामा उठीवास लाउने धम्की दिने र काममा नगएको भन्दै घरमा आएर महेश यादवले गाली-गलौज गरेको मुसहर बस्तीकी ३१ वर्षिय सोनावत्ति सदाले बताइन् । उनले भनिन, ‘चारै तिरको जमिन मेरो हो, तिमीहरु बसेको बस्ती पनि मेरै हो,भन्दै आफूले भने जस्तो नगरे उठिवास लगाउँछु । ’
दलित अधिकारकर्मी संजय महराले मुसहर बस्तीमा यादवहरुले खेतमा काम नगरेको निहुँमा उनीहरुमा नाकाबन्दी लगाएको बताए । मालिकहरुले भनेको जसरी काम नगरेको निहुँमा यादवहरुले उनीहरुको बाटो बन्द गरी नाकाबन्दी गरी यादवहरुले जातीय आधारमा समेत गाली र धम्की दिएको महराको दावी छ ।
आफुहरुमाथि यादवहरुले गरेको नाकाबन्दी सम्बन्धी जिल्ला प्रशासन कार्यालय सिराहमा उजुरी लिएर विहिबार गए पनि उजुरी दर्ता हुन सकेको छैन।
Leave a Reply