नौमती प्रतियोगिता : १ असोजमा नौमती दिवस मनाऔँ !

ध्रुवसत्य परियार ३० फाल्गुन २०७९, मंगलवार १०:२४

नौमतीबाजा बजाउँदै जन्ती आउँछन् । विवाह मण्डपको छेउमा उभिएर पुरेत बोल्छन्, ‘स्वयम्बरको बेला भयो, बेहुलीलाई निकालौँ ।’ पुरेतकै निर्देशनमा जन्ती पर्सने कार्य हुन्छ । मण्डपमा दुलहा र दुलहीलाई राखेर विवाह विधि अगाडि बढ्छ, उता नौमती बाजा बजिरहन्छ । नौमती बाजा बजाउनेमध्ये तीनजना युवती थिए, यसले पनि सौन्दर्य थपेको आभास हुन्थ्यो ।

आइतबार (२९ फागुनमा) जमलको नाचघरस्थित सानो हलको मञ्चमा देखिएको दृश्य हो यो । हुन त यो कलाकारहरूको नाटकीय प्रस्तुति थियो । तर, मण्डप, नौमतीबाजा, पुरेत, बेहुलाबेहुली, सम्धीहरू आदिले गर्दा साँच्चिकै विवाह सम्पन्न भएको आभास गराउँथ्यो ।

naumati baja (2)

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालअन्तर्गतको उपत्यका समन्वय चावहिल समितिले आइतबार उपत्यका स्तरीय ‘नौमती बाजा प्रतियोगिता–२०७९’ सम्पन्न गर्‍यो । प्रतिष्ठानको नौवटा उपत्यका समन्वय समितिमध्ये आठवटा समितिबीच नौमती बाजा बजाउने प्रतिस्पर्धा भएको थियो । जसमध्ये विवाहको मण्डप र विवाहविधिसहित नौमतीबाजा बजाउने ‘कमलादी समिति’ले प्रतियोगितामा प्रथम स्थान हासिल गर्‍यो ।

चावहिल समितिकै सुदीप जैरुले प्रतियोगितामध्येबाट उत्कृष्ट वादकको पुरस्कार पाए । दोहोरी साँझमा गाउने–बजाउने गर्दै आएका सुदीपले प्रतियोगितामा नाचसहित ऊर्जावान् शैलीमा दमाहा बजाएका थिए । निर्णायक मण्डलमा रहेका संगीतकार आशिष अविरलले उनलाई उत्कृष्ट घोषणा गर्दै भने, ‘सुदीपले दमाहा कलात्मक तरिकाले बजाउनुभएको थियो ।’

नुवाकोटको विदुरका सुदीप मामाघर (नुवाकोट खैरनटार)मा हुर्केका हुन् । उनका मावली हजुरबुवा, मामाहरूले नौमतीबाजा बजाउँथे । ‘उहाँहरूले बजाएको देखेर, हेरेर र आफूले पनि कहिलेकाहीँ अभ्यास गर्दागर्दै बजाउन सिकेँ,’ उनी भन्छन् । दमाई जात अन्तर्गतको जैरु थरधारी सुदीप सानैदेखि नौमती बाजासँग जोडिँदै आएका हुन् । ‘हजुरबाहरूले निकै सुन्दर ढंगले नौमती बाजा बजाउँथेँ,’ निर्णायक आशिष अविरलको शब्द सापटी लिँदै उनले भने, ‘भर्खरै आशिष सरले भन्नुभएजस्तै पछिल्लो पुस्ताले विभेदका कारण र जीविकाको समस्याका कारण पनि बाजा बजाउन छाड्दै गए । मैले पनि काठमाडौँं आएर पेसागत रूपमा गाउन थालेपछि नौमतीबाजा सिकेको हुँ ।’

naumati baja (8)

गायक, संगीतकार, संगीत संयोजक आशिष अविरलले नौमतीका सबै बाजा बजाउँछन् । रागा रेकर्डिङ स्टुडियो चलाउँदै आएका अविरलले आफ्नो स्टुडियोबाट रेकर्ड हुने गीतका लागि नौमतीका बाजा बजाउँदै आएका छन् । प्रतियोगीमध्येबाट विजेता (पहिलो, दोस्रो र तेस्रो) घोषणा गर्नुअघि अविरलले भनेका थिए, ‘आज नौमतीको संरक्षणका लागि प्रतियोगिता गर्नुपरेको छ । यो अवस्था किन आयो ? किनभने, हिजो यो बाजा बजाउने जातलाई हेपिन्थ्यो, घृणा गरिन्थ्यो । अपहेलित हुने हुँदा उनीहरूले बाजा बजाउन छाडे । जबकि हिजो दमाहा बजाएर दमाई जात बनेको थियो ।’ संगीतकार अविरल नौमतीबाजाका लोकधुन सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘यसको प्रवद्र्धन र संरक्षणमा मैले सकेजति काम गर्दै आइरहेको छु । अब विशेष कार्यक्रम बनाएर यसमा काम गर्दै जाने योजनामा छु ।’

आज पारिश्रमिक बढेसँगै यसैको नाम बाहुनबाजा, मगरबाजा राखिएको छ । खुसीको कुरा, प्रतियोगितामा पनि विभिन्न जातजातिका युवायुवतीले नौमती बाजा बजाएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा संगीतकार अविरलसँगै नृत्य निर्देशक याम गुरुङ र नौमती बाजा प्रशिक्षक सूर्य गौतम थिए । यो प्रतियोगिता गर्नुअघि नौवटै समितिका इच्छुक कलाकारलाई नौमतीबाजाको तीनदिने प्रशिक्षण दिइएको थियो, जसमा सूर्य प्रशिक्षक थिए । बाग्लुङ घर भएका सूर्यले नेपाल प्रहरीमा भर्ती भएपछि नौमती बजाउन सिकेका हुन् ।

दमाईलाई फेटा 

प्रतियोगितामा मौलिकतासहित नौमतीबाजा बजाएको ‘नयाँ बसपार्क समिति’ले तेस्रो स्थान हासिल गर्‍यो । वादकलाई एक महिलाले सुपोभरि सगुन टक्र्याएकी थिइन्, जसमा सेलरोटी, रक्सी, फलफूल र पैसा राखिएको थियो । महिलाले वादकका नाइकेलाई फेटा बाँधिदिएकी थिइन् ।

दमाहाको इतिहास हेरी यो बाजा बजाउने पेसा अपनाउनेहरू वैदिककालमै रहेको अनुमान हुुन्छ । यद्यपि, ‘दमाई’ शब्द खोज्दै जाँदा जुम्ला राज्यका संस्थापक राजा बलिराज र कल्याल राजवंशावलीसम्म पुग्छ । सो वंशावलीमा ‘वेटवा दमाई फुर्रको दियो’ भन्ने उल्लेख छ । प्रा.डा. सूर्यमणि अधिकारीको पुस्तक ‘खस साम्राज्यको इतिहास’ अनुसार, जुम्ला राज्यका संस्थापक बलिराजको अभिलेख (वि.सं. १४५५) मा दमाई र तामाका भाँडा बनाउने टुमोटाको उल्लेख छ । उनको एउटा दानपत्रमा वेटवा दमाई दृष्टसाक्षी रहेका छन् । बलिराज राजा भएपछि वेटवा दमाईले सम्मानस्वरूप फुर्को (फेटा) पाएका थिए । यहीँबाट दमाईलाई दमाईलाई फेटा बाँधिदिने चलन बसेको हुन सक्छ ।

नौमती बाजा

दमाहा (दमाउ) बजाएका कारण दमाई÷दमाही जात जन्मेको कथा पाइन्छ । नगेन्द्र शर्मा आफ्नो पुस्तक ‘नेपाली जनजीवन’मा लेख्छन्, ‘कुनै सामाजिक अपराधका आधारमा दमाहा बजाउने पेसा लिनुपरेका दमाई (दमाही)हरू र पुख्र्यौली धर्म आचरण विरुद्ध गएर अभक्ष्य पदार्थ खाएको अपराधको फलस्वरूप पानीबाट हटेर छालाको काम गर्नुपरेकामा सार्कीहरूका पूर्वज पनि बाहुन–क्षेत्रीबाहेक अरु कोही थिएनन् भन्ने मेरो निक्र्योल छ ।’

प्रदीप रिमालको पुस्तक ‘कर्णाली लोकसंस्कृति’ अनुसार, कर्णाली अञ्चलका लोकवाद्य वादकमा दमाईहरू नै मुख्य हुन् । दमाईहरूको अर्को विशेषता हो, खूट हान्नु । ठूला पहाड र खोलानालाले भरिएको कर्णाली क्षेत्रमा वारि गाउँबाट पारि गाउँ जानुपर्‍यो भने दिनभरि लाग्न सक्छ । यस्तो बेला दमाईहरूले दमाहा ठोकेर वारिबाट पारिको मान्छेलाई बोलाउन बजाउने सांकेतिक धुनलाई ‘खूट हान्नु’ भनिन्छ ।

दमाईले बजाउँदै आएको पञ्चैबाजामा पाँच बाजा पर्छन्– सहनै, ढोलकी, झ्याली, दमाहा र ट्याम्को । रामशरण दर्नालको पुस्तक ‘नेपाली बाजा’ अनुसार, नौमती बाजाको पुख्र्यौली नाम पञ्चैबाजा हो । पञ्चैबाजाका एकसरो बाजाबाट ऊर्जावान् धुन ननिस्कने हुँदा यसैमा एउटा सहनाई, दमाहा, नरसिंगा र कर्नाल थपेर नौमती बाजा संयोजन गरिएको हो । नौवटा बाजा रहेकैले यसलाई नौमती बाजा भन्नु सही होइन । नौमती बाजा समूहमा ३६ वटा बाजासम्म रहन्छ भने आवश्यकता अनुसार यसलाई बढाउन सकिन्छ ।

दर्नालले पञ्चैबाजा पञ्चतत्व, पञ्चधातु र पाञ्चायन देवताको प्रतीक समेत भएको उल्लेख गरेका छन् । उनका अनुसार, मंगल र शुभको प्रतीक पञ्चैबाजा वैदिककाल अगाडिदेखि नै बज्दै आएका हुन् । नेपालका मन्दिरमा नगरा र घन्टसँगै पञ्जैबाजा÷नौमती बाजा बज्दै आएकाले यी बाजालाई देवबाजा पनि भनिन्छ । उनी लेख्छन्, ‘वैदिक वाङमयमा दुन्दुभिका अनेक नाम छन्– दुन्दु, दुन्दुभ, दुन्दुभि, पटह, प्रणव, भेर, भेरि आडम्बर, रणवाद्यम् आदि । पछि यी नामहरू ढोल, दमाहामा परिणत हुँदै गए ।’

उनका अनुसार, नगरावादक भएकाले दमाईहरूको उच्च पदवी नगार्ची वा नगर्ची हुन गएको हो । फारसीमा नक्कारा (नगरा) बजाउनेलाई नक्कार्ची (नगर्ची) भनिएको छ । सुदूरपश्चिममा ढोल वा ढोलकी बजाउनेलाई ढोली भनिन्छ ।

संयोजित पञ्चैबाजाको थलो खोज्दा यो भारतका राजपूतसम्म पुग्छ । क्यारोल टिङ्गीको पुस्तक ‘हर्टबिट अफ नेपालः दी पञ्चैबाजा’ (१९९०) मा पञ्चैबाजा भारतबाट राजपूत शरणार्थीसँगै १४औँ शताब्दीतिर नेपाल आएको हुनसक्छ ।

दर्नालका अनुसार, पञ्चैबाजा वा नौमती बाजामा बज्ने प्रसिद्ध परम्परागत धुनहरू मंगल धुन, रामकली, चाँचरी, मालश्री, दिवस राग, बेहुली अन्माउने राग आदि हुन् । लोकधुनमा ख्याली, झ्याउरे, चुड्का र सेलो लगायत पर्छन् । पाका–पुराना सहनाई वादकसँगै रामकली र चाँचरी धुन भने लोप हुन पुगे । अनुसार, ख्याली, झ्याउरे, चुड्का र सेलो धुन मात्रै नभई ताल र नाचका नाम पनि हुन् ।

‘सेलोको धुन बजाउँदा देउता चढ्न सक्छ । त्यसलाई उतार्न सिपालु वादकद्वारा धुन नै बजाएर साम्य पार्न सक्छ,’ दर्नाल लेख्छन्, ‘यसो गर्न नसकेमा देउता चढ्ने व्यक्ति मुर्छित हुनसक्छ । यो खतराबाट बच्न सकेसम्म उनीहरू सेलोको धुन बजाउन चाहँदैनन् ।’ यद्यपि, संगीतको धुनले मानिस काँप्नु पछाडिको विज्ञान वा मनोविज्ञान खोजको विषय हो ।

पञ्चैबाजालाई काठमाडौँ उपत्यकामा कुसले (जोगी) जातिले पनि बजाउँदै आएका छन् । उनीहरूले बजाउने पञ्चबाजामा मुहाली (सहनाई), ढोलक, नगरा र मुजुरा पर्छन् ।

naumati baja (7)

राष्ट्रिय बाजा र नौमतीबाजा दिवस

नौमती बाजा अधिकांश नेपाली संस्कृतिसँग जोडिँदै आएको छ । पछिल्लो समयमा आएर यो बाजालाई दमाईबाहेक अरु जातजातिले पनि आफ्नै जात बमोजिमको नाम दिएर बजाउन थालेका छन् । सबै नेपालीले स्विकारेको यस बाजालाई राष्ट्रिय बाजा घोषणा गर्न र नौमतीबाजा दिवस मनाउन आवश्यक छ ।

नेपाली बाजामा विशेष अध्ययन–अनुसन्धान गरेका रामशरण दर्नालको १ असोज २०६८ मा निधन भयो । दर्नाल राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३), जगदम्बाश्री पुरस्कार (२०६६), नारायणगोपाल संगीत पुरस्कार (२०६६), लूनकरणदास गंगादेवी चौधरी पुरस्कार (२०६२) र नूरगंगा पुरस्कार (२०६१) बाट पुरस्कृत भएका थिए । नेपाली बाजाको अनुसन्धानमा महत्त्वपूर्ण योगदान गरेका दर्नालकै स्मृति दिवस (१ असोज)मा ‘नौमतीबाजा दिवस’ मनाउन सकिन्छ ।

नौमतीबाजालाई केही विदेशी खोजकर्ताले पनि अनुसन्धान गरेका छन् । २०६१ सालमा प्रकाशित पुस्तकमा दर्नालको भनाइ छ, ‘नौमतीबाजाबारे समग्र अध्ययन हुन अझै बाँकी छ ।’

१ असोजलाई नौमती बाजा दिवस मनाएर यसको थप खोज, अनुसन्धानसँगै प्रवद्र्धन र संरक्षणमा संगीतप्रेमीहरू लाग्नुपर्छ । यसमा राज्यले समेत विशेष कार्यक्रम ल्याउन आवश्यक छ ।

(यो सामाग्री रातोपाटी डटकमबाट साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank