६० वडामध्ये एक्ला दलित वडाध्यक्ष उमेदवार शिवराज विश्वकर्मा

दलित अनलाईन २३ बैशाख २०७९, शुक्रबार १७:१५

धनकुटा —  स्थानीय तहको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु चुनावी घरदैलोमा छन् । मतदान गर्ने दिन नजिकिँदै गर्दा उमेदवारहरू मतदाताको घरदैलोमै पुगेर मत माग्न व्यस्त छन् ।

मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् , ५१ वर्षी शिवराज विश्वकर्मा । शिवराज विश्वकर्मा जिल्लाको एक मात्र दलित वडा अध्यक्षको  उमेदवार हुन् । सात स्थानीय तहका ६० वडा छन्, जिल्लामा । त्यसमध्ये दलित समुदायबाट उनी मात्रै वडाध्यक्षको उमेदवार बने । संविधानले तोकेको दलित महिला सदस्यबाहेक केही वडामा खुल्ला सदस्य पदमा मात्रै दलित समुदायबाट उमेदवार बनेका छन् ।

नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य विश्वकर्मा गठबन्धनबाट महालक्ष्मी नगरपालिका वडा नंं ६ को वडाध्यक्षका उमेदवार बनेका हुन् । फेरि एक पटक विश्वास गरेको छ, उनलाई कांग्रेसले  ।

आफू दलित समुदायको भएपनि योगदान र क्षमताको आधारमा सबै जनताको साझा उमेदवारको रूपमा आफूले टिकट पाएको उनी बताउँछन् । दलित समुदायमा सक्षम नेतृत्वदायी गर्ने नेता भएपनि समावेशीभन्दा बाहिर निस्किन नसकेको उनको विचार छ ।

“मलाई विश्वास गर्न सकिन्छ भनेर कांग्रेसले टिकट दियो । कांग्रेसभन्दा बाहेकका पार्टीले पनि अरुलाई टिकट दिएको भएर आज धेरै जना दलित नेताहरू उम्मेदवारको रूपमा उभिन्थे होला,” दलित समुदायलाई अवसर नदिएकोमा दुःख व्यक्त गरे, “तर त्यो हुन नसक्दा दुःख लागेको छ ।”

Global bank

यद्यपि, उनी आफ्नै समुदायप्रति पनि सन्तुष्ट छैनन् । “हाम्रो समुदायमा पनि छुट्याएको भाग मात्रै खोज्ने आसे प्रवृत्ति मात्रै बढेको छ,” उनले भने, “यो कुरामा म सन्तुष्ट छैन । खुल्ला प्रतिस्पर्धामा आउनु पर्छ ।”

घरदैलोमा भोट माग्न पुग्दा मतदाताले दिएको साथ, आशीर्वाद र जितको शुभकामनाले भने उनलाई उत्साहित बनाएको छ । गत निर्वाचनमा नेकपा (एमाले)का उमेदवारसँग पराजित शिवराज यसपटक आफूले जित्नेमा विश्वस्त छन् । र, त्यसको प्रमुख आधार हो–गठबन्धन ।

अघिल्लो २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा उठेका थिए । तर, एमालेका डम्बरबहादुर कार्कीसँग ८ मतले पराजित भएका थिए । वडाध्यक्षमा विजयी कार्कीले ३ सय ३ मत प्राप्त गर्दा विश्वकर्माले २ सय ९५ मत प्राप्त गरेका थिए ।

यस पटक पनि फेरि दुवैजना प्रतिस्पर्धामा उत्रिएका छन् । यी दुईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।  एक्लै चुनावी मैदानमा छ, एमाले । नेपाली कांग्रेसलाई भने माओवादी केन्द्र, जसपा र नेकपा (एस)सहितको गठबन्धनको साथ छ ।

गठबन्धनको साथ रहेकाले यस पटक शिवराजले जित्ने सम्भावना बलियो रहेको स्थानीय मतदाताको भनाइ छ ।  तीन दशक सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गरेको अनुभव छ उनीसँग । उनी केही महिना अघि सम्पन्न नेपाली कांग्रेस जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । शिवराज दलित संघको जिल्ला अध्यक्ष समेत हुन् ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछिको विगत पाँच वर्षको अवधिलाई मुल्याङ्कन गर्दा जनताले सुखभन्दा पनि धेरै सास्ती पाएको उनले बताए ।  “निर्वाचित नेतृत्व वडामा मात्रै सीमित हुँदा विकास हुन सकेन । वडाबाट जनताले अपेक्षाकृत सेवा पाउन सकेनन्,” प्रतिस्पर्धी वडाध्यक्षको आलोचना गर्दै उनले भने, “अहिले वडाका जनतालाई झनै निराश बनाएको अवस्था छ ।”

भोट माग्न मतदाताको घरदैलो पुग्दा जनगुनासो मात्रै सुन्नु परेको उनले बताए । “म निर्वाचित भएर आइसकेपछि स्थानीय जनताको जेजस्तो समस्या छ, दु:ख छ तिनै कुरालाई प्राथमिकता राखेर अघि बढ्नेछु,” उनले प्रतिबद्धता गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank