५० वर्षदेखि अन्यायकाे भुङ्ग्राेमा बादी समुदाय: नेताले आश्वासन दिन्छन्, लालपुर्जा दिँदैनन्

टोपेन्द्र रोका मगर २४ कार्तिक २०७९, बिहीबार १८:१४

 

बादी समुदाय पञ्चायत शासनकालदेखि अपहेलनामा पर्यो। कतिपय ठाउँमा बादी समुदायलाई बस्न दिइएन र गाउँबाट लखेट्ने कामसमेत भयो। पञ्चायत शासनकाल फेरिँदै आज गणतन्त्र आइसकेको छ। तर बादी समुदाय अहिले पनि सुरक्षित आवासकै खोजीमा छ। ५० वर्षअघिको माग पूरा हुने सपनामा छ।

चन्द्रबहादुर नेपाली (बादी) उम्मेरले ६२ वर्षका भए। सल्यानमा जन्मिएका उनी २०२९ सालमा परिवारसँगै दाङको तुलसीपुरमा झरे। त्यतिबेला उनी मात्र १२ वर्षका थिए।

चन्द्रबहादुरको परिवारसँगै सिंगो बादी समुदाय नै सल्यानबाट दाङको तुलसीपुर–७ मा झर्यो। सुरुमा यहाँ कुनै बस्ती थिएन। बुट्यान मात्र थिए। त्यही बुट्यान फाँडेर १०/१२ घर बादी समुदाय तुलसीपुर–नयाँ बस्तीमा बसेको थियो।

त्यतिबेला बस्ती बसाउन सजिलो भएन। पञ्चायत शासनकालमा बसेका कयौं बस्तीबाट बादी समुदाय लखेटिए। चन्द्रबहादुरलाई अहिले पनि सम्झना छ, तुलसीपुरकै कयौँ बस्तीबाट बादी समुदाय बस्ने झुप्राहरु भत्काइएका थिए। ‘पञ्चायतका समयमा हामीले धेरै दमन खेप्नु पर्यो,’ उनी भन्छन्, ‘तुलसीपुरकै जब्बरपुर, बडवागाउँ, गाइडर, मोतिपुर, खर्चुवापुरका बादी समुदाय लखेटिए, झुप्रा भत्काइए।’

त्योबेला बादी समुदायलाई अछुतो मानेर अपहेलना गरिन्थ्यो। त्यही कारण उनीहरु लखेटिनु परिरहन्थ्यो। बादी जातिलाई अपहेलना गरेकै कारण चन्द्रबहादुरले बादी थरबाट नागरिकता लिएनन्। ‘मैले त नेपाली थर राखेर नागरिकता नदिएसम्म नागरिकता नै बनाइनँ,’ उनले भने, ‘त्यो कारण बादी भनेर सहनु पर्ने अपहेलनाबाट बच्नु थियो।’

नयाँ बस्ती बसाउनका लागि चन्द्रबहादुरले कम्ति दुःख गरेनन्। खानेकुराकाे अभावमा बेल र गिठाहरु खाएर जीवन चलाए। ‘यहाँ बस्ती बसाउन धेरै दुःख गर्नु परेको छ,’ उनी भन्छन्, खाने केही थिएन। यहाँ हामीले बेल र गिठाहरु खाएर जीवन बिताएका छौँ।’

नयाँ बस्तीमा बादी समुदाय बस्न थालेको ५० वर्ष भइसकेको छ। तर उनीहरु अहिले पनि सुकुम्बासी नै छन्। जग्गाको कित्ताकाट (जग्गा छुट्याउने काम) भइसकेको छ। हातमा लालपुर्जा (जग्गाधनी पुर्जा) भने छैन। राज्यसँग गास, बास, कपासको माग गर्दै सिंहदरबारसम्म पुगे पनि यो नयाँ बस्तीले लालपुर्जा पाउन सकेको छैन।

प्रत्येक चुनावमा नेताहरुले लालपुर्जा दिने विषयलाई चुनावी एजेण्डा बनाउने गर्छन्। त्यो उनीहरुले दिने आश्वसन मात्र भएको छ। नयाँ बस्तीकी ६७ वर्षीया शान्ति नेपाली भन्छिन्, ‘सधैं नेताहरु आउँछन् र लालपुर्जा दिइहाल्छौँ जस्तो गर्छन् तर जितेर गएपछि सबै बिर्सिन्छन्।’ यस बस्तीको २०४६ सालमा नै जग्गाको नाप जाँच भएको थियो। त्यसपछि पनि पटक–पटक जग्गाको नापजाँच भएर कित्ताकाट (जग्गा छुट्याउने काम) भइसकेको छ। तर लालपुर्जा पाउन कठिन भइरहेको चन्द्रबहादुरले बताए।

उनकाअनुसार अहिले नयाँ बस्तीमा मात्र करिब ५० घरधुरी बादी समुदाय लालपुर्जा विहीन छ। लालपुर्जा पाउने लगायतको माग राखेर बादी समुदायले ०६४ सालमा सिंहदरबार केन्द्रीत आन्दोलन पनि गर्यो। उक्त आन्दोलनपछि आमाको नामबाट नागरिकता पाउने र जनता आवास कार्यक्रम मात्र पाइएको भन्दै बाँकी धेरै सम्झौताहरु अधुरै रहेको चन्द्रबहादुर बताउँछन्।

५० वर्षदेखि एउटै लडाई लडिरहँदा अब त लालपुर्जा नपाइने हो कि भन्ने चिन्ता लाग्ने गरेको उनले बताए। ‘नेताहरुले कति बाचा गरे कति,’ उनी भन्छन्, ‘अब त लाल पुर्जा देलान् भन्ने विश्वास नै मरिसक्यो।’ उनले अगाडी भने, ‘हाम्रा बाबु लाल पुर्जा पाउने आश आशैमा बिते, त्यही आशमा म पनि बुढो भइसकेँ।’

लालपुर्जा नहुँदा नयाँ बस्तीका ५० घरधुरीले राज्यबाट पाउने सेवा सुविधा पनि पाउन सकेको छैन। ‘लालपुर्जा नहुँदा यो देशको नागरिक जस्तो पनि लाग्दैन,’ चन्द्रबहादुर भन्छन्, ‘लालपुर्जा दिएपछि हाम्रो स्वामित्वमा जग्गा छ भन्ने हुन्थ्यो।’ लालपुर्जा नहुँदा जग्गा धितो राखेर केही व्यवसाय गरौँ भन्दा पनि नसकिएको उनले बताए।

भोट हालेर पटक–पटक नेताहरुलाई संसदमा पुर्याएको सम्झँदै चन्द्रबहादुरले हिजोभन्दा आज परिवर्तन भए पनि आफ्नो खास माग अधुरै रहेको सुनाए। १८ वर्ष हुँदाखेरी भोट दिन थालेकाे भन्दै आफ्ना मागहरु सरकार फेरिँदै जाँदा ओझेल पर्न थालेको बताए।

व्याप्त बेरोजगारी

तुलसीपुर–७ को नयाँ बस्ती पाँच दशकदेखि लालपुर्जा नपाउँदा समस्यामा त छनै, साथमा व्याप्त बेराजगारीले गर्दा सहज जीवनयापनमा समेत समस्या भोगिरहेको छ। कमाउनका लागि भारतदेखि खाडी मुलुक जानुपर्ने बाध्यतामा यहाँका युवाहरु रहेका छन्।

केही सिमित युवाहरु मात्र रोजगारीमा रहेका छन्। नत्र बेरोजगारीले साँझ बिहान के खाने भन्नेसमेतको अवस्थामा यस बस्ती रहेको शान्ति नेपाली बताउँछिन्। उनले महिलाहरु बेरोजगार हुँदा दिनभरी बस्ने र जीवन साँझ-बिहान के खाने भन्नेको समस्या भएको सुनाइन्।

१९ वर्षीय सुनिल नेपालीले राजगार नहुँदा भारतमा गएर घरखर्च चलाउने गरेको बताए। ‘यहाँ रोजगार छैन, व्यवसाय गर्ने आर्थिक व्यवस्था छैन,’ उनले भने, ‘भारतमा गएर घरपरिवार चलाउने गरेको छु।’ यस बस्तीका अधिकांस युवा बेरोजगार रहेको अर्का २८ वर्षीय युवक शिशिर नेपालीले बताए।

‘म जस्तै एक दुई जना रोजगार गरिरेका छन्,’ उनले भने, ‘नत्र सबै युवाहरु बेरोजगारीले गर्दा भारतदेखि खाडी देश पुगिरहेका छन्।’ उनले बेरोजगार हुनुमा जग्गाको लालपुर्जा नहुनु पनि देख्छन्। ‘लालपुर्जा भए त यहीँ केही गर्ने युवाहरुले जग्गा धितो राखेर पनि बैंकबाट पैसा लिएर केही व्यवसाय गर्थे,’ उनले भने, ‘तर के गर्ने बाउबाजेको पालादेखि हामीले लालपुर्जा पाउन सकेका छैनौँ।’

बादी समुदायका युवाहरु कतै रोजगार गरौँ भन्दा पनि पहुँच नहुँदा समस्या पर्ने गरेको अर्को ३१ वर्षीय अर्जुन नेपाली बताउँछन्। ‘बादी समुदायमा बेरोजगारी व्याप्त छ भन्ने यहाँको स्थानीय सरकारलाई पनि थाहा छ, तर खै त एक जना पनि नगरपालिकामा हाम्रो मान्छेले रोजगार पाएका छैनन्,’ उनले भने, ‘पहुँच नभएपछि केही हुने रहेनछ। नगरपालिकामा आफ्ना मान्छे मात्र राखेका छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank