नेपाल लगानी योग्य छ :  प्रधानमन्त्री प्रचण्ड

दलित अनलाईन ८ आश्विन २०८०, सोमबार ०९:४७

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङसँग दुई देशबीचको सम्बन्ध र सहकार्यबारे खुलेर छलफल गरेको बताएका छन्। बेइजिङस्थित नेपाली दूतावासमा आइतबार आयोजित कार्यक्रममा उनले आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको बताए।

‘चीनका महामहिम राष्ट्रपतिसँगको भेटबाट म निकै उत्साहित छु,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपाल–चीन सम्बन्ध र सहकार्यका विषयमा खुलेर कुराकानी भएको छ।’ प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच शुक्रबार हाङ्चाओमा दुई पक्षीय र एक्लाएक्लै भेटवार्ता भएको थियो।

चिनियाँ समकक्षी ली छियाङलगायतसँग भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल हाङ्चाओबाट बेइजिङ आइपुगेका हुन्। आफ्नो भ्रमणले नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धमा नयाँ आयाम थपेको प्रधानमन्त्री दाहालले बताए।

चिनियाँ राष्ट्रपति सीसँग नेपालको विकासका लागि सहयोगका साथै नयाँ क्षेत्रहरूमा लगानी गर्न आग्रह गरिएको प्रधानमन्त्री दाहालले बताए। कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा आदि विषयमा सहयोग आदानप्रदान हुने र यसबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे। नेपालको विकासका लागि सरकारको एकल प्रयासमात्र सम्भव नहुने भन्दै प्रधानमन्त्री दाहालले नेपालको विकासका लागि कृषिमा आधारित उद्योगको विकास हुनुपर्नेमा चिनियाँ राष्ट्रपति सीसँग कुराकानी भएको बताए।

‘कृषिमा आधारित उद्योगबारे हामीले महत्वपूर्ण छलफल गर्‍यौं,’ प्रधानमन्त्री दाहालले भने, ‘विश्वासको राम्रो वातावरण बनेको छ।’ यस्तै चिनियाँ राष्ट्रपतिसँगको भेटमा रेल, हवाई यातायात, बाटोघाटो, पर्यटन क्षेत्रमा पनि कुराकानी भएको प्रधानमन्त्री दाहालले बताए। नेपालको विकासका लागि आर्थिक सहायताको दायरा फराकिलो बनाउने विषयमा पनि कुराकानी भएको प्रधानमन्त्री दाहालले बताए।

त्यसअघि प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सीसीपीआईटीद्वारा नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री दाहालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानी गरी लाभ लिन चिनियाँ उद्योगीलाई आग्रह गरे।

‘कुनै पनि देशको विकास सरकार आफैंले मात्र गर्न सक्दैन,’ प्रधानमन्त्री दाहालले भने, ‘देशको आर्थिक समृद्धिको ‘इन्जिन’ निजी क्षेत्र भएकाले सहयोग र सहकार्यका साथ अगाडि बढ्न चाहेको कुरा मैले बारम्बार गरेको छु, आज पनि यहाँ दोहोर्‍याउन चाहन्छु।’ नेपालमा लगानीको वातावरण बनाउन सरकार सधैं प्रयत्नशील रहेको प्रधानमन्त्री दाहालले बताए। ‘हामीले लगानीमैत्री वातावरण बनाउनका लागि सम्बन्धित नीति तथा कानुन संशोधन तथा अद्यावधिक गरेका छौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यसैले अहिले नेपालमा लगानीको वातावरण राम्रो बनेको छ। नेपालमा श्रम कानुन पनि लगानीमैत्री र लचिलो छ।’

नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि गर्नुपर्ने र भौतिक पूर्वाधारमा सुधार आवश्यक रहेको प्रधानमन्त्री दाहालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank