काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिन्दगीमा कहिल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका छन्।
मंगलबार सिंहदरबारमा बसेकोराज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राज्यको सम्पत्ति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिने भन्दै उनले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका हुन्।
उनले भने, ‘यस समितिसमक्ष म स्पष्ट पार्न चाहन्छु। मैले पहिले पनि जिन्दगीमा कहिल्यै भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार सहन्न पनि मेरो नजर बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो। राजनीतिक रुपमा कुरा उठाउनु हिलो छ्याप्नु छुट्टै कुरा हो। म दावाकासाथ भन्छु। यो धर्तिको अदालतमा मात्र होइन, चित्रगुफ अगाडि पनि म जवाफ दिन सक्छु। मलाई धन आर्जन गर्नु छैन। राज्यको सम्पत्ति अपचलन गरेर आफ्नो बनाउन मेरो नौतिकताले पनि दिँदैन।’
प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम कदापी नगर्ने पनि बताए।
‘भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज गर्दैन। कसैले कसुर गर्यो भने मुख हेरेर अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले गर्दैन। अर्को कुरा अहिलेको सरकार प्रतिशोधका लागि होइन, अर्थतन्त्रमा र समाज सुधार एवम विकासको गति ल्याउनको लागि हो। त्यसैले यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने कसैप्रति अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा कसैलाई दुःख दिने खालको काम पनि गर्दैन। कसैले भ्रष्टाचार गर्यो भने अनुहार पनि हेरिर्दैन। कोही उम्किन पनि पाउँदैन’, उनले भने।
उनले कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भनेर तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको पनि उनले बताए।
Leave a Reply