बुद्ध धर्म र दलित समुदाय

हिरा विश्वकर्मा २२ बैशाख २०८०, शुक्रबार १८:४१

म पाल्पाली हुँ । यसको सदरमुकाम तानसेनमा नेपालको जातीय विविधता केही मात्रामा भएता पनि नेवार समुदायका सबै उपजात र धर्म विद्यमान थियो । त्यहाँ अमरसिंह थापाले अंग्रेज युद्धमा जित हासिल गरेपछि आफ्नो भाकल अनुरूप स्थापना गरेको रणउजेश्वरी भवगवतीको मन्दिर छ । जहाँ पञ्चायत कालमा कमसेकम वर्षको एक पटक भएपनि राजा वीरेन्द्रले पूजा-अर्चना गर्दथे ।

भगवतीको मन्दिर भएको हुनाले त्यहाँ बलि चढाइनु सामान्य भयो । त्यसको पुजारी नेवार भित्रको शाक्यहरू हुन्थे, जो पूजा गर्दा चढाइएको पशु वलीको रगतले उनको सेतो कपडा रक्ताम्य देखिन्थ्यो । शाक्य र बज्राचार्यहरू पनि उल्लेख्य संख्यामा भएकाले बुद्ध धर्म पनि उनीहरूको अभिन्न अंगथियो ।

भगवतीको मन्दिरमा हामीलाई प्रवेश निषेध थियो । नजिकै रहेको टक्सार टोलमा बुद्धको ठूलो मूर्ति सहितको विहार थियो । जहाँ हामीलाई पस्न कुनै रोकटोक थिएन । त्यहाँ भिक्षुहरू रहन्थे । त्यसैले बुद्ध पूर्णिमाको दिनमा निस्कनले जात्रामा हामी पनि उत्साहका साथ सहभागी हुन्थ्यौं ।

ज्ञानमाला भजन मण्डलीले गाउने भजन, किर्तनसहितको बजार परिक्रमामा हामी पनि रमाउँथ्यो । सबैभन्दा अचम्म लाग्ने कुरा के थियो भने कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने भव्य भगवतीको जात्राको रथमा पनि तीनै बज्राचार्य थरका पुजारी हुन्थे । बुद्धपूर्णिमाको दिनमा निस्कने जात्रा तथा रथ जसलाई ८-१० जना मानिसहरूले बोक्ने गर्थे, त्यसभित्र बसेर पूजा गर्ने पुजारी पनि तिनै हुन्थे । यस्तोमा मेरो बाल मनिस्थितिले हिन्दु धर्म र बुद्ध धर्मबीच फरक छुट्याउन सक्दैनथ्यो ।

बुद्ध धर्मलाई समानताको प्रतीक मानिन्छ, तर नेपालको सन्दर्भमा दलितहरूका लागि जसरी अरु धर्म थिए र छन् यो धर्म पनि त्यस्तै रहेको छ । मैले अध्ययन र अनुभवको क्रममा बुद्ध धर्म तथा अन्य धर्मलाई तुलना गर्दा यो धर्म अत्यन्त वैज्ञानिक र मानव उपयोगी भएको पाएको छु । तर यसमा न त दलित आफैंले कुनै आशक्ति जनाए न त यसलाई धर्मको रूपमा मान्ने समुदायले दलितलाई आकर्षित गर्न खोजे । त्यसैल अहिलेसम्म पनि यो धर्म हाम्रा लागि खास सरोकारको विषय रहेन ।

आज बुद्ध जयन्ती मनाईंदै छ, यो धर्मभित्र यसको पहिलो स्वरूप थेरावाद जसलाई बुद्धले प्रतिपादन गरेका थिए । त्यसपछि महायान जुन तिब्बतमा प्रचलित छ, त्यसपछि वज्रयान जुन नेपालका शाक्य, बज्राचार्यहरूले मान्छन्, त्यसलाई मान्छेहरूले अनुशरण गरिरहेका छन् ।

तर, पूरै समानतामा विश्वास गर्ने, जातपातको भेदभाव नगर्ने, मान्छेलाई दुःखबाट मुक्त हुनलाई प्रेरित गर्ने धर्म यदि हो भने यसमा दलितहरू किन निरपेक्ष रहे ? बरु अहिले क्रिस्टियनहरूको जुन संख्या नेपालमा बढी रहेको छ, त्यसमा अत्यधिक दलितहरू छन् । यस विषयमा बुद्ध धर्मका अनुयायीहरूले खासै चिन्ता चासो गरेको देखिंदैन ।

गएको अप्रिल १४ का दिन अम्बेडकरको जन्मजयन्ती परेको थियो । त्यसको उपलक्ष्यमा शंखमुल स्थित एउटा विहारमा गरिएको कार्यक्रममा एकजना ठकुरीबाट भिक्षु बनेका भन्तेले भनेको थिए, ‘संसारमा दुखै दुःख छ र यसबाट मुक्त हुने वा गर्ने शिक्षा भगवान बुद्धले दिनु भएको छ।’

नेपालमा यदि सबैभन्दा कोही दुःखमा छ भने त्यो दलित समुदाय हो । जो भोक, अभाव, गरिबी, विभेदमा छ । यदि सबैभन्दा ठूलो आत्मसम्मानबाट बञ्चित कुनै समुदाय छ भने त्यो दलित हो । एकातिर बुद्ध धर्मले मान्छलाई दुःखबाट मुक्त हुन सिकाउँछ भन्ने अर्कोतर्फ सबैभन्दा दुःखी समुदायलाई पूरै बेवास्ता गर्ने यो कस्तो धर्म हो ?

मैले यो विषयमा बुझ्न पूर्वमन्त्री, राजनैतिक नेता तथा बुद्धधर्मावलम्वी डा. केशवमान शाक्यसँग कुरा गरेको थिएँ । ‘नेपालमा श्रीलंकामा अनुशरण गरिने खालको थेरावादलाई मानिन्छ । यसले क्रिस्चियन मिसनरी जस्तो धर्मलाई फैलाउने काम गर्दैन । मुक्त हुन चाहने व्यक्तिको चाहना हो र जसले त्यो चाहना राख्छ त्यो बुद्ध धर्ममा आउँछ । जो चाहँदैन त्यसलाई कुनै जोर जबरजस्ती वा उत्प्रेरणा बुद्ध धर्मले दिँदैन । त्यसले बुद्ध धर्म विहारमै सीमित भएको छ । विहारमा आउने जो कोहीलाई स्वागत गरिन्छ,’ उहाँले भन्नुभयो ।

मैले नेपालको इतिहासको अध्ययनको क्रममा के पाएको छु भने बुद्धकाल अर्थात् इसापूर्व ५०० वर्ष पहिले नेपाल भनिने काठमाडौं खाल्डोमा किरातहरूको शासन भएको बेला जातपात केही थिएन । तर कपिलवस्तुमा थियो । बुद्धले कपिलवस्तुको भ्रमण गर्दा एकजना सार्की थरका व्यक्तिलाई आफ्नो संघमा सामेल गरेर दिक्षा दिएका थिए ।

आजभन्दा करीब ५ वर्ष अगाडि कपन गुम्बाका भिक्षुहरूले एउटा राम्रो कार्यक्रम आयोजना गरेका थिए । त्यो कार्यक्रममा नवबुद्ध भनिने भारतका दलित बुद्धमार्गीहरू पनि आएका थिए । उनीहरू सबै डा. अम्बेडकरको प्रेरणाबाट बुद्धधर्म अंगालेका थिए । त्यसको जमात अहिले भारतमा विस्तारै ठूलो हुँदैछ, तर नेपालमा यस्तो किन हुन सकेन, के हामीले हाम्रो सन्दर्भको अम्बेडकर नपाएर हो ?

त्यसको व्यापक विरोध हुँदापनि उनले त्यसलाई अस्वीकार गरेका थिए । सम्राट अशोकले आफ्नी एउटी छोरी चारुमतिको विवाह त्यतिबेला पाटन भनिने अहिलेको चाबहिलमा विवाह गरिदिएका थिए । उनले नै स्थापना गरिदिएको स्वयम्भु चैत्य चाबहिलमा छ । उनकै नामबाट चाबहिल रहन गएको भन्ने पनि गरिन्छ ।

त्यो इसापूर्व ३०० वर्ष पहिलेको कुरा हो, त्यति बेलापनि जातपातको कुरा थिएन । वैशालीबाट जब लिच्छवीहरू काठमाडौं उपत्यका आएर विभिन्न बहानामा किरातहरूलाई हराउँदै शासन सत्ता स्थापित गरे, त्यसपछि जातपातको सुरुवात भएको भनिन्छ । जुन १४औं शताव्दीमा जयस्थिति मल्लको पालामा संस्थागत मात्र भएन क्रुर पनि बनाइयो । उनले सुरुवात गरेको कठोर जातपातको व्यवस्थालाई अहिले पनि पहिलो न्याय शास्त्रको रूपमा कानुनमा पढाइन्छ । त्यस्तो कठोर न्यायशास्त्रको समीक्षा पनि गरिंदैन ।

शाक्य र बज्राचार्यहरूले मानिआएको बुद्ध धर्मलाई पनि हिन्दु शासकहरूले विभिन्न बहानामा दमन गर्दै आए र बुद्ध धर्मअनुसार गरिने कर्मकाण्डहरूलाई पनि हिन्दुले जस्तै गरेर उनीहरूले धर्मलाई जोगाउने काम गरे भनिन्छ । तर, सबैभन्दा बढी मानवतामा विश्वास गर्ने, जस्लाई करुणा भनिन्छ त्यस्तो धर्मका अनुयायीहरूले सबैभन्दा अमानवीय जीवन भोगि रहेको दलितहरूलाई किन आफ्नो साथमा लिएनन् वा मुक्त गर्न चाहेनन् । यो मेरो लागि सबैभन्दा गंभीर प्रश्न हो ।

आजभन्दा करीब ५ वर्ष अगाडि कपन गुम्बाका भिक्षुहरूले एउटा राम्रो कार्यक्रम आयोजना गरेका थिए । त्यो कार्यक्रममा नवबुद्ध भनिने भारतका दलित बुद्धमार्गीहरू पनि आएका थिए । उनीहरू सबै डा. अम्बेडकरको प्रेरणाबाट बुद्धधर्म अंगालेका थिए । त्यसको जमात अहिले भारतमा विस्तारै ठूलो हुँदैछ, तर नेपालमा यस्तो किन हुन सकेन, के हामीले हाम्रो सन्दर्भको अम्बेडकर नपाएर हो ?

बुद्ध धर्म नेपालमा शुद्ध र जातपात विरोधी रहेको थिएन र अहिले पनि छैन । किनभने लुम्बिनी संसारका बुद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो त्यहाँ भिक्षुहरूको ठूलो जमात बसोबास गर्छ । हिन्दु धर्मभित्र जसले सन्यास ग्रहण गर्छ त्यो संसारिक बन्धन र विभिन्न प्रकारका रीतिरिवाजहरूबाट पनि मुक्त हुन्छ भन्ने मान्यता राखिन्छ ।

त्यसले सन्यास ग्रहण गरेका व्यक्तिले आफ्नो बाबु आमाको पनि किरिया गर्दैनन् । बुद्धधर्ममा पनि भिक्षु हुनु भनेको सन्यास लिनु हो र बुद्धले सिकाएको मुक्तिको मार्गमा चल्नु हो । त्यहाँ जातपात र भेदभाव बुद्धको पालामा पनि थिएन, अहिले पनि हुनु हुँदैन ।

तर स्वयं बुद्ध धर्मको उच्चतम प्रतीकको रूपमा रहेको लुम्बिनीमा एकजना सार्की थरका व्यक्ति पनि भिक्षु रहेछन् । उनलाई उनी सार्की समुदायबाट आएको भनेर चरम विभेद गरियो । यो कुरा सुरुमा त त्यहाँ भित्रै रह्यो तर पछि बाहिर मिडियामा आयो, सुन्नमा आए अनुसार ती सार्की थरका भिक्षुलाई मिडियामा ल्याएको भनेर थप प्रताडित पनि गरियो । पछि यो घटनालाई त्यत्तिकै सामसुम पारियो, त्यहाँको भिक्षु संघले यो घटनाका दोषीलाई के गर्‍यो थाहा भएन ।

बुद्धधर्म भित्रको थेरावादले व्यक्तिको मुिक्तको कुरा गर्छ भने यस भित्रको महायानले अन्य व्यक्ति तथा समाजको पनि मुक्तिको कुरा गर्दोरहेछ । बुद्धले भिक्षामाग्न किन अभिप्रेरित गर्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा विपश्यना ध्यानका सबैभन्दा ठूला गुरु सत्यनारायण गोइन्का भन्नुहुन्छ, ‘मान्छेको दुःखको विभिन्न कारणमध्ये एउटा कारण अभिमान वा घमण्ड हो । भिक्षा यस्तो विधि हो जसले मान्छलाई अभिमानबाट मुक्त गराउँछ ।’

यदि यस्तो हो भने दलितहरूले बुद्ध धर्म अंगालून् वा न अंगालून्, तर उनीहरूलाई दुःखबाट मुक्त गर्ने प्रयासमा करुणामा विश्वास गर्ने बुद्ध धर्मावलम्बीहरू अग्रसर हुन्, आजको बुद्ध पूर्णिमाको सन्दर्भमा यही अनुरोध गर्न चाहन्छु ।

(यो लेख अनलाइनखबरबाट साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank