दलित अनलाईन

हलिया पुनर्स्थापना : कागलाई बेल पाक्यो हर्ष न बिस्मात

दलित अनलाइन माघ १७, २०७५

सबै नागरिकको हैसियत समान हो भने त्यसको झल्को उत्पीडित समुदायको जीवनमा झल्किनुपर्छ

 

अनुहारभरि चाउरी परेर उमेर नपुग्दै बुढो देखिएका ४५ वर्षीय गणेश लुहार मुक्त हलिया हुन् । उनले न हलियाको परिचयपत्र पाएका छन्, न पुनस्र्थापना कार्यक्रम, न मालिकको घरमा काम । २१ भदौ २०६५ देखि सरकारले हलिया प्रथा अन्त्य भएको घोषणा ग-यो । त्यसको दुई वर्षपछि शान्ति तथा पुनस्र्थापना मन्त्रालयमार्फत हलियाको तथ्यांक संकलन गरियो । सुदूरपश्चिमका ९ र मध्यपश्चिमका ३ गरी १२ जिल्लाको हलियाको तथ्यांक संकलन गरिएको थियो । तर, कतिपय हलियाको संकलित लगतमा नामै अटाउन सकेन ।

बैतडी जिल्लामै झन्डै ५ देखि ६ हजार हलियाको नाम तथ्यांकमा नसमेटिकन लगत तयार पारियो । बैतडीमा २ हजार २२ जनालाई प्रमाणीकरण गरी परिचयपत्र दिई पुनस्र्थापना गर्नुपर्ने गरी वर्गीकरण गरिएको छ । घर मरम्मत गर्न १ लाख २५ हजार, जग्गा खरिद गर्न २ लाख ५० हजार, घर निर्माणका लागि ३ लाख ५० हजार रुपैयाँ दिइएको छ । जबकि त्यति रकमले उनीहरूको जीवनमा कता टाल्ने भन्ने संकट जस्ताको तस्तै छ । आर्थिक वर्ष ०७५ सम्म आइपुग्दा सरकारको हलियामुक्ति घोषणा कागलाई बेल पाक्यो हर्ष न बिस्मातमा परिणत भएको छ ।

जसको हातमा परिचयपत्र छ, तिनलाई कुनै सहुलियत छैन । पूर्वहलियाको साधारण कुरा छ– ‘यो परिचयपत्रले न गाडीभाडा दिँदा काम गर्छ न यो राखेर कुनै भत्ता पाइन्छ ।’ हुन पनि सरकारी प्रतिवेदनमा मुक्त भनिएका मुक्त हलियाको जीवन झनै कष्टकर बन्दै गएको छ । यो अवस्था झनै जटिल र कष्टकर त्यति वेला भइदिन्छ जतिवेला उनीहरू कुनै गर्जो टार्न साहुकोमा ऋण समेत पाउँदैनन् । काम माग्न गए साहुहरू ‘सरकारले काम देला नि’ भनेर ठाडो बोली लगाउँछन् ।

दैनिक ढुंगा, माटो, गिटी बोकेर आफ्नो जीविका चलाउन बाध्य छन् । त्यो ज्यालाले बिहान–बेलुका पेट भर्नसमेत मुस्किल पर्ने गर्छ । यसैका बीच आफ्ना केटाकेटीलाई शिक्षा, स्वास्थ्यको जिम्मेवारी उनीहरूले कसरी पूरा गर्लान् भन्नेतर्फ सरकारले सोचेको अहिलेसम्मको अवस्थाले झल्को समेत दिँदैन । परिवारको जिम्मेवारीले थिचिएर ‘मुक्त’ भनिएका हलिया बाध्य भएर भारततर्फ मजदुरी गर्न जान्छन् ।

सरकारी प्रतिवेदनमा मुक्त भनिएका मुक्त हलियाको जीवन झनै कष्टकर बन्दै गएको छ । यो अवस्था झनै जटिल र कष्टकर त्यतिवेला भइदिन्छ, जतिवेला उनीहरू कुनै गर्जो टार्न साहुकोमा ऋणसमेत पाउँदैनन् । काम माग्न गए साहुहरू ‘सरकारले काम देला नि’ भनेर ठाडो बोली लगाउँछन् ।

दशरथ चन्द नगरपालिका गुरुखोलाका एक हलियाले परिचयपत्र लिन आउनका लागि साहुबाट लिएको १ हजार ऋणको पीडा कसरी बिर्सने ? उनी आफू मुक्त भएकोमा खुसी हुने कि ऋण थपिएको चिन्तित ? त्यस्तै दुर्गा भवानी गाउँपालिका–२ बस्ने पार्वती लोहारलाई संघीय तथा प्रदेश सभाको निर्वाचनमा भाग लिएर मतदान गरे जीवन फेरिन्छ भनेर आशा देखाइएको थियो ।

उनले पनि अब त पक्कै आफ्नो जीवन फेरिन्छ भन्ने आशा गरिन् । तर, उनी अहिले के सोच्छिन् भनेर के कुनै जनप्रतिनिधिले उनलाई सोधे ? अथवा सरकारले उनका बारे सोचेर उनको जीवनमा परिवर्तन ल्याउन केही ठोस कदम चाल्यो ? सजिलै भन्न सकिने अवस्था छैन । यस्ता अनगिन्ती अदृश्य पीडाबाट उनीहरूको दैनिक घस्रिरहेको छ । श्रीकोट–७ की सुन्दरी भुल जसका श्रीमान्ले जीवनको ऊर्जाशील समय साहुकोमा काम गरेर बिताए र अहिले ८० वर्षमा पुगे ।

उनैको काँधमा नातिनातिनी, बुहारीसहित ७ जनाको भरणपोषणको जिम्मेवारी छ । काम गर्ने छोराको मृत्यु गाडीले कुल्चिएर भयो र सामाजिक सुरक्षाविना जसको जीवनको कुनै टुंगो छैन, उनीहरूले आफ्नो आत्मसम्मानबारे सोच्ने कि भर्खरै के खाने भनेर सोच्ने ? उत्पीडित नागरिकले आफ्नाबारे आफैँ सोच्ने हो कि त्यसमा सरकारको पनि जिम्मेवारी हुन्छ ? भूमिहीनताले श्रम गर्न न उनीहरूसँग जमिन छ । न त दुर्बल आर्थिक अवस्थाले उनीहरूसँग ओत लाग्ने छानो । उनीहरू आफ्नो टहरो र सीप फलाउन सक्ने माटो खोजिरहेका छन् ।

सामाजिक, सांस्कृतिक, आर्थिक र जातीय विभेदबाट ग्रसित समाजमा उनीहरूले टाउको उठाउने ठाउँ पाइरहेका छैनन् । २१औँ शताब्दीको यो दशकमा उनीहरू निरीह र नारकीय जीवन जिउन बाध्य छन्, तर, उनीहरूको समस्या सम्बोधन कसले गर्ने ? बोल्नुपर्नेहरू मौन छन् । दास प्रथासरहको यो अवस्थामा परिवर्तन ल्याउन सरकारले गरेको पहललाई सकारात्मक रूपमा लिइए पनि त्यसका अन्य आयामबारे के सरकारले सोच्नुपर्ने होइन ?

५० रुपैयाँ ऋण लिएबापत आजीवन दास मजदुरसरह हलिया बन्न बाध्यको जीवनले नयाँ आयाम लिने भयो भनेर हामी प्रफुल्लित भयौँ, तर वर्तमान अवस्थामा उनीहरूको अवस्था देखेर न त हामी खुसी हुन सक्छौँ न बोल्न नै । त्यसमा सामाजिक वर्णाश्रममा आधारित व्यवस्थामा अधिकांश हलियाहरू दलित रहेका छन् । आर्थिक रूपमा विपन्न त्यस्तो उत्पीडित समुदायको अवस्थाको जिम्मेवार उनीहरू स्वयं हुन् अथवा हामी भनेर कहिल्यै पनि राजनीतिक वृत्तमा गम्भीर छलफल हुन सकेन ।

एउटा देशका लागि त्यहाँ बसोवास गर्ने सबै नागरिकको हैसियत समान हो भने त्यसको झल्को उत्पीडित समुदायको जीवनमा झल्किनुपर्छ न कि सत्ता र शक्तिको पहुँचमा भएकाको जीवनमा । हलियाको जीवन एउटा मानिसको जीवन हो । त्यसैले राज्यले हलियाको मुक्ति भनेर मात्र हुँदैन । उनीहरूको जीवनलाई आमनागरिकसरह बनाउन राज्य सक्रिय हुनैपर्छ ।

(यो लेख नयाँ पत्रिका दैनिकबाट जस्ताको तस्तै साभार गरिएको हो ।)

लेखक बैतडीकी अधिकारकर्मी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank