काठमाडाैं— नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले उम्मेदवार बनाउँदा दलितलाई सधैं बेवास्ता गरेको बताएका छन् ।
आइतबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले २०४८ पछिका चुनावमा दलितलाई जम्मा ३ जनालाई मात्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु लाजमर्दो भएको बताए । निर्वाचनमा मीन विश्वकर्मा, लक्ष्मी परियार, सुजाता परियार, मानबहादुर नेपाली लगायतलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन आग्रह गरिए पनि सम्भव नभएको सहमहामन्त्री परियारले बताए ।
सभापतिज्यू
१. केन्द्रीय कार्यसमितिको बैठक लामो समयको प्रतीक्षा पछि बसेको छ । केन्द्रीय समिति किन बस्दैन भन्ने प्रश्नको सामना हामीले खेपेका थियौ । ढीला गरि केन्द्रीय कार्यसमितिको बैठक बसेको छ यो सुखद पक्ष हो ।
सभापति ज्यू,
२. नेपाली कांग्रेस मुलुकको नेता पार्टी हो । पार्टीले आफ्नो गरिमालाई कायम राख्न सक्नु पर्दछ । पार्टी जीवनमा कहिल्यै पनि हतारमा निर्णय गर्ने र फुर्सदमा पछुत्याउने गर्नु हुँदैन । सफल नेतृत्वका लागि सबैभन्दा महत्वपूर्ण आधार आफ्ना सबलता र दुर्बलताको राम्रो ज्ञान हुनु, अभिव्यक्त हुनु अघि नै दुर्बलताको न्यूनिकरण गर्ने क्षमता र अनि अरुको नेतृत्व गर्नुअघि स्वयंको नेतृत्व गर्न सक्नु हो । यो बैठकको प्रत्यक्ष प्रसारणमार्फत हामीले के सन्देश दियौं । कमजोरी सबैका हुन्छन् । ती कमजोरीका सम्बन्धमा हामीसंग तीन विकल्प हुन्छन्:
१. देखाउने, २. लुकाउने र ३. सच्चाउने ।
आजसम्म हामीबाट भएका कमि कमजोरीहरु लुकाउंदै आयौं, आज देखाउंदै छौं । यी दुबै विकल्प उपयुक्त होइनन् । खास त सच्याउनुपर्ने हो । अब हाम्रो ध्यान यसतर्फ पुर्याऔं ।
आज हामीले हाम्रा कुराहरु सुनाइरहेका छौं । यो हिजोपनि सुनाइरह्यौ, कहिले सडकबाट, कहिले मञ्चबाट र आज बैठकको लाइभ गरेर । फेसबुक लाइभको भ्युअर्स डाटा हेर्ने हो भने प्रत्येक दिन घट्दो छ । यसबाट आम समुदायलाई हाम्रो कुरा सुन्ने रुचीमा ह्रास हुंदै गइरहेको देखाउंछ । यस तथ्यलाई हृदयंगम् गरौं ।
अब हाम्रा कार्यक्रमहरु आफ्ना कुरा सुनाउनेभन्दा आम जनसमुदायका कुरा सुन्ने र तीनको सम्बोधन गर्नेतर्फ लक्षित गरौं ।
सभापतिज्यू,
यो लाईभले व्यक्तिलाई फाइदा पुग्न सक्छ । तर सिङ्गो पार्टीलाई कदापी फाईदा पुगेको छैन । म र म जस्ता लाखौमा प्रश्न छ । यो फेसबुक लाईभले हामी केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई परिचित गराउने काम चाहिँ गर्यो । यो पक्ष सकारात्मक हुन सक्छ ।
सभापतिज्यू,
३. वर्तमान सभापतिज्यूले पहिलो कार्यकाल पूरा गरि दोस्रो कार्यकाल चलेको दोस्रो वर्ष पुगेको छ । सभापतिज्यू सभापति हुनुपूर्व लामो समय पार्टीको बरिष्ठ नेता हुनुहुन्थ्यो । पाँच पटक देशको प्रधानमन्त्री हुनुभयो धेरै अनुभव बटुल्नु भएको छ । त्यो अनुभवबाट पार्टीलाई थप सशक्त बनाउन जरुरी छ । सभापति ज्यू यसका बाबजुद पनि केही बिचार आम कांग्रेस जनमा छताछुल्ल छ ।
केन्द्रीय समितिको बैठकमा आएका कुराहरु मान्ने हो भने यदि कुरा सत्य यही हो त :
हामीले पार्टीका सबै संयन्त्र ठीक ठाक छन भन्ने हो भने ? त्यो पनि भनौ । अब केही गर्नु पर्दैन भन्ने लागेको छ भने त्यसै भनौ । पार्टी सुधार गर्न बहस, छलफल, हुनु हुँदैन भन्ने हो भने पनि भनौ? पार्टीमा राजनीतिक सन्तुलन आवश्यक छैन भने त्यो पनि भनौ ? के यसै गरि निर्णय गर्दै जाने हो भने हामी वर्तमान चुनौतिको सामना गर्नु सक्छौ त? विचारणीय छ सभापतिज्यू ।
४. भ्रातृसंस्थाको अवस्था के छ? कति समय भयो पूर्णता नपाएको? जनसम्पर्क समितिको अवस्था केछ? विभाग गठनको विषय किन हुन सकेको छैन ? कार्यसमितिको पूर्णता किन हुन सकेको छैन? पार्टी केन्द्रलाई प्रश्न गरेका छन ।
५. अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकले भातृसंस्था बनाउँदा नेताहरुसंग आबश्यक परामर्श गरि गठन गर्ने निर्णय गरेको थियो । के नेविसंघ, तरुण दल, महिला संघ, आदिवासी जनजाति महासंघ, किसान महासंघ बनाउँदा उक्त निर्णय पालना गरियो त ? एकपक्षीय भयो भन्ने व्यापक गुनासो छ, तसर्थ बाँकी गठन हुन बाँकी रहेका भ्रातृ संघ गठन गर्दा पार्टीमा सन्तुलन कायम होस भन्ने आग्रह गर्दछु ।
६. सभापति ज्यू, तीनै तहको निर्वाचनको कुरा गर्दा विभिन्न समुदायका आ-आफ्ना पीडा छन । म यतिवेला दलित समुदायको बारेमा केही दृष्टान्त प्रस्तुत गर्न चाहन्छु । हामी ईतिहासलाई सम्झेर पार्टीका दस्तावेज र विभिन्न कार्यक्रममा हामी भाषण गर्दछौ । २००३ सालमा बीपी कोईरालाले स्थापना गर्नुभएको नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक सदस्य देवव्रत परियार र २००५ सालमा सुवर्ण शम्शेरले नेतृत्वमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक सदस्य आरवि गहतराज र २००९ सालमा नेपाली कांग्रेसको ५ ओै महाधिवेशन, जनकपुरमा सम्पन्न भएको थियो । जातीय भेदभाव र छुवाछूत धनमानसिह परियारलाई महामन्त्री बानाएको पार्टी भनेर गर्व गर्छौ तर विगत मात्र सम्झना गरेर पुग्दैन । वर्तमान सबैले देखेर हामीप्रति आकर्षण हुने हो । दलित समुदाय भनेका भोग बैक मात्र हुन त भन्ने प्रश्न छ । २०४८ पछि हेर्ने हो भने यो ३२ बर्षमा तीन जनाले प्रत्यक्ष टिकट पाएको ईतिहास छ । २०४८ मा बाँकेको ३ नं क्षेत्रबाट कृष्णसिह परियार, २०६४ को पहिलो संविधान सभामा अर्घाखाँची क्षेत्र नं बाट मानबहादुर बिश्वकर्मा र २०७४ को निर्वाचनमा कास्की १(१) बाट प्रदेश सभामा मैले टिकट पाएको हुँ ।
२०७४को स्थानीय तह निर्वाचनमा धनगढी उप महानगर पालिका बाट वर्तमान केन्द्रीय सदस्य नृप ओड र कन्चनपुरको दोधारा चादनीमा बीरबहादुर सुनारले टिकट पाएर विजयी हुनु भएको थियो भने । देशभरि ८-९ जना दलित महिलाले टिकट पाई विजयी हुनुभएको थियो । तर विगतको २०७८ को स्थानीय तहको निर्वाचनमा देशभरिमा एकमात्र बर्दिया जिल्लाको बढैयाताल गापा का पार्टी सभापति भगत नेपालीले टिकट पाए । आफ्नै साथिहरुका कारण चुनावमा पराजित भए । केही पालिकामा दलित महिलाले उपप्रमुख र उपाध्यक्षमा टिकट पाएका थिए । मुस्किलले ५-६ जनाले जितेका छन् । संसदको टिकटका बारेमा म आफै संसदीय समितिमा थिएँ । सुनसरीमा मीन बिश्वकर्मा, ईलाममा सुजाता परियार, उदयपुरमा लक्ष्मी परियार, रुकुममा मानबहादुर नेपाली, काठमाडौंमा हरिशरण नेपाली, बझाङमा प्रकाश रसाईली स्नेहीका बारेमा घनिभुत छलफल भयो तर एक जनाले पनि टिकट पाउन सकेनन ।
सभापति ज्यू दलितलाई किन टिकट दिईदैन भन्यो भने । एक शव्दमा जवाफ आउँछ । जित्दैनन । मेरो प्रश्न छ । के पार्टीको टिकट पाएका सबैले चुनाव जितेका छन त ? त्यसैले दलित समुदाय भनेको नेपालको जात व्यवस्था मध्ये सबैभन्दा पिंधमा रहेको समुदाय हो । राज्यले बल पूर्वक पछाडी पारेको समुदाय भएकोले यो समुदायलाई मुल धारमा ल्याउन विशेष व्यवस्था गर्न जरुरी छ भन्ने यो गरिमामय केन्द्रीय कार्यसमितिमा प्रस्तावको रुपमा राख्न चाहन्छु ।
सुझाबहरु:
१. सभापतिज्यू
आगामी बैठकहरुमा हामीले गरिबीको रेखामुनि रहेका दिन दुःखी जनताको समस्याको बारेमा, बैदेशिक रोजगारिमा सउदी, मलेशिया, दुवई, कतारमा जान बाध्य युवाहरुको पीडा तथा सरकारले फ्रि भिजा फ्रि टिकट भनेको छ तर लाखौलाख पैसा बुझाउन बाध्य ती युवाहरुको बारेमा, विकसित देशहरुमा बैदेशिक रोजगारीमा लैजाने भनी सिधा साधा व्यक्तिहरुलाइ ठगि गरि पिडित भएकाहरुकाे समस्याका बारेमा, महिला, दलित, मुस्लिम, थारु, मधेशी, आदिवासी जनजाति, दुर्गम तथा पिछडिएका क्षेत्रका जनताको सम्वन्धमा ।
संविधान जारी भएको आठौ वर्ष पुग्दा पनि संघीय शिक्षा ऐन, संघीय कर्मचारी ऐन, संघीय प्रहरी ऐन लगायतका महत्त्वपूर्ण ऐन नआउँदा सो क्षेत्रमा कार्यरत जनशक्तिमा निराशा छाएको छ ।
सभापतिज्यू
भूमिहिन तथा सुकुम्बासीका समस्याका सम्बन्धमा राष्ट्रिय भूमि आयोग केन्द्र र जिल्लामा गठन भएको छ । तर जनताका समस्या समाधान हुने गरि ऐन र नियमावलीको वाधा व्यवधानले काम गर्न सकिरहेका छैनन । तसर्थ ऐन कानुन तथा नियमावली सम्शोधन गरि भुमि आयोगलाई समयसिमा भित्र काम सकिने गरि सहजता प्रदान गर्न जरुरी छ । मेरो जिल्ला कास्की लगायत देशभर विभिन्न झमेलाका कारण वास्तविक भुमिहिन र सुकुम्बासीले जग्गा पाउने बातावरण छैन । यस सम्बन्धमा पार्टीले विशेष ध्यान दिन जरुरी छ ।
२. हाम्रा विचमा देखिएको अलमल । हाम्रा आन्तरिक जीवनका समस्या र भावी रणनीतिका सम्वन्धमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको नीति, अध्ययन तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी भित्रका वा बाहिरका विज्ञ विशेषज्ञसंग छलफल गरेर समाधान खोजिनु पर्यो ।
३. पार्टी महामन्त्रीले कार्यालयको तर्फबाट पेश गर्नु भएको प्रस्तावमा आबश्यक संशोधन सहित पारित गरि उक्त कार्ययोजना कार्यान्वयन गर्नुपर्दछ ।
४. हामी सरकारमा रहँदा नरहँदा हाम्रा नेताहरु माथि विविध आरोप लागि छानविनको दायरामा पर्नु भएको छ । के यसले पार्टीलाई राम्रो भएको छ त ? यसबारेमा पार्टी के चुपचाप बस्दा हामीलाई फाईदा पुग्ने हो ? तसर्थ भ्रष्टाचार नियन्त्रण तथा सुशासन दिने कार्ययोजना पार्टीमा बनाउन जरुरी छ । देशमा भ्रष्टाचारले जरा गाडेको छ भन्ने आम बुझाइ भएको छ । हामीले यसलाई चिर्नु पर्दछ । आशा जगाउन सक्नुपर्दछ । भ्रष्टाचारका सम्वन्धमा दोशी उम्कन नपाओस र निर्दोष नपरोस यही नीति पार्टीको हुनु पर्दछ ।
५. हामी सरकारमा छौं । संघीय/ प्रादेशिक/ स्थानीय तीनै सरकारलाई जनताको पक्षमा काम गर्न र “भ्रष्टाचार मुक्त शासन, सरकारको प्रशासन” भन्ने नारा दिई सबै तहका सरकारलाई सुशासनका पक्षमा काम गर्न निर्देशन गर्न जरुरी छ ।
६. भारतले केही दिन अगाडि देखि नेपालमा चामल निर्यात रोकेको छ । यस बारेमा हाम्रो धारणा के हुने हो? भारतले के कारणले चामल निर्यात रोक्यो? मूल्य बढाउने रणनीति हो या कालावजारी वा दलालहरुको प्रयासले रोकिएको हो । सभापतिज्यूले स्पष्ट पारिदिनु पर्यो ।
७. हामी भित्र अलमल छ । अलमल छलफल नभएर छ । तसर्थ पार्टी सभापतिज्यूले पार्टीका नेताहरुका वीचमा निर्णय प्रकृयामा छलफलको दायरा बढाउनु पर्यो ।
८. पार्टीलाई जीवन्तता दिन । पार्टी सुदृढीकरण गर्न ।
५ “स”
पर्याप्त :
१) संवाद
२) समन्वय
३) सौहार्दता
४) सहकार्य
५) सत्कर्म
Leave a Reply