लोकगायिका दिलमाया सुनार मृत्यु प्रकरणमा ट्वीस्ट : हत्या भएको प्रहरी निष्कर्ष

दलित अनलाईन १ श्रावण २०७९, आईतवार १८:२९

काठमाडौं– लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा ट्वीस्ट आएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको हुनसक्ने बताइए पनि प्रहरीले विस्तृत अनुसन्धान गर्दा हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ। गायिका सुनारको हत्या भएको निष्कर्ष निकाल्दै  प्रहरीले अनुसन्धान सकेको छ ।

असार ११ गते गायिका सुनारको शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरी टोलीले हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो। घटनाको अनुसन्धान गरिरहेको प्रहरी वृत्त बालाजुका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम केसीले अनुसन्धान टुंग्याएर फाइल बुझाउन लागिएको  दलित अनलाईनलाई जानकारी दिए।

असार ११ गते शनिबार बिहान करिब ११ बजेतिर नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन्। गायिका सुनार मृत भेटिएको सूचना पाएलगत्तै वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा जुटेको थियो। सो क्रममा गायिका सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठ असार १२ गते पक्राउ परेका थिए।

उनी पक्राउ परेसँगै मृतक गायिका सुनारका आफन्तले कर्तव्य ज्यानको कसुरमा किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गायिका सुनारले आत्महत्या गरेको र त्यसका लागि प्रेमी श्रेष्ठले बाध्य पारेको विश्लेषण गरेको थियो। तर विस्तृत अनुसन्धानका क्रमा सुनारले आत्महत्या गरेको नभई उनको हत्या भएको निष्कर्ष निकालेर फाइल बुझाउन लागिएको स्रोतले दलित अनलाईनलाई जानकारी दियो।

‘सुरुवाती अनुसन्धाको क्रममा दुरुत्साहन हुनसक्ने विश्लेषण गरिएको थियो। तर विस्तृत अनुसन्धान गर्दा हत्या भएको देखिएपछि कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाउनु पर्ने रायसहित अनुसन्धान फाइल बझाउने तयारी गरेका छौं’ प्रहरी स्रोतले  दलित अनलाईसँग भन्यो।

झुण्डिएर आत्महत्या गरेको भनिएका सुनारको शव ओछ्यामा हुनु, घटनाको केही समयअघि फेसबुकमा बाँच्न नसक्ने भन्दै स्टेटस लेख्नु, तर उक्त स्टेटस लेख्न प्रयोग भएको भनिएको मोबाइल अहिलेसम्म फेला नपर्नु, गायिका सुनारको सल लिएर प्रेमी फरार हुनुजस्ता कारणले सुनारले आत्महत्या गरेको नभइ हत्या भएको प्रहरी निष्कर्ष छ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको गायिका सुनारको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारणबारे ह्याङ्गीङ उल्लेख गरिएको थियो। ह्याङ्गिङ उल्लेख भए पनि सुनारको मृत्युबारे प्रहरीले हत्या भएको होइन भन्ने ठाउँ नभएको भन्दै अनुसन्धान अघि बढाएको थियो। ह्याङ्गिङ उल्लेख भए पनि झुण्डाएर हत्या भएको हुनसक्ने आँकलन गर्दै प्रहरीले अनुसन्धान गरेको थियो। अन्ततः प्रहरीले गायिका सुनारको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान टुंग्याउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank