काठमाडौं — गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएका थिए ।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका झन्डै ९५ हजार ७८७ घर भत्किएका थिए । ३ महिनाअघि गएको भूकम्पबाट झन्डै १ लाख हाराहारी परिवार प्रभावित भए पनि उनीहरूको घर पुनर्निर्माणका लागि सरकारी सहयोग भने अनिश्चित बनेको छ । पुनर्निर्माणसम्बन्धी कार्यविधि नै कहिले बन्छ भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।
सरकारले अस्थायी आवास निर्माण लगायत भूकम्प प्रभावित क्षेत्रमा काम गर्नका लागि १० अर्ब रुपैयाँ विपद् जोखिम न्यूनीकरण कोषमा निकासा गर्ने निर्णय गरे पनि हालसम्म १ अर्ब मात्र निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मन्त्रीपरिषद्ले १० अर्ब रुपैयाँ दिने निर्णय गरे पनि हालसम्म १ अर्ब मात्र दिएको र बाँकी रकम विपद् व्यवस्थापन कोषमा ल्याउनका लागि दैनिक जसो २ जना सहसचिव अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालय धाउने गरेको बताएका छन् । गत पुस १ गते १ अर्ब रुपैयाँ निकासा भए पनि अरू पैसा निकासा नभएको उनले बताए ।
भूकम्पले ९६ हजार हाराहारी घर भत्काए पनि यी मध्ये हाल १० हजार ३०५ अस्थायी आवास निर्माण भइरहेको छ भने २० हजार १४७ वटा निर्माण सम्पन्न भएका छन् ।
विपद् व्यवस्थापन प्राधिकरणले हालसम्म २ अर्ब २६ करोड रकम ति जिल्लामा निकासा गरेको छ । जसमध्ये जिल्लाबाट स्थानीय तहमा १ अर्ब ६१ करोड निकासा भएको छ भने स्थानीय तहबाट लाभग्राहीको खातामा १ अर्ब ३ करोड ८१ लाख निकासा भएको छ ।
पुनर्निर्माण कार्यक्रम अगाडि बढाउनका लागि प्रशासनिक कर्मचारीको अभाव र भएका कर्मचारीले पनि जिम्मेवारी लिन नचाहने, प्राविधिक कर्मचारीहरूको अभाव रहेको प्राधिकरणको भनाइ छ ।
पुनर्निर्माणका लागि ६६ अर्ब ४० करोड, ५४ लाख लाग्ने अनुमान
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोट र रुकुम लगायत पछिल्लो भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुर्निर्माण तथा पुनर्स्थापना लगायतका काम गर्न झन्डै ५ सय मिलियन डलर अर्थात् ६६ अर्ब ४० करोड, ५४ लाख लाग्ने पूर्व अनुमान गरिएको छ ।
भूकम्पबाट ९५ हजार ७८७ घरमा क्षति पुगेको छ । यी घर पुनर्निर्माणका लागि प्रति घर झन्डै ५ लाख रुपैयाँ अनुदान दिँदा ५२ अर्ब ४२ करोड ७ लाख लाग्ने पूर्व अनुमान गरिएको छ ।
पुनर्स्थापनाका लागि २८ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएको छ । यस्तै पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पूर्वाधार तर्फ २८ करोड ९२ लाख रुपैयाँ अनुमानित गरिएको छ । स्थानीय स्रोत सामग्री प्रयोग थप प्रोत्साहनका लागि २४ करोड ११ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस्तै पुनर्निर्माणसँग सम्बन्धी अन्य विभिन्न विषयमा खर्च हुने प्राधिकरणले पहिचान गरेको छ । स्कुल, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, पुल, खानेपानी लगायत पुनर्निर्माणका लागि ठुलो धनराशि खर्च हुने अनुमान गरिए पनि पूर्ण लागतको स्रोत सुनिश्चितता भइसकेको छैन ।
भूकम्पले भत्काएका व्यक्तिका घर पुनर्निर्माणका लागि स्थानीय तहको नेतृत्वमा गराउने तयारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । स्थानीय स्रोत साधनलाई प्राथमिकता दिएर घर बनाउन प्रोत्साहन गरिने उनको भनाइ छ । पुनर्निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहले भूमिका निर्वाह गर्ने उनले बताए ।
जाजरकोटमा भूकम्प जानुअघि बझाङमा ५ दशमलव ३ म्याग्निच्युड र ६ दशमलव ४ म्याग्निच्युडका दुई भूकम्प गएको थियो । यो भूकम्पमा परी १ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । उक्त भूकम्पमा क्षति भएका घरहरूको पनि पुनर्निर्माणको काम अघि बढेको छैन ।
Leave a Reply