विभेदविरुद्ध आवाज उठाए न्याय पाइन्छ : मैयाँ नेपाली

दलित अनलाईन ९ मंसिर २०८०, शनिबार ०८:५१

काठमाडौँ —   जातीय दुर्व्यवहार तथा छुवाछुतसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले गरेको फैसलाबाट पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैयाँ नेपाली दङदास छन्।

कास्की जिल्ला अदालतको फैसलाको विषयलाई लिएर संयुक्त दलित संघर्ष समिति कास्कीले (शुक्रबार) आयोजना गरेको पत्रकार सम्मेलनमा वडा सदस्य नेपालीले उक्त मुद्दामा आफूले न्याय पाएको बताइन्।

पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले जातीय दुर्व्यवहार गरेको भन्दै वडासदस्य नेपालीले २०७९ पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन्।

पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना र १० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।

वडासदस्य मैयाका अनुसार गत आर्थिक वर्षमा वडाले लक्षित वर्गका लागि छुट्याएको ५ लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये ४ लाख रुपैयाँ महिला र १ लाख रुपैयाँ दलितका लागि विनियोजन गरिएको थियो ।

महिलाका लागि छुट्याइएको बजेटमा वडाध्यक्ष अधिकारीले प्रशिक्षणका नाममा मनोमानी ढंगले वितरण गरेपछि वडासदस्यहरुले विरोध गरेका थिए । त्यही विरोध गर्ने क्रममा अधिकारीले आफूलाई सार्वजनिक कार्यक्रममै विभेदजन्य अपशब्द प्रयोग गर्दै तथानाम थाली गरेको उनको दाबी छ ।

पहिल्यैबाट पटकपटक जातीय विभेदजन्य गालीगलौज सहदै आएकी मैया त्यस दिन भने अचाक्ली भयो । उनले सहन सकिनन् । सुरुमा ‘नबोलेरै जित्छु’ भन्ने सोचेकी मैयाले त्यसपछि भने कानुनी उपचार खोज्ने निर्णयमा पुगिन् । जनप्रतिनिधि भएर जिम्मेवारीमा आएसँगै आफूलाई ‘ठेस’ लागेको उनी बताउँछिन् ।

‘त्यतिबेला यसैका लागि राजनीति गरेको हो भने किन खेपेर बस्ने भन्ने भयो । मै चुप लागेर बसें भने अरुले के गर्लान् भन्ने भयो’, मैयाँले केही समय अघि अनलाइनखबरसँग भनेकी थिएन्, ‘म त हिजोका जुन भोग्दै आएँ, आजसम्म पनि मेरो समाजले त भोग्दै आएको छ । बद्लिएको त छैन । अब चुप लागेर बस्नुहुँदैन भनेर आवाज उठाएँ ।’

मैयाले वडाध्यक्षले आफूलाई जातीय विभेद गरेको भन्दै उजुरी हालिन् । उनले ०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारीविरुद्ध जातिय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता गराएकी थिइन् ।

‘सुरुमा त डर पनि लागेको हो । तर, अरु जनप्रतिनिधि आफ्नै पार्टी सबैले साथ, सहयोग र ढाडस दिएपछि भने मलाई आँट आयो,’ मैया भन्छिन्, ‘केहीले उल्टै मेरै विरोध नगरेका पनि होइनन् ।’ तर, उजुरी हाल्न पनि उनले पापड बेल्नुपर्यो‍ । वडाध्यक्षविरुद्ध विद्रोह गरेकी उनको मुद्दा लिन कोही पनि तयार भएनन् ।

‘हामीहरुले वकिल खोज्दै गर्दा एकजना पनि गैरदलित वकिलले हाम्रो यो मुद्दालाई म गर्छु भनेर नआएको अवस्था थियो,’ शुक्रबारको पत्रकार सम्मेलनमा उनले भनिन् ।

मैयाले उजुरी दिएपछि वडाध्यक्ष अधिकारी पक्राउ परे । उजुरी दिइसकेपछि पनि आफू एक्लिने हो कि भन्ने भयले नछाडेको उनी सुनाउँछिन् ।

‘कताकता एक्लिएकी पो हुँ कि भन्ने पनि भएको थियो । कहिलेकाहीं यतिमै बिलाउने पो हुँ कि भन्ने पनि भयो,’ भन्छिन्, ‘हुँदै गर्दा पनि एउटा बाटो हिँडिसकेपछि म डग्मगाउनु हुँदैन भन्ने लाग्यो । यसैले गर्दा आज मैलेमात्रै होइन, सिंगो समुदायले नै न्याय पाएको महसुस भइराखेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank