पहिचानको मुद्दा कमजोर बनाउन राज्यले नै भूमिका खेल्यो : अधिकारकर्मीहरु

दलित अनलाईन ५ भाद्र २०८०, मंगलवार १०:०३

काठमाडौँ — पहिचानको नारा दिएर राज्यले नै केही समुदायलाई कमजोर बनाउने प्रयास गरेको अधिकारकर्मीहरुले बताएका छन् ।

सोमबार संवाद डबलीमा आयोजित पहिचानको राजनीति र शिल्पी दलित मुक्तिको सवाल अन्तरक्रिया कार्यक्रममा  अधिकारकर्मीहरुले सरकार नै पहिचानको मुद्दालाई कमजोर बनाउन लागेको बताएका हुन ।

प्रवक्ता मनिष सुमनले दलित मुक्तिको लागि राज्यमा पूर्ण समानुपातिक समावेशिताको ग्यारेन्टी गर्नुपर्ने सङ्घीयता र धर्म निरपेक्षतालाई व्यावहारिक रूपमा कार्यान्वयन नभएसम्म उत्पीडितहरूको मुक्ति नहुने त्यसका लागि जसपा पूर्ण रूपमा लाग्ने  बताए ।

पूर्व राजदूत डाक्टर निर्मल कुमार विश्वकर्माले, दलित मुक्तिको सवाल अधिकारका लागि मात्रै नभएर पहिचानका लागिसमेत भएको बताए । जनजातिको सहभागिता दलित मुक्तिको लागि आशातित हुन नसकेको विश्वकर्माको तर्क छ । ‘दलित मुक्तिको सवालमा अधिकारको मात्रै होईन् पहिचानको कुरा हो । पहिचानको आन्दोलनले अहिलेका हाम्रो आवश्यकता, प्राथमिकतालाई सम्बोधन गर्छ भन्ने कुनै ग्यारेन्टी छ । यसमा हामी सचेत हुनुपर्छ ।’ उनले भने ‘पहिचानको आन्दोलनमा दलितहरु एकजुट भएर लागेको छ तर जनजातीहरुको सहभागिता भने त्यती राम्रो देखिदैँन् ।’

उनले अधिकार निर्माणका लागि राजनीतिक शक्ति निर्माण जरुरी रहेको बताए । उनले भने ‘पहिचानविना राजनीतिक शक्ति निमार्ण गर्न सकिदैँन्, जबसम्म राजनीतिक शक्ति निमार्ण गर्न सकिदैँन् तबसम्म अधिकार सुनिश्चित गर्न सकिदैँन् । त्यसकारण हाम्रो पहिचान छ त्यसलाई खोजेर मात्रै हामी अगाडि बढ्नु पर्छ ।’
आफूहरुको पहिचान खोसिएको बताएका उनले आफूहरु हिन्दु धर्म भित्र नपर्ने तर्क गरे । ‘दलित नाम लिएर एउटा निश्चित स्थानमा पुगौ त्यसपछि अर्को पहिचानको लागि जानु पर्छ । हाम्रो पहिचान खोसिएको हो । ’ उनले भने ‘हामी हिन्दु धर्मभित्र पर्दैनौ यो कुरामा स्पष्ट हुनुपर्छ । ’

कार्यक्रममा प्राध्यापक महेन्द्र लावतिले पहिचान र अधिकारको निम्ति सम्पूर्ण उत्पीडित आदिवासी जनजाति शिल्पी दलित लगायतका शक्तिहरू एकताबद्ध भएर लाग्नुपर्ने बताए।

दलित आत्मारक्षक अभियानका संयोजक समेत रहेका मित्र परियारले दलितले राजनीति पार्टीको आडबाट न्याय नपाउने, आजको आधुनिक जमानामा दलित दास बन्न नसक्ने भन्दै दलित मुक्तिका लागि सशस्त्र युद्ध लड्नु समेत तयार हुनुपर्नेमा जोड दिएका थिए।

दलितको मुद्दामा जहिल्यै पार्टीहरुले झुक्क्याएको र अब झुक्किन नहुने, दलितहरूको मुद्दामा पार्टी र तिनका सङ्गठनहरू गम्भीर नभएको दलित माथि भएको गम्भीर घटनामा प्रेस विज्ञप्ति समेत स्वतःस्फूर्त जारी नगर्ने र सडक सदनमा आवाज नउठाएको भन्दै तत्काल सच्चिन सबै पार्टी सम्बन्धित निकायको ध्यानाकर्षण कमला हेमचुरिले गराएकी थिइन् ।

जनता समाजवादी पार्टीका सांसद रेखा यादवले, पहिचानको नारा दिएर राज्यले नै केही समुदायलाई कमजोर बनाउने प्रयास गरेको आशंका गरेकी छिन् । उनले भनिन् ‘अहिले राज्यले कस्तो ठूलो खेल खेलिरहेको छ, मधेशले जब मधेश प्रदेश बनायो त्यो बनाउँने वित्तिकै जातिको नारा सुरु गरेको छ । यादव एकतर्फ अरुलाई एकतर्फ गरेको छ यो मधेश प्रदेशलाई कमजोर बनाउँनको लागि यस्तै गरी शिल्पी र दलित भनेर छुट्याएको पनि त्यही कमजोर बनाउँनको लागि जस्तो लाग्छ ।’

कार्यक्रममा संविधान सभा सदस्य कमला विश्वकर्माले नवराज हत्याहिंसा काण्डदेखि घर भत्काएको र जलाएको जस्ता जघन्य अपराधका घटना हुँदा राज्यले गम्भीर रूपमा कारबाही अगाडी बढाउन नसकेको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank