५३ वटा केन्द्रमा मतदान अवरुद्ध : कतै हानाहान, कतै मतपत्र च्याताच्यात

दलित अनलाईन ३० बैशाख २०७९, शुक्रबार १७:३७

काठमाडौँ—  देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ। अहिलेसम्मको जानकारीअनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो।

राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ती मतदान प्रक्रिया अवरुद्ध भएका हुन्। केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी सकिएको छ।

निर्वाचन आयोगकाअनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्ला लगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको परमसिंहदेवी मावि निधुरादिन (क) मतदान केन्द्रको मतदान अवरुद्ध भएको छ। त्यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सावित्रा मावि बामराङ (ग) मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको छ।

दोलखाका तीन ठाउँमा मतदान प्रक्रिया अवरुद्ध भएको छ। तामाकोशी, मेलुङ र बैतेश्वरका एक–एक वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको हो। त्यस्तै, सिन्धुलीको ९ वटा मतदान केन्द्रको मतदान अवरुद्ध भएको थियो। कमलामाई, दुधौली, तिनपाटन, हरिहरपुरगढीमा मतदान अवरुद्ध भएको थियो।

धनुषाको मिथिला नगरपालिका, महोत्तरीको भँगाहा नगरपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका र हरिभवन नगरपालिका, धादिङको धार्के गाउँपालिका, नुवाकोटको पञ्चकन्या, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको रोशी, मकवानपुरको मकवानपुरगढी, रौतहटको ईशनाथ, बाराको सुवर्ण, आदर्श कोटवाल, कोल्हवी र जीतपुरसिमरा तथा दाङको घोराहीका एक–एक वटा केन्द्रमा मतदान रोकिएको छ।

त्यस्तै कालिकोटको सान्नी त्रिवेणी, हुम्लाको चंखेली, दैलेखको आठबीसकोट, बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकात्तिक, अछामको ढकारी र पञ्चदेवल, पर्साको जिराभवानी, चितवनको खैरहनी र भरतपुर, रोल्पाको लुङ्गी तथा कैलालीको घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका र बर्दगोरिया गाउँपालिका गरी चार मतदान केन्द्रहरूमा मतदान प्रभावित भएको आयोगले जनाएको छ।

सप्तरीको एक मतदान केन्द्रमा भने १ जेठमा मतदान हुनेछ। डाक्नेश्वरी नगरपालिका २ स्थित हिररबा मा.वि मतदान केन्द्रमा १ जेठमा मतदान हुने भएको हो। मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो। कतै सेनाको सुरक्षा निगरानीमा मतदान भइरहेको छ भने कतै यसअघि नै मतदान प्रक्रिया सकिसकेको आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank