सुर्खेत दुर्घटना: भारतमा रोजगारी गरेर फर्किंदै गरेका बाबु-छोराकै मृत्यु, गाउँ नै शोकमा

दलित अनलाईन १७ जेष्ठ २०८१, बिहीबार ११:५९

काठमाडौँ — आज बिहान सुर्खेतमा जिप दुर्घटना हुँदा मृत्यु भएका चार जनाकै सनाखत भएको छ। मृतक चारमध्ये दुई जना बाबुछोरा हुन्।

मृतक सबै भारतबाट रोजगारी गरेर फर्किँदै गरेका मजदुर भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।  सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप आज बिहान करिब ४ बजे सुर्खेत दैलेख सडक खण्डमा पर्ने वीरेन्द्रनगर-१४ स्थित रातानाङलामा दुर्घटनामा परेको हो।

दुर्घटनामा ज्यान गुमाउनेमा कालिकोटको शुभ कालिका गाउँपालिका- ३ का ४० वर्षीय तन्त बिक, उनका छोरा १७ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ३८ वर्षीय महेन्द्र शाही र २७ वर्षीय नवराज विक छन्।

शुभकालिका गाउँपालिकाका कर्मचारीसमेत रहेका स्थानीय तिलकबहादुर शाहीले दुर्घटनामा एकै गाउँका चार जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको बताए।

‘मृतक सबै मजदुर हुन्। उनीहरु सबै भारतमा काम गरेर घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्,’ शाहीले भने, ‘दुर्घटनामा शुभकालिका- ३ कै २८ वर्षीय नरी विक गम्भीर घाइते भएका छन्।’

जिप चालक कालिकोटकै खाँडाचक्र नगरपालिकाका २५ वर्षीय नरेन्द्र विष्ट पनि दुर्घटनामा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। दुवै घाइतेको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।  जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank