काठमाडौँ — चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले अध्ययन समितिको प्रतिवेदनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, ‘त्रिशुलीमा भएको बस दुर्घटनाबारे छलफल गर्न बनेको समितिको प्रतिवेदन प्राप्त भएको छ। प्रतिवेदनलाई पनि अध्ययन गरेर यसमा उल्लेख भएका जतिपनि सुझावहरु छन्, तिनीहरुलाई सम्बन्धित निकायलाई पठाउने र त्यसको कार्यान्वयन गराइने छ। मन्त्रालयले गर्नुपर्ने सुझावहरुलाई पनि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्न चहान्छु।’
यस्तै, उनले सडक दुर्घटना एकदमै संवेदनशील विषय भएको भन्दै यस्ता किसिमका दुर्घटनाहरु न्यूनीकरण गर्न सरकार सबै उपायहरु अवलम्बन गर्न तयार रहेको पनि बताए।
‘सडक दुर्घटना एकदमै संवेदनशील विषय हो। जन र धन दुवैको क्षति हुने गरेको छ। घटनाबारे अध्ययन समितिले बनाएको प्रतिवेदन प्राप्त भएको छ। सडक दुर्घटना रोक्नुपर्छ। यसका लागि उचित उपायहरु अवलम्बन गर्नुपर्छ भनेर पहिलो पटक समिति नै बनाएर अध्ययन गरेका छौँ। यस्ता किसिमका दुर्घटनाहरु न्यूनीकरण गर्न आवश्यक छ। घटना नहुने सुनिश्चितता गर्न आवश्यक छ। यसका लागि सरकारले सबै उपायहरु अवलम्बन गर्ने छ’, उनले भने।
Leave a Reply