सडकमा अराजकता नफैलाउनुहोस्, कानुनी लडाइँ लड्नुहोस् : रक्षा बम

दलित अनलाइन चैत्र १७, २०८२

काठमाडौँ — नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेलाई सडकमा अराजकता र विध्वंस नगर्न अपिल गरेकी छन्।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइका लागि भइरहेको आन्दोलनलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेकी हुन्।

देशले भदौ २३ र २४ गते निकै विध्वंस देखिसकेको उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था दोहोरिन नहुने बताएकी छन्। ‘यदि तपाईंहरूलाई यो प्रक्रिया प्रतिशोध जस्तो लागेको छ भने कानुनी बाटो रोज्नुहोस्, कानुनी लडाइँ लड्नुहोस्। लोकतन्त्रमा सत्य प्रमाणित गर्ने ठाउँ अदालत र प्रक्रिया हो,’ उनले भनेकी छन्।

Royal Enfield

संयोजक बमले सरकारसँग असहमति राख्न पाउनु अधिकार भए पनि थप अराजकता र द्वन्द्वले देशलाई कमजोर बनाउने उल्लेख गरेकी छन्। बाटो हिँड्ने सर्वसाधारणमाथि आक्रमण गर्ने, सडक अवरोध गर्ने र सवारी साधन जलाउने जस्ता गतिविधिले एमालेको नैतिक आधार कमजोर बनाउने उनको तर्क छ।

उनले एमालेलाई जिम्मेवार, उत्तरदायी र लोकतान्त्रिक चरित्र देखाउन आग्रह गर्दै यस्ता गतिविधि नगरिदिन अनुरोध गरेकी छन्।

हेर्नुस् उनको फेसबुक स्टाटस
आदरणीय एमालेजनहरू,
बडो अन्यौलतापछि आज फेरि मुलुकमा केही हदसम्म स्थिरता आएको अनुभूति हुँदैछ। देशले भदौ २३ र २४ गते जति विध्वंस देख्नुपर्ने थियो, देखिसक्यो। अब त्यो दोहोरिनु हुँदैन। अब देशलाई पनि सास फेर्ने समय दिनुहोस्। देश तपाईहरूको राजनैतिक मुद्दा भन्दा धेरै माथिको कुरा हो। 
यदि तपाईंहरूलाई यो प्रक्रिया प्रतिशोध जस्तो लागेको छ भने कानुनी बाटो रोज्नुहोस्। कानुनी लडाइँ लड्नुहोस्। लोकतन्त्रमा सत्य प्रमाणित गर्ने ठाउँ अदालत र प्रक्रिया हो। तपाईहरूले यो सरकारसँग असहमति राख्न पाउनुहुन्छ त्यो तपाईंहरूको अधिकार हो, र त्यो अधिकारको पक्षमा हामी पनि उभिन्छौँ। तर थप अराजकता, विध्वंस र द्वन्द्वले देशको आयु नै कमजोर बनाउँछ। 
हामीलाई यो समाजमा तपाईंहरूको पनि आवश्यकता छ। तपाईंहरूबिनाको समाज हामीले कल्पना गरेका छैनौँ। तर हामीलाई जिम्मेवार, उत्तरदायी र लोकतान्त्रिक चरित्र बोकेको एमाले चाहिएको हो। शान्तिपूर्ण प्रदर्शन गर्न पाइन्छ, तर बाटो हिँडिरहेका सर्वसाधारणमाथि आक्रमण गर्ने, आम जनतालाई असर पर्ने गरी सडक अवरोध गर्ने, निर्दोषहरूको सवारी साधन जलाउने जस्ता गतिविधिले तपाईंहरूलाई बलियो बनाउँदैन, बरु तपाईंहरूको नैतिक आधार कमजोर बनाउँदै जानेछ।
कृपया, यस्ता गतिविधिहरू नगर्दिनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank