समाजवादी क्रान्तिका लागि आधारसहितको वातावरण तयार : प्रचण्ड

दलित अनलाईन २२ श्रावण २०८१, मंगलवार १७:५९

विराटनगर—  पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधारसहितको वातावरण तयार भएको भन्दै समाजवादी क्रान्तिका लागि सक्रिय रुपले लागिपर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

मंगलबार विराटनगरमा प्रदेशस्तरीय पूर्ण बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामहरु र एमाले–कांग्रेस गठबन्धनले गर्न थालेका नराम्रा कामहरुले समाजवादी क्रान्तिको आधारसहित वातावरण तयार भएको दाबी गरे। दलाल, विचौलिया पुँजिपति र भ्रष्टाचारीविरुद्ध आफूहरुले धेरै राम्रा काम गरिरहेको  समयमा सरकार छाडनु परेको दाबी गर्दै प्रचण्डले सम्बोधन भइनसकेका जनताका एजेण्डाहरु आफूहरुसँगै भएकाले पनि समाजवादी क्रान्तिका लागि उपयुक्त आधार तयार भएको बताए।


माओवादीले सदनमा मुख्य प्रतिपक्षी बनेर जनताका आवाज घन्काउने बताउँदै उनले सडकबाट पनि जनतालाई वास्तविकता बुझाएर समाजवादी क्रान्ति सम्पन्न गर्न सकिने उल्लेख गरे। ‘कमरेडहरु हामी धेरै भौँतारिएर बल्ल मूलबाटोमा आइपुगेका छौँ। अब एक ढिक्का भएर समाजवादी क्रान्ति सम्पन्न गर्न लागिपर्नु  पर्छ,’ उनले भने।

बजेटको तोडमोड, इमान्दार कर्मचारी सरुवा, बिजुलीको बक्यौतामा भ्रष्टाचार तथा संघीय कर्मचारी ऐन र प्रहरी ऐनकाबारे  सदनदेखी सडकसम्म आवाज उठाउनुपर्नेमा प्रचण्डले जोड दिए। अबको समय दलालविरुद्ध भएकाले सुरक्षा जोखिम उच्च हुने भन्दै उनले समाजवादीहरुको एकता अझै बलियो बनाउनपर्नेमा जोड दिए।

दलाल पुँजीपतिहरुसँग सम्बन्धविच्छेद गरेर जनतासँगको सम्बन्ध प्रगाढ बनाएर समाजवादी क्रान्ति सम्पन्न गर्ने उपयुक्त मोड आइपुगेको दाबी गर्दै प्रचण्डले संकल्पसहित बिद्रोहमा होमिन कार्यकर्ताहरुलाई निर्देशन गरे। माओवादीले सरकारका लागि मरिहत्ते गरी चलखेल नगर्ने भन्दै उनले सरकारले खोेज्दै आएमा पनि आफू प्रधानमन्त्री नबन्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank