कालीकोट — कर्णालीमा जन्मदेखि मृत्युसम्मका सम्पूर्ण कार्यमा अत्यावश्यक मानिन्छ– पन्चैबाजा। बच्चा जन्मिँदा होस् कि, बिहे गर्दा होस्। दसैं मनाउँदा होस् कि, देवी देवताको पूजाआजा गर्दा होस्, जब पन्चैबाजा घन्किन्छ, अनि मात्रै रौनकता छाउँछ।
दमाहा, झ्याली, ट्याम्को, सहनाई र ढोलकी जब एकसाथ बज्छन्, अनि मात्रै माहोल तात्छ, मेला, उत्सव र भोजमा अर्कै उमंग छाउँछ। तर, आजभोलि कर्णालीमा पन्चैबाजा हराउन थालेको छ। कथित दलितले मात्रै बजाउने हो भन्ने परम्परागत मान्यताका कारण नयाँ पुस्ता पन्चैबाजा बजाउनै चाहदैन। पुरानो पुस्ता पनि बाजागाजामा जातीय ‘विभेद’ हुन थालेको भन्दै यसबाट अलग हुँदैछ।
नरहरिनाथ वडानं. २ का ६५ वर्षीय चर्क दर्जी युवा पुस्ताले पन्चैबाजा बजाउन छाडेकोले यो लोप हुने अवस्थामा पुगेको बताउँछन। ‘पन्चैबाजा बजाउनेलाई यहाँ विभेद गरिन्छ,’ उनले भने, ‘कर्णालीमा पन्चैबाजा त सानो जातकाले मात्र बजाउनुपर्छ भन्ने चलन छ।’
दमाहा नेपाली बाजा हो। यो बाजाले कर्णालीको मात्र नभई मुलुककै पहिचान झल्काउँछ। तर दमाईले बजाउने पन्चैबाजा भन्दै बाजामा पनि छुवाछूत गर्न थालेपछि यो बाजा लोप हुने अवस्थामा पुगेको हो। यस्तै नरहरिनाथ वडानं. २ कै हुड्के कलाकार खम्म दर्जीले अब दमाईले पन्चैबाजा नबजाउने निर्णय गरेको बताए। उनको प्रश्न छ, ‘दलितले बनाएको मादल बजाउन हुने, घरमा बस्न हुने, मन्दिर पस्न हुने तर गैरदलितले पन्चैबाजा बजाउन नहुने भन्ने हुन्छ ? ’
मान्छे जन्मिँदा, मृत्यु हुँदा, शुभ–अशुभ कार्यमा समेत पन्चैबाजा बजाउने चलन कर्णालीमा छ। स्थानीय सरकारले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्छ। तर पन्चैबाजा बजाउने तालिम कहिल्यै दिँदैन। सरकारले समेत बाजामा विभेद गरेको दर्जीको आरोप छ।
सामाजिक अभियन्ता हिक्मतजंग मल्ल कर्णालीका १० वटै जिल्लामा पन्चैबाजा संरक्षण कार्यविधि अझै नबनेको बताउँछन्। उनले भने, ‘कर्णालीमा यो बाजा अछूत हुनुहुन्न, अब हामी सबै युवाहरूले पन्चैबाजा बजाउन सुरु गर्छौं। जननिर्वाचित जनप्रतिनिधिहरूले संस्कृति संरक्षण गर्दा के अपराध हुन्छ ? अहिलेसम्म लोप हुँदै गएको पन्चैबाजा संरक्षण कार्यविधि नबन्नु भनेको नै दुःखद् कुरा हो।’
केही महिनाअघि खाँडाचक्र नगरपालिका वडानं. १ कि मधु शाहीले आफ्नो नेतृत्वमा महिलाले पन्चैबाजा बजाउन सुरु गरेको बताइन्। ‘कर्णालीमा आफूलाई हुने खाने र ठूलो जात भन्न रुचाउनेले अहिले पनि दलित, महिला, फरक क्षमता भएका व्यक्ति माथि विभेद गरिरहेका छन्, उनले भनिन्, ‘अरूले सुरु नगरेको काम हामीले गरेका छौं। गाउँमा महिला पुरुषबीचको विद्यमान अछूत हटाउन महिलाले पन्चैबाजा बजाउन सुरु गरेका हौं।’ पन्चैबाजा इतिहास झल्काउने बाजा भएको उल्लेख गर्दै शाहीले भनिन्, ‘युवा पुस्ताले अब यो बाजा बजाउन सिक्नुको विकल्प छैन।’
अधिकारकर्मी बाले विश्वकर्मा कर्णालीमा बाजा बजाएकै कारण दलितले अपमानित हुनु परेको बताउँछन्। ‘प्रदेश र स्थानीय सरकारले पन्चैबाजालाई आधुनिकीकरण गरी युवाहरूलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने,‘ पन्चैबाजा बजाउँदा लगाउने पहिरन लोप हँुदै गएको छ। यदि सरकारले पहिरन र बाजाको व्यवस्थापन गरी युवाहरूलाई तालिमको व्यवस्थापन गरेमा बाजाको संरक्षण हुन्छ।’
कर्णालीको दमाहा
डोरी नै डोरीले बाँधेर राखेको डल्लो, तामाको भाँडो, पिँधतिर सानो र मुखतिर ठूलो हुँदै आएको, छालाले मुडेको, गजोले हानेर बजाइने बाजा हो दमाहा। यसलाई सानो खालको नगराका रूपमा पनि लिइन्छ। यसलाई पन्चैबाजा समूहको तालबाजाको रूपमा लिइन्छ। दमाहा घाँटीमा भिरेर बजाइन्छ।
ड्याम्म्…..ड्याम्म……बजाउन सुरु गर्दा यसको आवाज गुइँ…..गुइँ…..सुनिन्छ। पानीले दुई दिन जति भिजाइएको (दाहिने) दमाहा राम्रो बज्ने गर्दछ। बायाँ दमाहाको आवाज पातलो र तिखो हुन्छ। गोरुको छाला तीन दिनसम्म पानीमा भिजाई छाला नरम पारी बनाएको दमाहाको आवाज निक्कै ठूलो हुन्छ।
कालीकोटमा पन्चैबाजा बजाउँदै ।
कुनै बेला यो बाजा सञ्चारमाध्यमको रूपमा पनि प्रयोग हुन्थ्यो। दमाहा बजाएर खबर आदानप्रदान गर्ने चलन थियो। कर्णालीका केही गाउँमा अहिले पनि यो परम्परा कायमै छ। जसलाई कर्णालीको भाषामा खुट हान्ने भनिन्छ। शुभ कार्यमा शुभबाजा र मर्दा पर्दा अशुभ बाजा बजाएर खवर दिने चलन छ।
के—केमा हुन्छ पन्चैबाजाकोे प्रयोग
बच्चा जन्मिँदा
घरमा छोरा जन्मिँदा पन्चैबाजा बजाउने चलन छ। छोरा जन्मेको पहिलो दिनदेखि दमाई बोलाएर छैटी, न्वारनसम्म पन्चैबाजा बजाउने गरिन्छ। तर दुःखको कुरा, छोरी जन्मिँदा भने पन्चैबाजा बजाइँदैन। छोराछोरीबीचको विभेद कायमै छ।
विवाह गर्दा
विवाहको लगन सुरु भएदेखि पन्चैबाजा बजाएर रमाइलो सुरु हुन्छ। अघिअघि पन्चैबाजा बजाउँदै बेहुलाको घरबाट बिहे सुरु हुन्छ। पन्चैबाजाको तालमा नाच्दै, गाउँदै, रमाइलो गरेर बेहुलीको घर पुग्ने चलन छ। बेहुलीको घर (माइती) मा पुगिसकेपछि माइती पक्षबाट पनि बाजा (पयाना) बजाउने गर्छन्।
विवाहको जग्गे, जन्त हुँदै अन्तिम भोजसम्म पन्चैबाजा बजाइन्छ। भोज सकिएपछि (जोला हाल्ने) बाजा सुरु हुन्छ। जसको घरमा कर्म गरिन्छ, उसको निजी जस्तो (भागे लाग्ने) दमाईलाई बर्सिगो, लिउ, फेरुवा, बुढो गोरु र अन्य दमाईलाई फुर्काेको रूपमा पैसा, खसी, राँगो दिने गरिन्छ।
विवाहको बेला मुख्य आकर्षकको रूपमा पन्चैबाजालाई लिने गरिन्छ। यदि पन्चैबाजा बजाइएन भने त्यो विवाह कर्णालीको भाषामा निसेइलो (उमंग बिनाको) विवाह भन्ने चलन छ। तर पछिल्लो समय भने पन्चैबाजा बजाएर भोज दिने संस्कार पनि कर्णालीमा कम हुँदै गएका छन।
व्रतबन्ध गर्दा
व्रतबन्धमा पनि पन्चैबाजा बजाउने चलन कर्णालीका १० जिल्लामा छ। लग्ने बिस्कुन डास्ने, टाला छेक्ने (लगनका लुगा) सिलाउने दिनमा पन्चैबाजा बजाइन्छ। रातभरि पन्चैबाजा बजाउने, हुड्के नचाउने, जग्गेमा मागल गाइन्छ। बिहान (योगीजस्तो बन्ने बेलासम्म र भोज लिने बेलासम्म पनि बाजा बजाइन्छ। अनि पयाना खेल्ने (दमाई लड्कने) पनि हुन्छ। यसमा पनि जोलो हाल्ने चलन हुन्छ। खुकुरी नाच पनि प्रदर्शन गरिन्छ। साथै हुड्के नाच प्रदर्शन गर्ने चलन पनि छ।
यज्ञ, देव पूजा गर्दा
कर्णाली प्रदेशका १० वटै जिल्लामा यज्ञ, महायज्ञ लगाउँदा दमाईले पन्चैबाजा बजाउने गर्छन् भने अन्य जातिकाले पूजाआजा गर्ने गर्छन्। देवी देवताको थान (मन्दिर) मा पूजा गर्दा बाजा बजाउने चलन छ। यस्तो समयमा खसी काट्ने, सेलपुरी पकाउने र देवीदेवतालाई चढाउने गरिन्छ। यस्तो दिनमा पाहुनाको विशेष सम्मान हुन्छ। यस्तो बेला पन्चैबाजा बजाउनेलाई सेलपुरी र बाजाको रेख भनेर पोटो (बोकाको लादीसहितको भुँडी) दिने चलन छ।
दिनभरि पन्चैबाजा बजाउनेलाई सम्मानजनक व्यवहार नहुने भएकाले पछिल्लो समयमा पन्चैबाजा लोप हुने अवस्थामा रहेको बडिमालिकाका पुजारी हरिकृष्ण धमलाले बताए। उनले भने, ‘पन्चैबाजाको संरक्षण हुन सकेन भने कर्णालीको पुरानो संस्कृति हराउँदै जानेछ।’
दसैंमा
दसैंमा पनि पन्चैबाजा अनिवार्य नै हुन्छ। ठकुरी बस्तीमा घटस्थापनादेखि नवमीसम्म बजाउने चलन छ। ९ दिनसम्म नौरथामा पनि पन्चैबाजा बजाएरै पूजापाठ गरिन्छ। बेलुका नौमती र बिहान पहर खुलाउने गरी दमाहा, ताल र सहनाई, नरसिंगे बजाइन्छ। यसरी नियमित रूपमा बजाउनेलाई बिहान बेलुका खाना खुवाउने गर्छन् भने दसैंंको दिन सेलपुरी, अचार र भात दिने चलन छ।
खसी काटेको घरमा घिच्चे ठांग्रो भनेर खसीको घाँटी पन्चैबाजा बजाउनेलाई दिने चलन छ। दसैंको दिनमा पन्चैबाजा बजाउँदै गाउँका मुखिया, प्रधान तथा हालका मन्त्री/माननीयको घरमा जमरा लगाउने चलन छ।
धामी नाच, साउनेसंक्रान्ति र भैलोमा
कर्णालीमा प्रायः पूर्णिमा र पैठको बेला पन्चैबाजा बजाएर धामी नचाउने चलन छ। कालीकोटको पलाँता गाउँपालिका वडानं. ८ मा रहेको ठुलामाडुमा खापर, मस्टो, दुदेसिल्लो देवताको पूजाको बेला ६० जना जति दमाहा, पाँच जोर ताललगायतका अन्य बाजा बजाउने चलन छ। छिमेकी जिल्ला बाजुरा, अछाम, दैलेख, जुम्ला र मुग जिल्लाबाट तीर्थालुहरू आउने गर्छन्। त्यहाँ दर्शन गर्न गरे इच्छाएको पुग्ने मूल धामी कलबहादुर बमले बताए।
पन्चैबाजासहित कालीकोटमा धामी नाच्दै । तस्बिर : भरतराज विष्ट
उनले भने, ‘प्रायःजसो वैशाख पूर्णिमा, माझ पूर्णिमा, विजय पूर्णिमा, माघ पूर्णिमा, माहमी र चौदशीमा बाजा बजाउने चलन छ। साउनेसंक्रान्ति त स्थानीयको ठूलै तिहार हो। यो तिहारमा पनि बाजा बजाउँछन्। रोपाइँ, गोडमेल सबै सकिएको खुसीयालीमा बाजा बजाउने गरिन्छ। यस्तै माघेसंक्रान्ति, भैलो पूर्णिमामा पनि पन्चैबाजा बजाउने गरिन्छ।
घरको जग हाल्दा
कर्णालीका विभिन्न जिल्लामा अहिले पनि पन्चैबाजा बजाएर भुवो, पिठायो, धान रोपाइँ, घरसराई गर्दा, घरको जग हाल्ने चलन छ। कर्णालीमा मनाउने विभिन्न पर्वका बेलामात्र नभई घर व्यवहारमा पनि पन्चैबाजा बजाउने चलन छ।
कर्णालीमा भुवो मनाउँदा वा ( राँका फाल्दा) बाजा बजाउने चलन अझै छ। भुवो भनेको एउटाले पुकार गर्ने र अरूले एकै स्वरमा भन्ने परम्परा हो। सल्लोको झर्रो वा लोइठो जलाएर सबैले एकै ठाउँमा फाले लुतो जाने र पाप काटिने मान्यता छ। त्यसैले यस्तो बेलामा पनि पन्चैबाजाको निक्कै महत्त्व हुन्छ।
राँगो हान्ने बेला
‘गाउँमा रोगव्याधि नआओस्, रोगहरू भागेर जाऊन्’ भनी प्रत्येक घरमा राति माटो भिजाई, ढंँटेलीको काँडामा घरको धुलो बाँधी डाँडा पारि लिएर राँगो काट्ने चलन छ। अर्थात्, राँगोलाई मीठो परिकार खुवाएर गाउँका सबै भेला भई तरबार चलाएर राँगोलाई लखेट्दै काट्ने गरिन्छ। उक्त समयमा देवीलाई खुसी पार्न पन्चैबाजा बजाउँदै धामी झाँक्रीहरू काँप्ने चलन छ। यस्तो कार्यमा पनि पन्चैबाजाको प्रयोग हुन्छ।
लिंगो गाड्ने बेला
सल्लाको रुखलाई लिंगो बनाएर गाड्ने समयमा पनि पन्चैबाजा बजाउने गरिन्छ। रातो, सेतो र पहेंलो रंगको कपडा टांगेर लिंगो गाड्ने चलन प्रायः कर्णालीका सबै गाउँमा छ। तर पन्चैबाजा बजाउने मानिस कम हुँदै गएका छन्। आजकल राम्रो पन्चैबाजा बजाउने मानिस पनि खोजे भेटिदैननन्।
मूल्य र मान्यताअनुसार कर्णालीमा पुरानो रैथाने चलन कायम राख्न यहाँका केही व्यक्तिहरू लागेका भए पनि प्रायः सबैको अहिले चलनअनुसार आयातित बाजामा ध्यान जानुले पन्चैबाजा लोप हुँदै गएको छ।
तीर्थ व्रत जाँदा
देउताका धामी अथवा अन्य कोही तीर्थ यात्रामा जाँदा पनि बाजा बजाएर आधा बाटोसम्म पु¥याउने गरिन्छ। आउँदा पनि बीच बाटोमा गई बाजा बजाएर पर्छंदै ल्याउने चलन छ। कर्णालीको कालीकोटको त्रिवेणी पाटन हुँदै बडिमालिका जाने तीर्थ यात्रु र महावैको महावुधाम, खाँडाचक्रको चुलिमालिकाजस्ता प्रसिद्ध स्थानमा जाँदा पनि बाजा बजाउने चलन छ। पन्चैबाजाको महत्त्व विभिन्न ठाउँमा रहँदै आएको छ।
राजनीतिक दलका नेता, मन्त्री गाउँमा आउँदा
राजनीतिक दलका नेता होस्, कुनै राजनीतिक कार्यक्रम, चुनाव आदि, इत्यादि कार्यको निम्ति नेताहरू गाउँमा प्रवेश गर्न साथ पहिला दमाहा बाजा बज्छ। दमाहा बज्नु भनेको नेताको लागि ठूलो स्वागत हो। नेता कार्यकर्ताको स्वागतमा बाजा बजाएमा नगद पारि श्रमिक पाउने नियम छ।
मृत्यु संस्कारमा पनि बाजा
कर्णालीका गाउँमा मान्छे मर्दा बाजा बजाउँदै मसानघाटसम्म पुग्ने चलन छ। गाउँदेखि मसानघाटसम्म निश्चित–निश्चित ठाउँमा दमाई खेल्ने वा पयाना बाजा बजाउने गाउँहरू छन्। त्यो दिनमा प्रत्येक ठाउँमा बाजा बजाएबापत ज्याला पैसा पाउँछन्। काजक्रिया गरी सकिँदासम्म तर्पण गर्दाको दिन पनि बाजा बजाउँछन्।
प्रदेश सरकारले पन्चैबाजा संरक्षणका लागि कार्यविधि नबनाए पनि प्रत्येक बर्ष बजेट छुट्ट्याउने गरेको छ। प्रत्येक आर्थिक वर्ष विभिन्न समूहको नाममा लाखौं बजेट गएको छ। तर पन्चैबाजा संरक्षण नै भनेर कुनै पनि कायविधि बनेको छैन। अहिलेसम्म यो बाजा जोगिनुमा स्थानीय समुदायको भूमिका छ। आउने दिनमा सामाजिक विकास मन्त्रालयले यस्ता विषयमा बढी ध्यान दिनुपर्छ। पन्चैबाजा संरक्षणका लागि कार्यविधि निर्माण गरी बाजाको पहिचान जोगाउन कर्णाली प्रदेश सरकार चुक्दैन। कर्णालीको आफ्नै मौलिकतामा जन्मेको पन्चैबाजालाई कर्णाली प्रदेश सरकारको तर्फबाट अहिलेको युवा पुस्तालाई समेत रोजगारी हुने गरी संस्कृतिकको संरक्षण गर्छौं।
यामलाल कँडेल, मुख्यमन्त्री
लोप हुँदै गएको पन्चैबाजा संरक्षणमा स्थानीय सरकार र प्रदेश सरकार चुक्दै गएका छन्। पन्चैबाजा संरक्षण गर्न सरकारको कुनै ठोस योजना छैन। कर्णाली प्रदेश सरकारले नत कुनै कार्यविधि बनाएको छ न त कुनै नीति नै बनाएकोे छ। कर्णालीको पहिचान झल्काउने एकमात्र पन्चैबाजा संरक्षण गर्नु तिरभन्दा पनि डोजर चलाउनेतिर मात्र सरकारको चासो छ। स्थानीय सरकारले चलाएका डोजरका कारण बाढीपहिरोबाट धेरैको ज्यान गएको छ। पन्चैबाजा संरक्षणका लागि कुनै जिल्लाका युवाहरूलाई सीपमूलक तालिमसम्मको व्यवस्था गरिएको छैन। पन्चैबाजा दलितले बजाउने बाजा भन्दै गैरदलितहरूले घृणाको दृष्टिकोणले हेर्ने गर्छन्। कर्णालीमा बाजा बजाएकै कारण दलितले अपमानित हुनु परेको छ। प्रदेश तथा स्थानीय सरकारले पन्चैबाजालाई आधुनिकीकरण गरी युवाहरूलाई प्रोत्साहन गर्नुपर्छ। पन्चैबाजा बजाउँदा लगाउने पहिरन लोप हुँदै गएको छ। यदि सरकारले पहिरन, बाजाको व्यवस्थापन गरी युवाहरूलाई तालिमको व्यवस्थापन गरेमा बाजाको संरक्षण हुन्छ।
बाले विश्वकर्मा, दलित अधिकारकर्मी
पन्चैबाजा पञ्चतत्त्व, पञ्चधातु र पाञ्चायन देवताको प्रतीक पनि हो। पन्चैबाजा मंगल र शुभको प्रतीक वैदिककाल अगाडिदेखि नै बज्दै आएका हुन्। नेपालका मन्दिरमा नगरा र घण्टसँगै पन्चैबाजा बज्दै आएकाले यी बाजालाई देवबाजा पनि भनिन्छ। पन्चैबाजामा बज्ने प्रसिद्ध परम्परागत धुनहरू मंगल धुन, रामकली, चाँचरी, माल श्री, दिवस राग, बेहुली अन्माउने राग आदि हुन् भने लोकधुनमा ख्याली, झ्याउरे, चुड्का र सेलोलगायत पर्छन्। पाका–पुराना सहनाई वादकसँगै रामकली र चाँचरी धुन भने लोप हुन पुगे। त्यसैले पन्चैबाजाको संरक्षण कर्णालीबाट भएन भने लोप हुने अवस्था छ ।
हरिकृष्ण धमला पुजारी, बडिमालिका
(यो समाचार अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।)
Leave a Reply