मनमोहन तथा भरतमोहन अधिकारीका सहयोगी तथा संरक्षक स्वर्गीय जदुवीर रसाईली

हिरा विश्वकर्मा १७ फाल्गुन २०७८, मंगलवार ०९:२९

सम्पादकीय नोटः समानता र सामाजिक न्यायका लागि आफ्नो स्थापनाकालदेखि प्रवद्र्धनमा जुटिरहेको दलित अनलाईन डटकमले खास नेपाली समाजभित्रको आवाजविहिनहरुको आवाज उठाइरहेको छ । दलित आन्दोलनमा विगतदेखि वर्तमानसम्मका विशिष्ट योगदान दिएका ज्ञातअज्ञात अग्रजहरुको जीवनी वा समुदायका लागि चालेको संघर्षका गाथालाई हामीले ‘दस्तावेज’स्तम्भ सुरुवात गरेका छौं ।

 

नेपालमा अहिलेसम्म ७ वटा संविधान बनेर कार्यान्वयनमा आईसकेको छ । सातबाट संविधानमध्ये पाँचौं संविधान २०४७ मा पहिलो पटक संविधानले धारा ११ (४) मुताविक छुवाछुतलाई कानुन बमोजिम दण्डनीय हुनेछ भनि घोषणा गरेको थियो । त्यस्तै धारा ११ (३)ले सबै नागरिकहरुलाई समान व्यवहार गरिने तर आर्थिक, सामाजिक तथा शैक्षिक रुपले पिछाडिएको समुदायलाई कानुन बमोजिम विशेष व्यवस्था गरिने छ त्यसलाई विभेद मानिने छैन भनि व्याख्या गरेको छ ।

२०७२ सालको संविधानले धेरै व्यवस्थाहरु दलितका लागि गरेको छ त्यो हुनुमा हाम्रो लामो संघर्ष तथा बलिदानले काम गरेको छ । तर २०४७ सालको संविधानमा त्यो प्रावधान आउनुमा हाम्रो संघर्ष र वलिदान त्यसको कारक तत्व होइन । किन भने २०४६र ०४७ सालको जनआन्दोलनमा तीन जना दलितले साहदत प्राप्त गरेका थिए, तर त्यो शाहदत आन्दोलनका कारणले भन्दा पनि भवितव्यमा परेको घटना थियो । साथै वहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने एक मात्र उद्देश्य बोकेको सो आन्दोलनले दलित लगायत अन्य सीमान्तकृत समुदायहरुको विभिन्न मुद्धाहरु सम्बोधन गर्ने अपेक्षा गरिएको थिएन । तर आन्दोलनको शौभाग्य भन्नु पर्छ पञ्चायतकाल भरि छुवाछुतलाई दण्डनीय हुनुपर्छ र दलितलाई आरक्षण दिनुपर्छ भन्ने मागको संम्बोधन बहुदलीय संविधानले गरेको थियो । आखिर यस्तो किन भने, कुन शक्तिका कारणले गर्दा दलितको प्रखर दबाब र प्रभाव विना पनि सम्वोधन भयो भन्ने प्रश्नको उत्तर हामीमध्ये कमैले खोज्ने गरेका छौं । धरानका विद्रोही दलित नेता स्वर्गीय जदुवीर रसाईलीको जिवानीमार्फत यो प्रश्नको उत्तर केलाउने कोशिस गरिएको छ ।

पञ्चायतकाल भरि छुवाछुतलाई दण्डनीय हुनुपर्छ तथा आरक्षणको व्यवस्था हुनुपर्छ भन्ने माग संसद लगायत विभिन्न मञ्चहरुमा उठाएता पनि निरंकुश व्यवस्थाले त्यसलाई सम्बोधन गरेको थिएन र गर्ने संभावना पनि थिएन । किनभने सक्रिय राजतन्त्रमार्फत २०२० सालको नयाँ मुलुकी ऐन जसमा दण्डको कुनै व्यवस्था थिएन । त्यतिले दलितलाई पुग्छ भन्ने सोच तत्कालिन सत्ताको थियो । त्यसमा अझ आरक्षण त कता हो कता । त्यसका लागि स्वर्गीय टिआर विश्वकर्माले तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा भएको पञ्च भेलामै गलहत्याई खाएका थिए । यस्तो अवस्थामा २०४७ सालको संविधान बनाउनका लागि स्वर्गीय विश्वनाथ उपाध्यायको अध्यक्षतामा राजा, नेपाली कांग्रेस तथा वाममोर्चा सहितको प्रतिनिधित्वमा एउटा कमिटी बनेको थियो । सो कमिटीकामा स्वर्गीय भरतमोहन अधिकारी पनि सदस्य थिए । संविधान मस्यौदा कमिटीले विभिन्न क्षेत्रहरुबाट सुझावहरु संकलन गरिरहेको थियो । त्यसका लागि त्यति बेलाका दलित नेताहरुले समितिमा गएर आफ्ना सुझावहरु राख्न सक्थे तर त्यसो नगरिकन टिआरको अगुवाईमा प्रज्ञा प्रतिष्ठानको ठूलो सभा कक्षमा कार्यक्रमको आयोजना गरियो । कार्यक्रमको सभापतित्व स्वंय टिआरले गरेका थिए । कार्यक्रमका लागि अतिथिको रुपमा तत्कालिन गृहमन्त्री योगप्रसाद उपाध्यायलाई बोलाईएको थियो । अर्का अतिथि थिए, स्वर्गीय भरतमोहन अधिकारी । दलितका सहभागीहरु धेरै थिएनन । प्रज्ञा प्रतिष्ठानको ठूलो सभाकक्षको पहिलो तीन चार लाईनमा अटाउने दलितहरुको उपस्थिति थियो । कार्यक्रममा टिआर लगायतले आफ्ना पुरानै मागहरु छुवाछुतलाई दण्डनीय बनाउने र आरक्षणको व्यवस्था हुनुपर्ने माग दोहोराए ।

कार्यक्रमको बीचमा पनि आउन सक्छन भन्ने आशा गरिएका गृहमन्त्री योगप्रसाद उपाध्याय आएनन । उनले एउटा सानो चिटमा टिआर विश्वकर्मालाई आउन नसक्ने जानकारी पठाए । तर भरतमोहन कार्यक्रम अवधि भर बसे । सभालाई सम्बोधन गर्ने क्रममा भरतमोहनले सभामा उठाईएका मागहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे र पछि संविधान बन्दा माथि उल्लेख गरिएको प्रावधानहरु आए र भरतमोहनले आफ्नो प्रतिवद्धता पुरा गरे ।

०३४र ०३५ साल तर स्वर्गीय टिआर विश्वकर्मा राष्ट्रिय पञ्चायतका राजाबाट मनोनित सदस्य भएका थिए । जनमत संग्रह ०३६ सालमा घोषणा भएर संसद विघटन हुँदा उनको पद पनि गईसकेको थियो । उनी खुलेर आफ्नो पृष्ठभूमी अनुसार कम्युनिष्ट राजनीतिमा पनि लागेका थिएनन । वास्तवमा भन्ने हो भने उनी मनमनमा प्रजातान्त्रिक कम्युनिष्ट तर व्यवहारमा राजावादी, त्यसैले उनको अगुवाईमा भएको कार्यक्रममा भरतमोहन आउनु पर्ने कुनै कारण थिएन । किनभने ०४६/०४७ सालका आन्दोलनकारीका लागि उनी एउटा मञ्च थिए । एउटा पञ्चले अगुवाई गरेको कार्यक्रममा भरतमोहनको उपस्थिति हुनु केवल संयोग मात्र थिएन, वा भरतमोहनले दलितलाई माया गरेर मात्रै आएका थिएनन । आएका थिए त विगतमा अधिकारी दाजुभाईको दलितहरुसँग भएको संगत र उनीहरुले प्रदान गरेको संरक्षण र सहयोग । ती अधिकारी दाजुभाईलाई संरक्षण र सहयोग गर्ने दलितका विद्रोही नेता थिए, धरानका स्वर्गीय जदुवीर रसाईली । जसलाई अहिलेको पुस्ताले नामले पनि चिन्दैन, दलित आन्दोलनका त्यसमा पनि पूर्वतिरका केही नेताहरु पद्यमलाल विश्वकर्मा तथा जीतु गौतमहरुले चिन्दछन तर अरुलाई त थाहा पनि छैन ।

वाग्लुङका भगत सर्वजीत विश्वकर्मालाई हामी सवैले दलित आन्दोलनका भीष्म पितमह मान्छौं । यसमा कसैको दुईमत छैन । तर प्रचारमा नआएका वा हामीले खोज नगरेका जदुवीर रसाईलीको पनि पूर्वमा त्यो पनि धरानमा दलितको अधिकारको क्षेत्रमा कम योगदान छैन । उनको जन्म १९७१ वि. सं मा भएको थियो, उनका वाजे तथा वुवाले धरानको विजयपुर क्षेत्रमा मनग्य सम्पत्ती जोडिदिएका थिए । अत उनलाई खान लाउन कुनै समस्या थिएन तर २००७ साल भन्दा अघिको राणाकालीन समाजमा १९१० को मुलुकी ऐन कडा रुपमा लागु थियो । शिक्षा हासिल गर्न त परको कुरा आफुसँग भएको सम्पत्तीको प्रयोग गरेर राम्रो लुगा पनि लगाएर हिड्न नपाईने, यदि कुनै दलित महिला वा पुरुष राम्रो लुगा तथा गहना लगाएर हिड्यो भने त्यसलाई तत्कालिन सैनिक (राणाकालमा अहिले जस्तो सेना तथा प्रहरी हुँदैनथियो । एउटै सुरक्षा निकायले सेना तथा प्रहरीको काम गथ्र्यो) ले पक्रेर सजाय दिन्थ्यो ।

करिव २००० सालको कुरा हो, जदुवीरकी हजुर आमा नौली भारती जो गिरी पुरी समुदायकी उपल्लो जातकी महिला थिइन र एउटा सुनारसँग विहे गरेकी थिइन् । उनले आफुसँग भएको सम्पत्ती अनुसार गरगहना तथा राम्रो लुगा लगाएर धरानको साप्ताहिक बजार गईछन्, गहनाले झकिझकाउ तथा राम्रो लुगा लगाएकी महिलालाई भीडमा देख्ने वित्तिकै को हुन भन्ने चर्चा त चलि हाल्यो । त्यस्तैमा उनको डाहा गर्ने उनकै छिमेकी उपल्ला जातका व्यक्तिहरुले सुरक्षा निकायमा खबर गरि दिएछन । त्यस पछि उनकी हजुरआमा नौली भारतीलाई थुन्ने स्थिति आयो । तर एउटी तल्लो जातमा झरेकी गिरी पुरी महिलामा समाज तथा कानुनको विरुद्धमा जाने आँट कसरी आयो भन्ने त्यहाँ चर्चा भएछ । चर्चा हुने क्रममा ती महिलामा त्यत्रो आँट आउनुका पछाडि नाति जो अलि विद्रोही स्वभावको जदुवीर भन्ने चर्चा चले छ । अनि उनकी हजुर आमालाई थुन्नुको सट्टा जदुवीरलाई सैनिकहरु पक्राउ गर्ने आए  । पक्राउ गर्दा जदुवीरलाई पाँचप्वाले हतकडी अर्थात नेल जसको एउटा प्वालमा टाउको छिराईन्छ, अर्को दुईटा प्वालमा हात र वाँकी दुईटा प्वालमा खुट्टा । यसरी ठूलो अपराधी जस्तो गरेर २९ वर्षका जदुवीरलाई थुन्न लगिए । त्यति बेलाको कानुन अनुसार उनलाई केही हप्ता जेलमा राखेर छोडिएछ । हुन पनि उनकी हजुरआमालाई गरगहना तथा राम्रो लुगा लगाउन उनले प्रोत्साहित गरेका थिए ।

भरतमोहनले दलितलाई माया गरेर मात्रै आएका थिएनन । आएका थिए त विगतमा अधिकारी दाजुभाईको दलितहरुसँग भएको संगत र उनीहरुले प्रदान गरेको संरक्षण र सहयोग । ती अधिकारी दाजुभाईलाई संरक्षण र सहयोग गर्ने दलितका विद्रोही नेता थिए, धरानका स्वर्गीय जदुवीर रसाईली । जसलाई अहिलेको पुस्ताले नामले पनि चिन्दैन, दलित आन्दोलनका त्यसमा पनि पूर्वतिरका केही नेताहरु पद्यमलाल विश्वकर्मा तथा जीतु गौतमहरुले चिन्दछन तर अरुलाई त थाहा पनि छैन ।

 

यस्तो विद्रोही स्वभावका जदुवीरले त्यसपछि पनि धरान भरि कुनै पनि प्रकारको जातीय छुवाछुतको घटना भएमा पीडितलाई न्याय दिलाउन आफ्नो तर्फवाट कुनै कसर वाँकी राख्दैन थिए । उचाई पनि औसत नेपालीहरुको जस्तो र जिउडालमा सामान्य भएका जदुवीर हठी स्वभाव भएको हुँदा कसैले जातीय विभेद गर्यो भने त्यसमा ठाउँका ठाउँ प्रतिकार गर्ने र धेरै जसो घटना मा पीडकलाई कुट्ने र पिट्ने गर्थे । यसरी विभेदविरुद्ध लड्ने र भिड्ने भएको हुँदा पुरै धरान बजारमा उनलाई उपल्ला जातिका मान्छेहरुले गुण्डाको रुपमा हेर्ने र धेरै जसो डराउने गर्थे ।
यस्तो विद्रोही स्वभावका जदुवीर राजनैतिक रुपले पनि सचेत नहुने कुरा भएन । मनमोहन र भरतमोहन धरान सुनसरीका मान्छेहरु भएको हुँदा जदुवीरसँग चिनजान नहुने कुरा भएन । २००६ सालमा पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पाटीको गठन भयो । तर २००७ सालमा राणा र कांग्रेसको संयुक्त सरकारले कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगायो । यसको मतलव सो पार्टीमा लाग्नेहरुले आफ्ना गतिविधिहरु भूमिगत शैलीमा प्रहरीसँग बचेर गर्नु पर्ने हुन्थ्यो । यस्तोमा मनमोहन र भरतमोहनमार्फत जदुवीरले पनि कम्युनिष्ट पार्टीको सदस्यता लिएर भूमिगत राजनीतिमा सक्रिय भए । धेरै जसो कम्युनिष्ट पार्टीको बैठकहरु उनकै घरमा हुन्थ्यो । उनको आर्थिक हैसियत राम्रो भएको हुँदा बैठकमा आउने सबैलाई राम्रो खातिर दारी गर्थे, अर्थात उनीहरुलाई कुखुरा काटेर खुवाउने देखि लिएर राम्रो आश्रय पनि दिन्थे । धेरै पटक उनको घरमा प्रतिबन्धीत कम्युनिष्ट पार्टीको बैठक हुने भएपछि प्रहरी प्रशासनको नजर पर्ने नै भयो र त्यसमा भाग लिने व्यक्तिहरुलाई धरपकट गर्ने नै भयो । त्यस्तोमा एकपटक त मनमोहन अधिकारीलाई महिलाको साडी लगाई दिएर भगाएका समेत रहेछन ।

कम्युनिष्ट सदस्यको रुपमा मनमोहन र भरतमोहन लगायत डिपी अधिकारीहरु उनको अनन्य मित्र अर्थात कामरेडहरु भएका रहेछन् । त्यस्तै उनकै सकृयातामा स्वर्गीय हिरालाल तथा टिआर विश्वकर्माहरु जो जदुवीरका फुपुतिरका भाईहरु थिए उनीहरुलाई पनि राजनीतिमा ल्याउने मात्र होइन उनीहरुको शिक्षा दिक्षामा समेत सहयोग पुर्याएका थिए । धरान विजयपुरको स्कूलमा उनीहरु पढ्न जान्थे, पढ्न जाँदा कक्षा कोठाभित्र बस्न पाईदैनथियो, घरवाट आफ्नै गुन्द्री वा दरी लिएर जानु पथ्र्यो । यस्तो विभेद देखे पछि विद्यालयमा हुने विभेदको विरुद्धमा उनकै नेतृत्वमा आन्दोलन समेत गरे छन र हिरालाल तथा टिआरलाई कक्षा कोठामा बसेर पढ्ने वातावारण मिलाई दिएछन् ।

राजाले २०१७ सालमा विपि कोईरालाको नेतृत्वमा भएको प्रजातान्त्रिक सरकारलाई कु गरेर पञ्चायती व्यवस्था लागु गरे । पञ्चायती व्यवस्थालाई चलाउन तथा टिकाउन उनलाई राजनैतिक नेताहरुको आवश्यक्ता पथ्र्यो । राजाले तत्कालिन कांग्रेस तथा कम्युनिष्ट नेताहरुलाई आफ्नो साथमा लिएर शासन चलाउने रणनीति अपनाएका थिए । कम्युनिष्ट पार्टीमा सक्रिय नेता भएका कारणले गर्दा दरबारले उनलाई पनि पञ्चायतमा लाग्न अनुरोध गरेको रहेछ । तर उनी एउटा निष्ठावान खाँटी कम्युनिष्ट नेता भएको कारणले गर्दा पञ्चायतमा पस्ने मन गरेनछन् ।

त्यसको सट्टा उनले हिरालाल र टिआरलाई अगाडि सारि दिएछन जसको फलस्वरुप यी विश्वकर्मा दाजुभाईहरु काठमाडौं छिरे र पछि दरबारले उनीहरुलाई पत्यायर विभिन्न पदहरु दियो । संभवतः यिनै जदुवीर रसाईलीले लगाएको गुन तिर्नको लागि भरतमोहनले दलितका लागि संवैधानिक व्यवस्था गर्न पहल गरे । त्यति मात्र होइन २०५१ सालमा उनी अर्थमन्त्री भएको बेलामा दलितलाई पहिलो पटक रु ५० को प्राथमिक विद्यालयमा पढ्नको लागि छात्रवृत्ति दियो । अतः स्वर्गीय जदुवीर जस्ता त्यागी र निष्ठावान दलित नेताहरुको कारणले गर्दा समग्र दलितले इतिहासको विभिन्न कालखण्डहरुमा केही व्यवस्था तथा अवसरहरु पाएको देखिन्छ । यस्ता ओझेलमा परेका दलित अग्रजहरुलाई नमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank