कमरेड लीलानाथ श्रेष्ठ ज्युले कतापटी बसेर भोज खानुभयो ?

अर्जुन थपलिया २४ फाल्गुन २०७९, बुधबार १९:५३

कमरेड खडग प्रसाद शर्मा ओली ज्यु
अध्यक्ष , नेकपा एमाले

नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली ज्यु सँग प्रत्यक्ष भेटघाट गर्ने चाँजो मिलाउन र समय पाउन मेरा लागि दुरुह नै छ । म मोफसलमा ( सिरहा ) बसेर समाचार सम्प्रेषण गर्ने सामान्य सञ्चारकर्मी र दलित अधिकारका लागि उनीहरुको न्यायपूर्ण आन्दोलनमा सघाउने एक्टिभिष्ट । सिरहामा नेकपा एमाले सिरहाले दलित जातिहरुमाथि संस्थागत रुपमा छुवाछुत गरेको जघन्य अपराध भएकोले अध्यक्ष कमरेड ओली समक्ष सञ्चारमाध्यमबाटै यो निवेदन सम्प्रेषण गरेको छु । घटनाको व्यहोरा यस प्रकार छ :

सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले सिरहा जिल्ला कमिटीका सचिव कमरेड उग्र नारायण यादव ज्युको ममतामयी आमाको गत १० फागुनमा स्वर्गारोहण भएको थियो । माता गुमाउनुको पीडा प्रति धेरै जनाले उहाँ प्रति समवेदना र सहानुभूति प्रकट गरकै थिए । २०७९ फागुन २२ गते गापा अध्यक्ष यादवकी आमाको १३ हौ दिने संपिडण कृया र भोज राखिएको थियो । भोजमा जातीय रुपमा ४ सभाका यादवहरु ( जातीय आधारमा छुट्याइएको क्षेत्र ) र अन्य आफन्त , प्रियजनहरु आमन्त्रित थिए । ४ सभा भोज गर्न ४० क्विन्टल चामल पकाउनु पर्ने जातीय अगुवा ( माइन्जन ) ले बताएका छन् । गापा अध्यक्ष यादवको आमाको कृया भोजमा नेकपा एमाले सिरहाका समस्त नेताहरु आमन्त्रित थिए । त्यही मौकामा सोही स्थानमा नेकपा एमाले सिरहा जिल्ला कमिटीको बैठक पनि राखिएको थियो ।

कृया भोजमा कथित पानी चल्ने गैर दलितहरु एकापटी बस्ने र कथित पानी नचल्ने दलित जातिहरुलाई अर्कोपटी बसेर भोज खाने व्यवस्था गरिएको थियो । त्यसैगरी मुस्लिमहरुलाई अलग स्थानमा बसेर भोज खाने प्रवन्ध गरिएको थियो । जाति अनुसार कथित पानी चल्ने उच्च जातकाहरु र दलित समुदायका कथित पानी नचल्ने जातिहरु बस्ने स्थानमा प्लेकार्ड र साइनबोर्ड नै लगाइएको थियो । दलित समुदायका लागि भोज बाँड्ने स्वयंसेवकहरु प्नि अलग थिए । गैर दलितहरुका लागि भोज पस्किनेहरु अलग थिए ।

भोज खाने कमरेडहरुमा नेकपा एमालेका प्रदेश र संघीय गरी आधा दर्जन बहालबाला सांसद , आधा दर्जनभन्दा अधिक मेयर उपमेयर र अन्य जनप्रतिनिधिहरु थिए । नेकपा एमालेका पोलिटव्युरो सदस्य ,मधेस प्रदेश सह इन्चार्ज , पूर्व कानून मन्त्री तथा सांसद लीलानाथ श्रेष्ठ पनि थिए । दलित समुदायलाई पानी नचल्ने द¥याएर औपचारिक रुपमै भोज खुवाउने व्यवस्था गरिएकोमा केही सचेत दलितहरुले विरोध जनाएका थिए । कतिपयले भोज वहिष्कार गरेर गए । धेरैजसोले भोज खाए । आश्चर्यको कुरा त के भयो भने जिल्ला कमिटीको बैठक सकेर भोज खान निस्केका नेताहरु मध्ये दलित जति कथित पानी नचल्नेका लागि छुट्याइएको स्थानमा गएर बसे । उच्च जातिका भनिएकाहरु ( माननीय लीलानाथ श्रेष्ठ सहित ) सवर्णका लागि छुट्टयाइएको स्थानमा बसेर भोज खाए । कुनै एमाले नेताले भोज आयोजकलाई किन जातीय छुवाछुत गरिएको हो भनेर प्रश्न गरेनन् । कथित सवर्ण भनिएका एमाले नेताहरुले अलग्गै बसेर भोज खाए । दलितहरु फरक स्थानमा बसेर भोज खाए । कथित उच्च जातीका कमरेडहरुको मन दुखेन । तर दलितहरु अपमानित भएर भोज खाइरहे । भोजमा छुवाछुत गरिएकोमा प्रश्न उठाउने दलितहरुलाई स्वयंसेवकहरुले धपाए ।

अध्यक्ष कमरेड ओली ज्यु ,

नेकपा एमालेको पार्टी नीतिमा छुवाछुतका लागि कतै कुनै स्थान छैन भन्ने कुरामा म सहमत छु । तर कमरेड उग्र नारायण यादवको घरमा गरिएको कृया भोजमा गैर दलित, दलित र मुस्लिम समुदायलाई अलग अलग स्थानमा राखेर भोज खुवाउने घटनाले छुवाछुतलाई संस्थागत संरक्षण गरेको छ । नेपालका ६० लाख दलितहरु प्रति अमानवीय र अपमानजनक व्यवहार भएको छ । यो घटनाले मानव अधिकारको हनन् भएको छ । यसरी दलित गैर दलित वा अन्य समुदायलाई साइनबोर्ड झुण्ड्याएर अलग अलग स्थानमा राखेर भोज खुवाउने अभ्यासले दलितहरु प्रतिको एमालेको पार्टी नीतिलाई पक्षपोषण गर्दैन । पार्टी नीतिमा एकथरी तर जिम्मेवार नेताहरुको व्यवहारमा अर्कोथरी गर्नु पाखण्ड हो ? के यसरी समाजबाट छुवाछुत जस्तो कलंंकको अन्त्य गर्न मद्दत मिल्छ त ? पूर्व कानून मन्त्री लीलानाथ श्रेष्ठ सहित आधा दर्जन सांसद भएको स्थानमा दलित गैर तथा दलित बीच छुवाछुतलाई प्रश्रय दिएर भोज खुवाउने अभ्यासलाई समर्थन हुने गरी भोज खाने खुवाउने कुरा क्षमायोग्य अपराध होइन । छुवाछुत निर्मूल गर्न कानून बनाएर मात्र पुग्दैन । सामाजिक संरचनामा जरा गाडेर बसेको यो कुप्रथा हटाउन पूर्व कानून मन्त्री लीलानाथ श्रेष्ठ , अन्य सांसदहरु सम्झना थपलिया , गंगा प्रसाद यादव , राम शंकर यादव लगायत अन्य नेताहरुले दलितहरुको पक्षबाट कदम उठाउनु पथ्र्यो । जातीय रुपमा दलितहरुलाई अपमानित हुने गरी अलग राखेर भोज खुवाउन लागेको देखेर त्यसलाई रोक्नु पथ्र्यो । उहाँहरु जस्तो राज्यका उच्च तहमा पुगेका व्यक्तित्वहरुबाट समाजले रुपान्तरकारी विशेष भूमिकाको अपेक्षा गर्नु स्वभाविक हो । तर विशेष भूमिका निर्वाह नगरी दलितलाई छुट्याएर कथित सवर्णको पंक्तिमा बसेर आफू भोज खाने कृत्य गर्नु कर्तव्यच्युत भएको मात्र होइन छुवाछुतलाई प्रश्रय दिने सामाजिक अपराध पनि हो ।

भगवानपुरको कलंकित भोजले एमालेको मिसन ग्रासरुट अभियानलाई टेवा पुग्दैन होला ? एकातिर मिसन ग्रासरुट अभियान चलाउने अर्कोतिर दलितसँग छुवाछुतपूर्ण व्यवहार गर्ने – यो कस्तो नीति हो ? के दलित समुदाय फगत भोट बैंक मात्र हुन् ? २१ सौं शताब्दीमा नेकपा एमाले जस्तो जिम्मेवार पार्टीको उच्च तहका नेताहरुबाट गराइएको यस्ता दलित विरोधी , मानवाधिकार विरोधी तथा छुवाछुतजन्य घटनालाई अपराध नै भन्नुपर्छ । नेपालको संविधान २०७२ , संयुक्त राष्ट्र संघको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र तथा अन्य छुवाछुत विरोधी अन्तर्राष्ट्रिय कानून , सन्धी सम्झौता र नेपालकै कानूनको पनि उलंघन भएको छ ।

मानव अधिकारको पक्षपाती तथा छुवाछुत विरोधी भएको नाताले यो कनिष्ट सञ्चारकर्मी नेकपा एमालेका अध्यक्षसँग माग गर्दछु कि सिरहाको भगवानपुरमा भएको निन्दनीय छुवाछुतको घटनाबारे छानविन गरी दोषीहरु उपर कारवाही गरियोस् । अस्पृश्यताको यो खेदजनक घटना प्रति विश्वभरका दलितहरु संग नेकपा एमालेले क्षमायाचना गरोस् ।

(लेखक थपलिया सञ्चारकर्मी तथा एक्टिभिष्ट हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank