हुम्लामा दलित समुदायको लास सार्वजनिक बाटोबाट लैजान रोक

दलित अनलाईन २३ चैत्र २०७९, बिहीबार ०९:४५

काठमाडौं — दलित समुदायको मृत लासलाई सार्वजनिक बाटोबाट लैजान रोक लगाईएको छ ।
हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा ४ का ७४ वर्षका पदमविरे लुवारको लासलाई सार्वजनिक बाटोबाट लैजान रोक लगाईएका हो ।
चैत्र १९ गते आइतबार चंखेली गाउँपालिका वडा नम्वर ४ का ७४ वर्षका पदमबिरे लुवारको लासलाई सार्वजनिक बाटोमा लिन खोज्दा चंखेली गाउँपालिका वडा नम्वर ४ का ठकुरी समुदायले रोक लगाएका हुन् ।
२१ औँ शताब्दीमा पनि सार्वजनिक बाटोबाट लास लिन नदिएको मृतकका छोरा कर्णबिर लुवारले गुनासो गरे । गाउँको सार्वजनिक बाटो हुँदै लास लिन रोेक लगाएपछि खेतबारी हुँदै बुबाको लास मसानघाट पुराउनु परेको लुवारले बताए ।
गाउँकै बुद्धिजीवी, राजनीति गर्ने व्यक्तिबाट यस्तो दमनमा दलित समुदाय रहेको उनले गुनासो गरेका छन् । वडाका जनप्रतिनिधिहरूबाट अपमानित हुनु परेको मृतकका नाती मुनबहादुर लुवारले गुनासो गरे ।
चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पुरानो रितिथिति अनुसार पुरानै बाटोमा लिने हो कि ? गाउँका स्थानीयले भनेका रहेछन भन्दै जानकारी दिए । तर यसलाई कुनै ठूलो रुप लिन आवश्यक नरहेको अध्यक्ष शाहीको भनाई छ ।

यसै बीच नेपाल दलित मुक्ति संगठनले ठकुरी समुदायले रोक लगाएको अमानविय घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  नेपालको संविधान तथा प्रचलित कानूनलाई ठाडो चुनौति दिने गरी ठकुरी समुदायका व्यक्तिहरु तथा सार्वजनिक पदधारण गरेका व्यक्तिहरुवाट जातीय छुवाछूतलाई संस्थागत रुपमा संरक्षण गर्ने गरी घटाइएको यस घट्नाको जतिविरोध गरे पनि कम हुन्छ भन्दै मुक्ति संगठनले तत्काल कारबाही गर्नुपर्ने माग गरेको छ ।

नेपाल दलित मुक्ति संगठनका कर्णाली प्रदेश इन्चार्ज वसन्त कुमार विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ , ‘हुम्ला चंखेली वडा नं. ४ मा घटेको घट्नाको तत्काल सत्यतथ्य छानविन गरी घट्नामा संलग्न व्यक्ति जो कोही भए पनि निजलाई कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गर्दछौ । यदि यस घट्नाप्रति वेवास्ता गरिए सो घट्नाको प्रतिरोधबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित समुदाय वा व्यक्ति नै हुने यसै प्रेस विज्ञप्ति मार्फत अवगत गराउँन चाहन्छौं । साथै, यस अमानवीय घट्नाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग, मानवअधिकार समुदाय तथा न्यायप्रेमी नागरिक समाजहरुमा हार्दिक अपिल गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank