काठमाडौँ — नेपाल प्रहरीका एकजना पूर्व अधिकारीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानुनी कारबाही गर्न भन्दै अख्तियारमा उजुरी दर्ता गराएका छन्।
अवकाशपछि समाजिक अभियान र त्यसपछि राजनीतिमा लागेका पूर्व डिआइजी रमेश खरेलले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन्।
उजुरीमा उनले कुलमान घिसिङले राज्यलाई करोडौ रकम घाटा हुने गरी विभिन्न ६६ वटा कम्पनीसँग कानुनबिपरित सम्झौता गरेको उल्लेख गरेका छन्। त्यसबाट नेपाल सरकारलाई अर्बौं घाटा लगाएको उजुरीमा भनिएको छ।
त्यस्तै कुलमानले प्राधिकरणलाई नाफामा लगेको नक्कली रिपोर्ट सार्वजनिक गरेको तथा डेडिकेटेड र ट्रङ्क लाइन विवादमा फसेका उनलाई जोगाउन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्ते कागज गरेको पनि आरोप छ।
त्यस्तै उजुरीमा कुलमानको अर्बौंको सम्पत्ति भएको र राज्यले उनीमाथि छानबिन गर्नुपर्ने पनि उल्लेख गरिएको छ।
‘निज कुलमान घिसिङले गरेको अनियमितताबाट नेपाल विद्युत प्राधिकरण र राज्यलाई अर्बौ हानी भएको छ। यस सम्बन्धमा आयोगले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याएर कानुनी राज्य र सुशासनको जग बसाल्न जरुरी छ’ एन्टी करप्सन नेटवर्कका तर्फबाट खरेलले अख्तियारमा दिएको उजुरीमा भनिएको छ।
Leave a Reply