छुत र अछुतको यो लम्बरेखा

गणेश चिन्तन १ भाद्र २०८०, शुक्रबार १९:२६

देश बनाउने उर्दीमा
मैले आफ्नो ईमान
दर्ज गरेको हुँ
न कि अछुत हुन ?
खोपेर ढुङ्गालाई
देवता बनाएको हुँ
गालेर फलाम भुङ्ग्रोमा
तरबार बनाएको हुँ
बगाएर पसिना
धर्ती रङ्गाएको हुँ
सत्ताको सिंहासन
त्यो राजसी ठाँट
मैले बनाएको हुँ।।१।।

देश बनाउने आदेशमा
मैले आफ्नो विश्वास
व्यक्त गरेको हुँ
न कि अपवित्र हुन ?
फोडेर पहाड
मैदान बनाएको हुँ
जोतेर मैदान
अन्न फलाएको हुँ
तिम्रो सत्ताको रक्षार्थ
पहरा दिने बन्दुक
मैले बनाएको हुँ ।।२।।

देश बनाउने हाकोमा
मैले आफ्नो सिल्प
पोखेको हुँ
न कि अपमान हुन ?
लडेर बैरिसँग
देशलाई स्वाभिमान
बनाएको हुँ
मिलेर जनमन
गणतन्त्र ल्याएको हुँ
तिम्रो सत्ताको गुर्जा
मैले बनाएको हुँ ।।३ ।।

विडम्बना !
इमानको सभ्यतामा
झुठको पर्दा लगाएर
मान्छेका ठिमाहा
नरपिशाचहरू
तिम्रो झुठको सम्मोहन
तिम्रो हुकुमको जुलुम
छुत र अछुतको
यो लम्बरेखा
अब स्वीकार्य छैन ।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank