बचतकर्तालाई घर जग्गा हस्तान्तरण गर्छु : देवकुमार नेपाली

दलित अनलाईन ६ मंसिर २०८०, बुधबार १०:३३

काठमाडौँ — पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का अध्यक्ष देवकुमार नेपालीले आफ्नो व्यक्तिगत सम्पत्ति बचतकर्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन्।

मंगलबार साँझ फेसबुक लाइभ आएर विज्ञप्ति जारी गर्दै उनले आफ्नो व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्दै सहकारीका बचतकर्तालाई सम्पत्ति हस्तान्तरण गर्ने बताएका हुन्। पोखरा र बागलुङमा गरी सहकारीमार्फत २ अर्ब बढी ठगी आरोप लागेका नेपाली ६ महिना अघिदेखि ‘फरार’ छन्।

बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट दोस्रो पटक मेयर जितेका नेपालीले विज्ञप्तिमा आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएकाले घरबाहिर बस्न बाध्य भएको बताएका छन्। विज्ञप्तिमा कसले उनलाई यस्तो धम्की दियो भन्नेबारे खुलाएका छैनन्।

‘६ लाख बचत भएका व्यक्तिहरूले ५ करोडको घर जग्गा मेरो नाममा पास गरिदिन भनेर दबाब दिएका कारणले म केही समयको लागि घरबाहिर बस्न बाध्य भएँ,’ उनले विज्ञप्तिमा भनेका छन्।

खातामा १० हजार हुनेले १० लाखको निवेदन दिएको र ५० लाख फिक्स्डमा भएकाले ९० प्रतिशत कर्जामार्फत् फिर्ता लगेर पनि ५० लाखकै दाबी गरेको भन्दै उनले २ अर्ब डिपोजिट हल्ला भएको दाबी गरेका छन्। कर्मचारीले मनोमानी तरिकाले कर्जा लगानी गरेर आफूहरूमाथि दोष लगाएको पनि उनको आरोप छ।

सहकारीको बचत फिर्ता गर्न आफूले ६ महिनाको समय माग्दासमेत बचतकर्ता पर्खन नसकेको, धम्की दिएको र केही बचतकर्ताले मुद्दा हालेकाले बाहिर निस्केर काम गर्न नसकेको उनले जिकिर गरेका छन्।

विज्ञप्तिमार्फत् आफ्नो र श्रीमती छेला नेपालीका नाममा रहेका घर जग्गा विवरण सार्वजनिक गर्दै उनले बचतकर्तालाई उक्त सम्पत्ति हस्तान्तरण गर्ने र यसका लागि वातावरण मिलाइदिन पनि अनुरोध गरेका छन्।

विज्ञप्तिमा उल्लेख भए अनुसार नेपालीले बुर्तिबाङ, बागलुङ बजार, पोखरा र काठमाडौंमा गरी ४५ कित्ता जमिन र १८ वटा घर भएको उल्लेख गरेका छन्।

घर जग्गा विवरणमा उनले बुर्तिबाङमा २९ वटा कित्ता जग्गा रहेको र ३ वटा होटल रहेको बताएका छन्। बुर्तिबाङमा ८ तला अग्लो होटल दरबार, ४ तलाको मिनी होटल दरबार र ४ तलाकै होटल दरबार रेष्टुरेण्ट रहेको उल्लेख गरेका छन्।

यस्तै, बागलुङ बजारमा ४ वटा कित्ता जग्गा र २ वटा भवन रहेको बताएका छन्। बागलुङ बजारमा रहेको कर्म कम्प्लेक्स ६ तला र मिनी कर्म कम्प्लेक्स ५ तलाको भवन रहेको उल्लेख गरेका छन्।

विज्ञप्ति अनुसार पोखरामा ६ कित्ता जमिन रहेको र ३ वटा भवन रहेको बताएका छन्।

पोखराको सिर्जनाचोकमा कर्म कम्प्लेक्स ९ तला, शिवालय चोकमा ५ तला र पृथ्वीचोकमा घर भएको पनि उनले बताएका छन्।

काठमाडौंमा ५ कित्ता जमिन र ६ वटा भवन रहेको उनले बताएका छन्। काठमाडौंको सुकेधारामा सानिमा बैंक भएको घरसहित ४ वटा घर, सुकेधारामै बजाज शोरुम भएको घर र सुकेधारामा कर्म कम्प्लेक्स रहेको उनले बताएका छन्।

‘सहकारीको समस्या समाधान नर्ग मेरो र मेरो श्रीमतीको नाममा भएका घर जग्गा विभिन्न मालपोत  कार्यालयमा गई हस्तान्तरण गर्न चाहन्छु, हस्तान्तरणको वातावरण मिलाइदिनुहुन सरोकारवाला ज्युहरूलाई अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्।

पोखरा र बागलुङमा छुट्टाछुट्टै सहकारी खोलेर २ अर्ब बढी रकम अपचलन गरेको उनलाई आरोप छ। दुबै ठाउँमा खोलिएका एउटै नामको सहकारीका अध्यक्ष नेपाली नै बसेका थिए।

बागलुङका सहकारी पीडितले दिएका निवदेनका आधारमा १ हजार ४ सय ८१ जना बचतकर्ताको १ अर्ब ३० करोड ठगी आरोप लागेको छ। उक्त मुद्दा अहिले जिल्ला अदालत बागलुङमा विचाराधीन छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank