तीनपाटन गाउँपालिकाको निर्णय : दलित बुहारीलाई निःशुल्क पढाउने 

दलित अनलाईन ६ भाद्र २०८०, बुधबार १९:००

सिन्धुली—  सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका बुहारीहरूको उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न कार्यक्रम ल्याएको छ।

आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले तीनपाटन गाउँपालिका क्षेत्रभित्रका सरकारी/ सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका र गर्न चाहने छोरी, बुहारीहरूलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क आफैँले तिर्ने निर्णय भएको बताएको छ।

‘बुहारीहरूलाई स्नातक वा सोभन्दा माथिल्लो तह अध्ययनका लागि क्याम्पसमा लाग्ने भर्ना शुल्क गाउँपालिकाबाट व्योहोर्ने गरी ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ नामक कार्यक्रम सञ्चालनमा ल्याइएको छ,’ सूचनामा उल्लेख छ।

कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी/ छोरीलाई स्नातक/ स्नातकोत्तर तहको कुनै पनि वर्ष वा सेमेस्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने व्यवस्था गरिएको छ।

साथै, महिला अभिभावक परिवारमा नभएमा एकासगोल परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजान सक्ने व्यवस्था सूचनामा उल्लेख छ।

लाभ लिनको लागि पुर्‍याउनुपर्ने विधिबारे थप उल्लेख गर्दै सूचनामा भनिएको छ, ‘अभिभावकसमेत नभएमा सम्बन्धित वडाको महिला वडासदस्यले माथि उल्लेख भएको कार्यक्रमबाट लाभ पाउने छोरी वा बुहारीलाई स्नातक/स्नातोत्तर तह अध्ययनका लागि क्याम्पसमा भर्ना गर्न लैजानुपर्नेछ।’

त्यस्तै, क्याम्पसले पनि माथि उल्लेख भएबमोजिमको प्रक्रिया पूरा गरी भर्ना हुन आउने दलित समुदायभित्रका छोरी–बुहारीलाई भर्ना गर्ने व्यवस्था मिलाउने र अभिलेख प्रयोजनका लागि भर्ना हुँदाका बखतको फोटो अनिवार्य खिच्न गाउँपालिकाले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank