अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको ज्यान गयो

तुफान न्यौपाने १४ जेष्ठ २०७९, शनिबार १०:२५

नेपालगन्ज — जेलभित्रको भीडमा दुई जना पात्र । एउटामाथि मोबाइल चोरीको र अर्कामाथि हातहतियार र फिरौतीसहित गम्भीर अपराधको अभियोग । चोरी कसुरमा एक वर्षको जेल बसाइपछि छुट्नुपर्ने व्यक्तिको नाममा हातहतियार मुद्दाका अभियुक्त बाहिर निस्कन्छन्, चोरीका अभियुक्त भने जेलमै रहन्छन् ।

चलचित्रमा भए यो कथा रोमाञ्चक हुन सक्थ्यो, तर वास्तविक जीवनमा दर्दनाक छ किनभने जेलमै रहेका ती व्यक्ति नाबालक थिए र उनी रोल्पा जिल्ला कारागारमा मृत भेटिएका छन् । पटक–पटक जेल परेका खतरनाक अभियुक्तलाई बाहिर निकाल्न नाबालक दलित युवाको जीवन बर्बाद बनाउने योजनाकारहरूलाई दण्डित गर्न पीडित परिवारले सरकारसँग माग गरिरहेको छ ।

समाचारका एक प्रमुख पात्र हुन् सुर्खेतको बराहताल–१ घोडाआँखेका विजयविक्रम शाह । पेस्तोल, पाँच मोबाइल र १५ सिमकार्डसहित २३ फागुन ०७४ मा उनी नेपालगन्जबाट पक्राउ परेका थिए । विभिन्न नम्बरबाट फोन गरी धम्की दिने र लाखौं फिरौती माग्ने धन्दामा सक्रिय उनीविरुद्ध नेपालगन्जका केशरबहादुर आलेलगायत पाँच जनाले प्रहरीमा उजुरी गरेका थिए । फिरौती नदिए ज्यान मार्ने धम्कीसहित फोन र म्यासेजबाट आतंकित बनाएको आरोपमा अनुसन्धान गर्दा प्रहरीले उनलाई एक होटलमा छापा मारी साथीहरूसहित पक्राउ गरेको थियो ।

अनुसन्धानपछि सरकारी वकिल कार्यालय बाँकेले संगठित अपराध निवारण ऐनअनुसार आपराधिक लाभ (फिरौती) मा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरायो । ३० असार ०७६ मा न्यायाधीश रामप्रसाद बस्यालको इजलासले शाहलाई असुली धन्दाको मुख्य योजनाकार ठहर गर्दै पाँच वर्ष कैदको फैसला गर्‍यो । उनका अन्य सहयोगीहरूमध्ये केहीलाई साढे दुई वर्ष र केहीलाई तीन वर्ष कैद भयो । तर शाहका लागि मुद्दा र सजाय भने नौलो थिएन । हातहतियार खरखजाना मुद्दामा उनी यसअघि नै दुई वर्ष कैद बसेका थिए । अझ कारागारबाट कैदी भागे/भगाएकोमा एक वर्ष दुई महिना २३ दिन थप कैद पनि भएको थियो । त्यस्तै नागरिकता कीर्ते गरेको मुद्दामा पनि तीन वर्ष कैद भएको थियो । गम्भीर अपराधको पृष्ठभूमि भएका शाहले फेरि पनि अपराध गरेको विषय जिल्ला अदालतको फैसलामा पनि उल्लेख छ ।

उता तीन वर्षअघि नेपालगन्जमा सुन्दर हरिजन पक्राउ परे, १६ भदौ ०७६ मा दुईतले घरभित्र छिरेर मोबाइल चोरी गरेको आरोप उनीमाथि थियो । जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई जेल पठाउने आदेश दियो । तर सुन्दरलाई कसरी जेल पठाइयो भन्ने प्रश्न गम्भीर छ । किनकि पक्राउ पर्दा उनको उमेर १७ वर्ष ३ महिना मात्र थियो । नेपालगन्ज उपमहानगरपालिकाबाट निकालेको जन्मदर्ताको प्रतिलिपिअनुसार उनी नेपालगन्ज–२ घरबारीटोलमा २ जेठ ०५९ मा जन्मिएका हुन् ।

बालबालिकासम्बन्धी ऐनले १८ वर्ष नपुगेकालाई नाबालिग मान्छ । नाबालिगले कसुर गरेको ठहर भए कारागार होइन, बालसुधार गृहमा पठाउनुपर्ने स्पष्ट व्यवस्था छ । तर बाँके जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्‍यो । नाबालकलाई कारागार पठाउने जिल्ला अदालतको निर्णयले सुन्दरमाथि मात्र होइन, देशकै प्रचलित कानुनमाथि नै ज्यादती गरेको बाँकेकै कानुन व्यवसायीहरूको भनाइ छ ।

६ महिना मुद्दा चलेपछि त्यसै वर्षको ९ चैतमा जिल्ला न्यायाधीश दिलीपराज पन्तले सुन्दरलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरे । कानुन व्यवसायीहरूका अनुसार सुन्दरमाथि बाँके अदालतको यो दोस्रो ज्यादती हो । बालबालिकासम्बन्धी ऐनको दफा ३६ (४) भन्छ, ‘१६ वर्ष नाघेका तर १८ वर्ष नपुगेका बालबालिकाको दोष प्रमाणित भए वयस्कलाई हुने सजायको दुई तिहाइ मात्र सजाय हुन्छ ।’ उक्त कानुनअनुसार एक तिहाइ सजाय घटाइदिनुपर्नेमा त्यसो नगरी जिल्ला न्यायाधीश पन्तले फैसलामा लेखेका छन्– ‘प्रतिवादी सुन्दर हरिजनलाई एक वर्ष कैद हुने फैसला भएकाले पक्राउ परेको मिति ०७६ भदौ १९ देखि गणना हुने गरी ०७७ भदौ १८ सम्म थुनामा राख्नू ।’ १० हजार रुपैयाँ जरिवाना नतिरेमा ३०० रुपैयाँ बराबर एक दिन हुने गरी थप अवधि थुनामा राख्न पनि अदालतले आदेश दियो । अन्तिम फैसला भएपछि पनि उनलाई सुधारगृह पठाउनुपर्ने थियो, तर कारागार चलान गरियो ।

हातहतियार र फिरौतीको आरोपमा तीनपटक जेल परिसकेका विजयविक्रम शाहलाई बाहिर निकालेर उनको नाममा जेलमा राखिएका नाबालक सुन्दर हरिजन रोल्पा जेलमा मृत फेला – प्रहरीमात्र होइन, नाबालकलाई जेल पठाउने न्यायाधीश पनि प्रश्नको घेरामा

 

सुन्दरमाथि प्रहरीले त्यसअघि नै ज्यादती सुरु गरेको थियो । मोबाइल चोरीको घटना दर्ता हुनु दुई महिनाअघि २९ असार ०७६ मा पनि प्रहरीले उनलाई बाटोमा रोकेको थियो । सुन्दर र उनका एक साथीले हामीलाई किन रोकेको भनेर सोधेपछि प्रहरीसँग वादविवाद भयो । तर त्यही विषयलाई बढाएर प्रहरीले पक्राउ मात्र गरेन, ‘राष्ट्रसेवकको कर्तव्य पालनामा अवरोध गरेको’ आरोपमा अदालतमा मुद्दा पनि चलायो । ‘कुनै राष्ट्रसेवकले आफ्नो कर्तव्य पालना गर्ने सिलसिलामा गैरकानुनी भेला वा हुलदंगा रोक्ने कुनै काम गर्दा कसैले बाधा विरोध पुर्‍याउन हुँदैन भन्ने कानुनी व्यवस्थाअनुसार उनीहरूलाई पक्राउ गरिएको हो,’ प्रहरी हवल्दार दीपेन्द्रबहादुर शाहीले अदालतमा बुझाएको लिखतमा भनेका छन् । यसरी प्रहरी आफैंले प्रतिवेदन उठाएर सुन्दर र उनका साथीलाई २२ दिनसम्म हिरासतमा राखेको थियो । त्यस्तै एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै अदालतमा मुद्दा पनि चलायो ।

पहिलो मुद्दामा जिल्ला न्यायाधीश खडानन्द तिवारीले साउन २० मा सुन्दर नाबालिग भएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन नमिल्ने भएकाले परिवारको जिम्मामा छाड्न आदेश दिएका थिए । त्यसको एक महिनाभित्रै उनलाई मोबाइल चोरीको आरोपमा पक्राउ गरियो, मुद्दा चलाइयो र जेलसमेत पठाइयो । एउटा दलित बालकमाथि पूरै संरचना मिलेर ज्यादती किन गरिएको थियो, परिवारले यही प्रश्न सोधेको छ ।

‘राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध गरेको’ मुद्दामा अन्तिम फैसला एक वर्षपछि ३१ असार २०७७ मा मात्र आयो । न्यायाधीश तिवारीले सुन्दरको दोष ठहर गर्दै तीन हजार रूपैयाँ जरिवाना हुने फैसला गरे, सुन्दर त्यसअघि नै २२ दिन थुनामा बसिसकेको भन्दै उनको जरिवाना असूल उपर भइसकेको फैसला भयो । तर त्यतिन्जेल मोबाइल चोरीको अर्को अभियोगमा उनी रोल्पा कारागार चलान भइसकेका थिए ।

बाँके जिल्ला अदालतकै न्यायाधीश तिवारीले ०७६ साउनमा नाबालिग भएको भन्दै कारागार नपठाएर परिवारको जिम्मा लगाएकामा त्यसको तीन महिनापछि (असोज २ मा) चोरी मुद्दाको पुर्पक्षसम्बन्धी सुनुवाइ हुँदा सोही अदालतका अर्का न्यायाधीश पन्तले उनलाई बालिगसरह कारागार पठाइदिए । त्यसै वर्षको चैतमा अन्तिम फैसला गर्दा पनि उनै न्यायाधीशले न बालसुधार गृहमा पठाउन भने, न नाबालिगलाई हुने छुट दिए । ‘ती नाबालकलाई जसरी पनि समात्ने मनसायमा प्रहरी किन लागेको देखियो, अनि एउटै अदालतका एक न्यायाधीशले नाबालक मानेका व्यक्तिलाई लगत्तै अर्का न्यायाधीशले कसरी बालिग माने ? यो सबको उद्देश्य उनलाई जसरी पनि जेल पठाउने योजना थियो भन्ने बुझिन्छ,’ बाँकेका एक कानुन व्यवसायीको भनाइ छ ।

सुन्दर भदौ ०७६ मा बाँके कारागार पुग्दा त्यसको दुई वर्षअघि नै जेल परेका विजयविक्रम शाह पनि त्यहीं थिए । २८ मंसिर ०७७ मा दुवै जनालाई नाटकीय रुपमा सँगै रोल्पा कारागार सरुवा गरियो । एक वर्षको सजाय तोक्दा अदालतले स्पष्ट आदेश दिएको थियो, ‘भदौ १८, ०७७ सम्म थुनामा राख्नू ।’ त्यस्तै १० हजार जरिवाना तिर्न नसकेमा दिनको तीन सयका दरले हिसाब गरी थप एक महिना उनी जेल बस्नुपर्ने थियो । तर त्यसको पनि दुई महिनापछि २८ मंसिरसम्म उनलाई जेलमा किन राखियो ? अझ त्यसपछि रोल्पा कारागार किन पठाइयो भन्ने प्रश्न गम्भीर छ । कानुन व्यवसायी भन्छन्, ‘अन्य मुद्दा लगाइएको पनि हुन सक्छ, तर सबै योजनाको एउटा मात्र उद्देश्य उनलाई जसरी पनि जेल पठाउने भन्ने देखिन्छ ।’

जब दुवै जनालाई रोल्पा कारागार पुर्‍याइयो, सनाखत गर्ने बेलामा परिचय बदलिएको थियो । सुन्दर हरिजनलाई हातहतियार र फिरौतीको संगठित अपराध गर्ने विजयक्रिम शाहका रूपमा कारागारले बुझ्यो, त्यस्तै सुन्दर हरिजनका रूपमा विजयविक्रमलाई बुझबुझारथ गरियो । त्यो बेला सुन्दर १८ वर्ष पुगेका थिए, विजय २७ वर्षका । उनीहरूका फोटोलगायतका परिचय हुनुपर्ने हो, तर कारागारले साटफेर गरिएको परिचयमा दुई जनालाई जेलमा राख्यो ।

उनीहरू ८ मंसिर ०७७ मा रोल्पा कारागार पुगेका थिए । एक महिना २० दिनपछि पुस २८ मा सुन्दर हरिजनको नामबाट विजयविक्रम शाह जेलबाट बिदा भए । खासमा उनी फागुन २०७९ सम्म जेलमै बस्नुपर्ने थियो तर दुई वर्षअघि २८ पुस ०७७ मै छुटे । किनकि उनी सुन्दर हरिजन बनाइएका थिए । नेपालगन्जका सुन्दरलाई भने विजयविक्रम शाह बनाएर थप दुई वर्ष जेल बस्न लगाइयो ।

षड्यन्त्रपूर्ण योजनाबिना यत्रो ज्यादती कसरी हुन्छ ? रोल्पा कारागारका जेलर विशाल खनाल भन्छन्, ‘यो अढाई वर्ष पुरानो विषय रहेछ, म डेढ महिनाअघि मात्रै रोल्पा आइपुगेको हुँ । कागजात हेर्दा शाह र हरिजनलाई प्रहरीको एउटै गाडीमा रोल्पा ल्याइएको देखिन्छ ।’

विजयविक्रम बाहिर निस्किएको अढाई वर्षपछि पनि उनको नाममा सुन्दर जेलमै थिए । तर, १० दिनअघि जेठ ४ को साँझ कैदी गणना गर्दा एक जना कम पाइयो । खोजी गर्दा सुन्दर शौचालयमा झुन्डिएको अवस्थामा भेटिए । उनी मृत भइसकेको पुष्टि भएपछि प्रहरीले नेपालगन्जस्थित हरिजन परिवारलाई होइन, सुर्खेतस्थित शाहको घरमा सम्पर्क गरेर खबर दियो, ‘जेलमा रहेका तपाईंका छोरा विजयविक्रम शाहले आत्महत्या गरेका छन् ।’ तर आमाले सिधै अस्वीकार गर्दै भनिन्, ‘मेरो छोरो कारागारमै छैन । ऊ त ६ महिनापहिले नै भारत गइसकेको छ ।’

‘मृतक’ की आमाले नै मेरो छोरा त भारततिर छ भनेपछि चकित भएको रोल्पा प्रहरी प्रमुख (डीएसपी) विनोद घिमिरे बताउँछन् । तर कारागारमा दाखिल गरिएका सबै कागजातले मृतक विजयविक्रम शाह नै भएको खुलाउँथ्यो । प्रहरीले मृतकले त्यसअघि जेलबाट परिवारलाई सम्पर्क गर्ने फोन पत्ता लगाएर मोबाइल नम्बरमा सम्पर्क गर्‍यो । नेपालगन्ज घरबारीटोलस्थित राजकुमार हरिजनले फोन उठाए । उनले जवाफ फर्काए ‘को विजयविक्रम ? म चिन्दिनँ । रोल्पा जेलमा त मेरो भाइ सुन्दर हरिजन छ । बेलाबेलामा फोन गर्छ ।’

केही समयपछि नेपालगन्जका एक प्रहरी आएर राजकुमारलाई मोटरसाइकलमा राखेर रोल्पा पुर्‍याए । ‘भाइको शव देखेर मलाई चक्कर आइहाल्यो । जेलर र प्रहरीले छिटो लास बुझ्न दबाब दिए । म भाउन्न भएको थिएँ, केही गर्न, केही भन्न सकिनँ । उनीहरू आफैंले मेरो औंला उठाएर कागजमा ल्याप्चे लगाइदिए,’ उनले  भने ।

राजकुमारले शव आफ्नो भाइ सुन्दरको भएको बताएपछि नयाँ कागज बनाई अस्पताल पुर्‍याएर पोस्टमार्टम गरियो, शव राजकुमारको जिम्मा लगाइयो । ‘भाइले आत्महत्या गर्‍यो भनिएको छ, तर एक–दुई दिनअघि मात्रै उसले आफ्नो छुट्ने बेला भइसक्यो भनेर ६ हजार रुपैयाँ मागेको थियो । मैले नेपालगन्ज गएर आईएमई गरिदिएपछि बहुत खुसी हुँदै फोन गरेको थियो । दुई दिनपछि उसले किन आत्महत्या गर्थ्यो ?’ उनी विश्वास गर्न तयार छैनन् ।

कारागारको शौचालयमा कालो गलबन्दीमा झुन्डिएको अवस्थामा भेटिएका सुन्दरले आत्महत्या गरेको जेल प्रशासन र प्रहरीको दावी छ । नेपालगन्जमा रहेको हरिजन परिवारले भने आफ्नो निरक्षर सन्तानलाई अर्कैको सजाय भुक्तान गर्न लगाइएको र त्यसको रहस्य खुल्न थालेपछि हत्या गरिएको दाबी गरेको छ ।

हरिजन परिवारका तीन भाइमध्ये जेठा राजकुमार अहिले २४ वर्षमात्रै भएका छन् । उनी भन्छन्, ‘मेरो भाइ भर्खर २० पुग्दै थियो, विजयविक्रम २९ वर्षको । विजयविक्रम सुर्खेतको शाह हो, हामी नेपालगन्जका हरिजन । जेलका हाकिमले कसरी थाहा पाउँदैनन् ?’

राजकुमारको यो प्रश्नको जवाफ जेल प्रशासन र प्रहरीसँग छैन । हिरासतमा भएको मृत्युबारे छानबिन गर्न कारागार व्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईंको नेतृत्वमा समिति बनाएको छ । निर्देशक चापागाईं भन्छन्, ‘विजयविक्रम शाहलाई भएको सजाय सुन्दर हरिजनले भुक्तान गर्दै गरेको पाइयो, शाह भने डेढ वर्षअघि नै जेलबाट भागिसकेको भन्ने पुष्टि भएको र हरिजनको मृत्युको कारण आत्महत्या नै भएको पुष्टि भएको छ ।’ तर एक जना व्यक्तिको नाममा अर्को व्यक्ति कसरी छुट्यो भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यो त विजयविक्रम शाहलाई पक्राउ नगरेसम्म भन्न सकिने अवस्था रहेन ।’ जब कि यति ठूलो षड्यन्त्र एक्ला विजयविक्रमले पूरा गर्न सक्दैनन् । यसमा प्रहरी, सरकारी वकिल, अदालत प्रशासन र कारागारका को–को संलग्न छन्, सबैमाथि छानबिन गरी हदैसम्मको सजाय दिनुपर्ने कानुन व्यवसायीहरूको भनाइ छ । ‘बालकलाई बलपूर्वक नाम फेर्न लगाइएको हुन सक्छ, प्रलोभनमा फसाइएको हुन सक्छ, जसरी पनि उसको जीवन वर्वाद पारिएको छ । एउटा नाबालकलाई जेल पठाउने योजनामा सहयोग गरेका न्यायाधीशलाई पनि जवाफदेह बनाउनुपर्छ,’ नेपालगन्जका एक कानुन व्यवसायी भन्छन् ।

मृतकको परिवार पनि निरक्षर सुन्दरको सोझोपनको फाइदा उठाएर शाह र जेल प्रशासनको मिलोमतोमा फसाइएको दाबी गर्छ । रोल्पाबाट शव बुझेर ल्याए पनि हरिजन परिवारले अझै सुन्दरको अन्तिम संस्कार गरेको छैन । ‘छानबिन भएर सत्यतथ्य सार्वजनिक नभएसम्म अन्तिम संस्कार गर्न सक्दैनौं, हाम्रो छोरालाई कसले मार्‍यो, किन मार्‍यो ? थाहा नपाई कसरी संस्कार गर्ने ?’ आमा राधादेवी प्रतिप्रश्न गर्छिन् । ६० वर्षीय बुबा बाबुलाल प्यारेलाइसिसबाट ग्रस्त छन् ।

सुन्दरको शव नेपालगन्जस्थित नर्सिङ होममा छ, घरबारीटोलस्थित दुई कोठे घरमा परिवारले आजसम्म कहिल्यै जोड्न नपाएका महँगा लत्ताकपडा र विद्युतीय सामग्री आइपुगेका छन् । सुन्दर कारागारमा रहँदा उनैले भोगचलन गर्दै आएका सामानलाई जेल प्रशासनले शवसँगै पठाइदिएको हो । ‘यी अर्काका सामान छोराको लाससँगै आइपुगेका छन्, हामीलाई के काम ?’ एक सातादेखि आँगनमै रहेका सामान देखाउँदै सुन्दरकी आमा राधादेवीले भनिन् । विपन्न परिवारका सदस्य सुन्दरलाई यति धेरै महँगा सामान किन र कसले दिएको थियो भन्ने प्रश्न पनि उनीहरूको छ ।

यता भारत गएको भनिएका सुर्खेतका विजयविक्रम शाहविरुद्ध बाँके जिल्ला अदालतमा हातहतियार तथा खरखजनासम्बन्धी अर्को मुद्दा दर्ता भएको थियो । १० असोज ०७६ मा परेको मुद्दाको फैसला पनि दुई महिनाअघि आएको छ । जिल्ला न्यायाधीश दिलप्रसाद सापकोटाले शाहसहितलाई जेल सजाय सुनाएका छन् । अब यो सजाय कसले भोग्ने भन्ने प्रश्न अनुत्तरित छ । किनकि शाह सम्पर्कमा छैनन्, उनको सट्टा जेल बसिदिने सुन्दर हरिजन यो धर्तीमै छैनन् ।

(यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank