प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

दलित अनलाईन ६ चैत्र २०७९, सोमबार १९:४२

काठमाडौं —प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः विश्वासको मत पाएका छन्।

प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकमा भएको मतदानमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले विश्वासको मत पाएका हुन्।

आजको बैठकमा २६२ जना उपस्थित भएकोमा प्रधानमन्त्री दाहालको पक्षमा १७२ मत खसेको थियो भने विपक्षमा ८९ मत परेको थियो। तटस्थमा एक मत खस्याे।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएका हुन्। यसअघि उनले पुस २६ गते पनि सांसदबाट विश्वासको मत पाएका थिए।

एमालेसहितको सातदलीय गठबन्धनमा आबद्ध उनले त्यतिबेला २६८ सांसदको मत पाएको थियो। त्यतिबेला उनले तत्कालीन गठबन्धनमा नरहेको नेपाली कांग्रेसको पनि मत पाएको थियो।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने भन्दै कांग्रेससँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएका थिए। त्यसकारण संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिनुपर्ने अवस्था बनेको थियो।

यसपटक प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), राष्ट्रिय जनमोर्चा (राजमाे) का सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमिकपा) का सांसदले भने विपक्षमा मतदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank