मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य

दलित अनलाईन २५ बैशाख २०८१, मंगलवार ११:२६

काठमाडौँ — नयाँ दल दर्ता भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारूढ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रिपरिषद् पुनर्गठनको छलफल अगाडि बढाएका छन् ।

सत्तारूढ माओवादी केन्द्रका एक उच्च नेताका अनुसार अशोक राई नेतृत्वको नयाँ दललाई सरकारमा सामेल गराउन उपेन्द्र यादव र दीपक कार्कीलाई बर्खास्त गर्ने विकल्पमा छलफल भइरहेको छ । यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र कार्की वन राज्यमन्त्री छन् ।

वनमन्त्री नवलकिशोर साह सुडी नयाँ दलमा लागेका छन् । सरकारका एक मन्त्री उपेन्द्रको आगामी कदमका आधारमा मन्त्रिपरिषद् पुनर्गठनको कोर्स अगाडि बढ्ने बताउँछन् । ती मन्त्रीले भने, ‘नयाँ दल आएपछि स्वाभाविक रूपमा मन्त्रिमण्डल फेरबदल हुन्छ । अब उपेन्द्र यादवले के स्टेप लिन्छन्, त्यसका आधारमा निर्णय हुन्छ ।’ तर, नयाँ दल जसपाका उपमहासचिव प्रदीप यादवका अनुसार सोमबार बसेको पार्टीको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने औपचारिक निर्णय गरेको छ ।

राई नेतृत्वको जसपाबाट प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो र रन्जु झा मन्त्री बन्ने लाइनमा छन् । माधव नेपाल सरकारबाट बाहिरिए चारैजना मन्त्री बन्नेछन् भने नागरिक उन्मुक्तिबाट एकजना मन्त्री बन्नेछन् ।

एकीकृत समाजवादी सरकारमै रहे जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री बनाउने गरी छलफल अघि बढेको नेताहरू बताउँछन् । सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् पुनर्गठनबारे अहिले नै कुनै छलफल नभएको बताइन् । ‘उहाँहरूले सरकारलाई समर्थन गर्ने कुरा स्वागतयोग्य छ । तर, सरकारमै सहभागी गराउने कुरा भएको छैन । सहभागी गराउन मन्त्रीको सिट पनि खाली छैन,’ उनले भनिन्, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल भइसकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank